विश्वलाई सन्देश दिने तिहार
नेपालीको दोस्रो ठुलो चाड तिहार आजदेखि सुरु भएको छ । मुख्य चाड बडादसैंको पन्ध्र दिनपछि सुरु हुने तिहार अर्थात् यमपञ्चक कात्तिक कृष्ण पक्षको त्रयोदशीदेखि सुरु हुने गर्दछ । खासगरी हिन्दु धर्मावलम्बीहरुले यसलाई दिपावलीका रुपमा धुमधामसँग मनाउँछन् । दसैं होस् वा तिहार, दुवै चाड पर्वका रुपमा मनाइन्छन् जसमा देवी दुर्गाका विभिन्न रुपहरुको पूजाआराधना गरिन्छ । तिहारमा सम्पत्तिकी देवी लक्ष्मीको पूजा गरिन्छ ।
नेपाल कृषि प्रधान देश भएकाले किसानले खेतमा वर्षभरि गरेको मेहनत अन्नरुपी सम्पत्तिका रुपमा घरमा भित्र्याउने समय हुनाले उसँग खुसी र उमंगको सीमा नहुने संस्कृतिविद् कुलप्रसाद पराजुली बताउँछन् । ‘त्यही खुसीमा किसान भगवान्को कृपा ठानी कृतज्ञता प्रकट गर्न खासगरि धनधान्यकी देवी लक्ष्मीको पूजा गर्ने गर्दछ’, उनी भन्छन्, ‘लक्ष्मीको पूजा गर्नाले घरमा अन्न (सम्पत्ति) धेरै हुने जनविश्वास पनि छ । तिहार बत्तीको झिलिमिलीको पर्वसमेत हुने भएकाले यमपञ्चकका पाँच दिन र लक्ष्मी पूजाका दिन विशेष रुपमा घर, आँगन र चोक–चोकमा उज्यालो बनाइन्छ ।’
राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्राध्यापक डा. माधव भट्टराई नेपालीको दोस्रो महान् चाड तिहार विश्वलाई सन्देश दिने नेपालको एकमात्र व्यापक र विशेष चाड रहेको बताउँछन् । ‘यो चाडमा के हुँदैन, प्रकृतिका सबै पक्षहरुको पूजा र मानसम्मान गर्ने तिहारमा यमराजदेखि देवीदेउतासम्म र पशुपंक्षीदेखि मानिससम्मको पूजा गरिन्छ’, भट्टराई भन्छन्, ‘सृष्टि सञ्चालन गर्न हरेक पक्षको सहयोग हुन्छ, पहाड नभए जीवजन्तु बाँच्न सक्दैनन्, नदी बग्दैन, जल वर्षा हुँदैन।’ उनका अनुसार, मानिसमा डर भए समयमा र असल काम गर्ने भएकाले यमराजको डर चाहिन्छ, तिहारमा यमराजको पनि पूजा गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई पूजा गर्ने यो पर्वमा काग, कुकुर, गाई, गोवद्र्धन (पहाड) र लक्ष्मी (देवी) समेतको पूजा गरिन्छ जुन संस्कृति विश्वमा कहीँ छैन ।
हिन्दुशास्त्रमा सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीकै घरमा गई रमाइलो गरी पाँच दिनसम्म बसेको सन्दर्भलाई यमपञ्चक मानिएको उल्लेख छ । यसरी बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भएर यमराजले बहिनीलाई ‘जे मन लाग्छ वर माग’ भन्दा उनले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनु, दिदी–भाइ र दाजु–बहिनीको प्रेम सधैं अटल होस् साथै दाजुभाइको आयु, कीर्ति सदा वृद्धि होस्’ भनेर वर मागेकी थिइन् । दाजु यमराजले पनि तथास्तु भन्दै मन, वचन र शुद्ध कर्मले भाइपूजा गर्ने गराउने सबैको सधैं उन्नती र कीर्ति फैलियोस् भनी विदा मागी गएको सन्दर्भलाई आजपर्यन्त मनाउँदै आएको परम्परा छ । यसैले, तिहारमा एकातिर दाजुभाइ–दिदीबहिनीबीच आत्मियता र पवित्र स्नेह एवं सम्बन्धलाई पुष्टि गर्छ भने अर्कोतिर मानिस र पशुपंक्षीबीचको सम्बन्ध प्रगाढ रहेको प्रष्ट हुन्छ ।
भट्टराई थप्छन्, ‘समाजमा सबै पक्षको बराबर अस्तित्व छ भन्ने मान्यतालाई तिहारमा गरिने पशुपंक्षीदेखि, यमराजहुँदै मानिससम्मको पूजाले पुष्टि गरेको छ । यो व्यापक र विशाल नेपाली संस्कृति विश्वलाई उदाहरणीय छ ।’ यमपञ्चका पाँच दिन यसरी मनाइन्छ:
काग तिहार
यमपञ्चकको पहिलो दिन अर्थात् कात्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरिन्छ । सर्वभक्षी प्राणी एवं अत्यन्त चलाख पंक्षी मानिने कागले सबैलाई समान दृष्टि अर्थात् समदर्शी भावले हेर्छ र अन्नबालीमा लाग्ने किरा, फट्यांग्राहरु खाइदिन्छ भन्ने अर्थमा पूजा गरिन्छ । यमराजको सन्देश सुनाउने यमदूतका रुपमा लिइने यो पंक्षी यमराजको पनि प्रिय भक्त हो ।
कुकुर तिहार
यमपञ्चकको दोस्रो दिन अर्थात् चतुदर्शीका दिन मनाइने कुकुर तिहारलाई नरक चतुदर्शी पनि भनिन्छ । कागजस्तै कुकुरलाई पनि यमराजको दूतका रुपमा लिइन्छ । यसले घरको रेखदेख गर्ने, अपराधीहरु पत्ता लगाउने, अनुसन्धानमा सहयोग गर्ने र मानिसको आज्ञापालक र रक्षकका रुपमा काम गर्दै आएको छ । प्राकृतिक एवं दैवी विपत्तिमा पूर्वसूचना दिने कुकुर भैरवको बाहन हो ।
गाई तिहार (लक्ष्मी पूजा)
हिन्दू धर्मावलम्बीले सामाजिक संस्कार वा कुनै पनि धार्मिक काम गर्न गाईको गोबरले घर–आँगन लिपपोत गर्ने गर्छन्, गाईको गहुँत सबैतिर (घरभित्रका विभिन्न स्थान) छर्किने र चोखिन खाने पनि गर्छन् । उनै गौमाता र लक्ष्मीकी प्रतिपूर्ति गाईलाई यमपञ्चकको तेस्रो दिन पुज्ने गरिन्छ । साँझ धनधान्यकी देवी एवं ऐश्वर्यकी प्रतिक लक्ष्मीको कात्तिक कृष्ण औंसीको यही रातमा घर–आँगन सबै उज्यालो हुने गरी दियो र बत्ती बालेर घरमा भित्रिन लक्ष्मीलाई आह्वान गरिन्छ । दिपावलीको यो दिन तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट उज्यालोतर्फ लगेर मानिसले सुख र सन्तोष प्राप्त गरेको अनुभूति गर्दछ । वर्षका चार महत्वपूर्ण रातमध्ये यो रातलाई सुखरात्रि पनि भनिन्छ । देवीको पूजापछि चेलीबेटीले घरघरमा पुगी भैलो खेलेर रमाइलो गर्दछन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन पनि पर्ने यो दिन नेपाली सालको नयाँ वर्ष पनि सुरु हुन्छ । विष्णु भगवान्ले हिरण्यकश्यपुको बध गरेको यो दिनमा समुद्र मन्थनपछि लक्ष्मी र धन्वन्तरी प्रकट भएको मानिन्छ ।
गोवर्धन पूजा (गोरु तिहार-हल तिहार)
यमपञ्चकको चौथो दिनलाई हल तिहार भनिन्छ । यो दिन गोरु र गोवर्धन (पहाड) को पूजा गरिन्छ । नेपालीले वर्षभरि अन्न उब्जाउन हलो तान्ने, पटा लगाउने, दाइँ गर्ने लगायतका काम गर्ने भएकाले गोरुको पूजा गरिन्छ ।
भाइ पूजा
तिहार अर्थात् यमपञ्चकको अन्तिम दिन कात्तिक शुक्ल द्धितीयाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टिका लगाएर वस्त्र एवं मिष्ठान्न खानेकुरा र भोजनसमेत गराउँछन् । दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई लाउने कपडा दिने र दक्षिणा दिएर ढोग्ने चलन छ । दाजु यमराजलाई विशेष मानसम्मान गर्दै यही दिन पूजा गरेको धार्मिक मान्यता छ । यस दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तोरीको तेल, मखमलीको माला, दुबो, कटुस आदिको प्रयोग गरी दिदीबहिनीले दाजुभाइको सुख–समृद्धि र आरोग्य एवं दीर्घायुको कामना गर्दछन् ।