तिहार यतै रमाइलो

तिहार यतै रमाइलो

नेपालबाहिर जुनसुकै मुलुक गए पनि आफ्नो चाडपर्वको महत्त्व बेग्लै हुन्छ । विभिन्न सेलिब्रेटीले विदेश बसाइका क्रममा आफ्नो चाडपर्वलाई धेरै 'मिस' गर्ने गरेका छन् । नजिकिँदै आएको तिहारका अवसरमा लामो समय विदेश बसेर नेपाल फर्केका केही सेलिब्रेटीसँग विदेश हुँदाको तिहार र यस वर्ष तिहार मनाउने तयारीका बारेमा रामकला खड्काले कुराकानी गरेकी छन्:

यसपालि सेल पकाउँछु
जल शाह

अमेरिकामा बसे पनि म तिहार मौलिक तरिकाले मनाउने गर्छु । सेल, अनरसा लगायतका मिठाई असाध्यै मन पर्छ । तर, बनाउनचाहिँ आउँदैन । यसपालि बनाउने प्रयास गर्ने विचार राखेको छु । मलाई जहाँसम्म लाग्छ, सेल त बन्दैन । तर, म सक्दो प्रयास गर्नेछु । छोरी पनि लक्ष्मीकै रूप भएकाले मेरी आठ वर्षीया छोरी कलशलाई सिँगारपटार गरेर टीका लगाई दक्षिणा दिने गर्छु । साथै लक्ष्मीमाताको पूजाअर्चना गरेर घरभरि बत्ती बाल्छु । पोहोर त मैले दिलीप रायमाझी दाइलाई टीका लगाइदिएको थिएँ । यसपालिको लागि पक्का भइसकेको छैन । नेपालमा जति रमाइलो नभए पनि रमाइलोसँग मनाउने सोच छ ।

शोक परेकाले रौनक छैन 
रमेश उप्रेती

हामी नेपाली जहाँ गए पनि सनातन धर्म मान्ने वर्ग भएकाले दसैंतिहार आएपछि छुट्टै प्रकारको रमाइलो हुन्छ । नेपालभन्दा बाहिर बस्दा त झन् आफ्नो चाडपर्वको विशेष महत्त्व लाग्छ । तिहारमा यताको जस्तो घर सजाउने, झिलिमिली पार्नेलगायतका सानासाना कुरामा ध्यान पुर्‌याएर पर्व मनाउने भन्ने त हुँदैन । सायद त्यहाँ हामी अर्को समुदायमा बस्ने भएकाले पनि होला ।

तर पनि आफ्नो चाडपर्व मनाउने बहानामा हामी साथीभाइ मिलेर भेटघाट र खानपिन गथ्र्यौं । काम र परिस्थिति मिलाएर बढीभन्दा बढी मनोरञ्जन गर्ने कोसिस गथ्र्यौं । सम्बन्धको विकृति बजारमा देखेको, सुनेको र घटेको पनि भएकाले मैले अमेरिकामा भने कसैलाई पनि दिदीबहिनी बनाएर टीका लगाइनँ । मेरो निधार सधैं खाली नै रहन्थ्यो । धेरैपछि नेपाल आएर मात्रै टीका लगाए । यसपटक पनि मंगलबार मेरो हजुरबुवाको निधन भएकाले तिहारमा त्यति धेरै रौनक हुँदैन । टीका पनि हुन्छ कि हुँदैन थाहा छैन ।

दाजुसँग घुमफिर
आशिष्मा नकर्मी

म स्टुडेन्ट भिसामा अमेरिका गएको थिएँ । टेक्ससमा बस्थे । यो एकदमै धेरै नेपाली बस्ने ठाउँ भएकाले पनि हामीले हरेक चाडपर्व उत्तिकै रमाइलोका साथ मनाउँथ्यौं । तिहारमा लक्ष्मीपूजा पनि गर्थें । घरमा ममीले गरेको सम्झँदै पूजा गर्थें । पूजाअगाडि घर लिप्नुपर्छ भनेर केही नपाउँदा पानीले नै लिप्थेँ । नेपाल सोसाइटी अफ डल्लासले आयोजना गर्ने म्हँ पूजामा सहभागी हुन्थेँ । बरु यहाँका नेपालीले विस्तारै अरूका संस्कृतिमा रमाउन थालेका छन् ।

उता बस्दा त नेपाली संस्कृति नै प्यारो लाग्ने हुनाले यताभन्दा पनि राम्रोसँग तिहार मनाइन्थ्यो । मेरो दाजुभाइ नभएकाले विदेशमात्रै होइन, नेपालमा पनि आजसम्म भाइटीका लगाएको छैन । तर, मैले बनाएको दाइसँग त्यो दिन भेट्छु । उहाँ मलाई धेरै माया गर्नुहुन्छ र म पनि उहाँलाई माया गर्छु । यो आत्मीयता हामीबीचमा भएकाले टीका नै लगाउनुपर्छजस्तो मलाई लाग्दैन । यस दिन आफ्नो आफ्नो दाजुसँग घुमफिर गर्छु ।

पढाइमै व्यस्त भएँ
आस्तिक शेरचन, फेसन डिजाइनर

मैले सन् २००८ देखि पाँच वर्षसम्म फ्रान्समा फेसन डिजाइनिङ कोर्स गरेको हुँ । त्यति बेला म पढाइमा नै धेरै व्यस्त हुने भएकाले तिहार मनाउन नै पाइनँ । हामीले बाल्यकालमा पनि तिहार धूमधामसँग मनाएर दिदीको हातको टीका लगाउने गरिन्थ्यो । पछि दिदी पनि अमेरिका जानुभएपछि टीका लगाउने अवसर पनि जुरेको छैन । मलाई तिहार कुनै नयाँ ठाउँ घुमेर नै मनाउन मन लाग्छ । यसपालि पनि नेपालको कुनै नयाँ ठाउँ घुमेर नै तिहार मनाउने विचार गरेको छु । तर, कुन ठाउँ हो भन्ने टुंगो लागेको छैन ।

दिदीबहिनीको याद आउँछ
जीवनकुमार थापा, व्यवसायी
व्यवसायका क्रममा दक्षिण कोरिया गएको एक दशक भयो । यसबीचमा पहिलोपटक यसपालि तिहार मनाउन नेपाल आएको छु । दसैंतिहार नेपालीका लागि महत्त्वपूर्ण र रमाइलो चाड हो । सानोमा तिहारमा रमाइलो गरेका क्षणहरू सारै अविस्मरणीय लाग्छ । हुन त कोरियामा पनि अहिले नेपालीको संख्या निकै भइसकेको छ । दसैंतिहार मनाउँछन् ।

म रेस्टुरेन्ट र फूलको व्यवसायमा लागेकाले यस्तो अवसरमा नेपाली दाजुभाइ, दिदीबहिनीलाई प्रायः फेन्तेकस्थित आफ्नै रेस्टुरेन्टमा बोलाउँछु । कार्यक्रम हुन्छ । फेन्तेकमा नेपालीहरू निकै छौं । कहिलेकाहीँ विभिन्न संघसंस्थाले कार्यक्रम आयोजना गर्छ । कोरियामा पनि नेपालीबीच देउसीभैलो खेल्ने, रमाउने चलन सुरु भइसकेको छ । तर नेपालमा जस्तो फुर्सद र रमाइलो हुँदैन । विदेशमा हुँदा खासगरी भाइटीका, दिदीबहिनी, गाउँको देउसीभैलोको याद बढी आउँछ ।

आफन्तको यादले सताउँछ
मीरा लम्साल, ब्युटिसियन

तिहार मलाई साह्रै मन पर्ने चाड हो । गत सालको तिहार मैले आफ्नो देश र आफ्नो ठाउँमा मनाउन पाइनँ । पोर्चुगलमा तिहार मनाएको पोहोर मैले पहिलोपटक थियो । त्यति बेला साह्रै सम्झना आएको थियो आफ्नो ठाउँको । साह्रै नरमाइलो लाग्यो । तिहार भन्नेबित्तिकै मैले आफ्नो दाजुभाइलाई धेरै मिस गरेँ ।

त्यो झिलिमिली, त्यो देउसीभैलो अनि त्यो मखमली र सयपत्री फूल, ती सबैको रौनक त्यहाँ कहाँ पाउनु र ? तैपनि आफ्नो संस्कार र संस्कृति जोगाउन नेपालीले खोलेको पसलमा गएर सामान ल्याइयो, घरमै सेलरोटी बनाइयो, रंगोली पनि बनाइयो अनि लक्ष्मीपूजा गरियो । साथीभाइसँग बसेर रमाइलो गर्ने र तास खेल्ने पनि गरियो । विदेशमा रहँदा चाडपर्वमा आफ्नो ठाउँ र आफन्तको धेरै याद आउँदो रहेछ । जे भए पनि यसपालि साथीहरूलाई बोलाएर तिहार मनाउने योजना छ ।

मज्जा नै नआउने
अञ्जु भट्टराई/प्रिन्सिपल, अक्षरा स्कुल, पेप्सीकोला

सन् २०१३ मा कामविशेषले कोरिया गएको थिएँ । दसैंतिहारको समयमा त्यहाँ पुगेकाले हामीले सिउलमै चाड मनाएका थियौं । त्यहाँ तिहार मनाउने क्रममा साथीभाइ जम्मा भएर रेस्टुराँमा बस्ने, खानपान र गफ गर्नमै रमायौैं । नेपालमा हुँदा जताततै ढकमक्क फुलेको फूल, सबैको बेहुलीझैं चिटिक्क सिँगारिएका घरहरू देख्दा चाडपर्वको वातावरण नै बेग्लै हुन्छ । तर, विदेशमा हुँदा नेपाली समुदाय मिलेर चाड मनाउने र भाइटीका लगाउने गरिए पनि यहाँको जस्तो माहोल नहुँदा मज्जा नै नआउँदो रहेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.