‘महाअभियोग अघि बढिसक्यो, लोकमानलार्इ अब किन हिरो बनाउने ?
काठमाडौंः नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावबारे कांग्रेसले छिट्टै निर्णय लिइने बताएका छन्।
कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई अनावश्यक रुपमा उचालिएको भन्दै सिटौलाले महाअभियोग प्रकरणबारे सभापति शेरबहादुर देउवाले संसदीय दलमा ल्याउने प्रस्तावलाई आफूहरुले समर्थन गर्ने बताए। उनले कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे संसदमा प्रक्रिया अघि बढिसकेकाले अब त्यसलाई धेरै चर्चाको विषय बनाइराख्न जरुरी नभएको बताए।
तिहार, दीपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा काठमाडौंमा शुक्रबार आयोजित चियापान कार्यक्रममा सिटौलाले भने,‘लोकमानविरुद्धको महाअभियोग प्रस्तावलाई धेरै महत्व दिएकै कारण संविधान कार्यान्वयन लगायतका राष्ष्ट्रिय मुद्दा ओझेलमा परे।’ सिटौलाले सभापति शेरबहादुर देउवाले लोकमान प्रकरणबारे संसदीय दलमा ल्याउने प्रस्तावलाई आफूहरुले समर्थन गर्ने बताए।
उनले संविधान कार्यान्वयन र स्थानीय निकायको निर्वाचन नै कांग्रेसको अहिलेको मूल एजेन्डा भएको बताए। उनले मधेसवादी दलहरुका माग सम्बोधन गर्न संविधान संशोधन गर्न आफूहरु तयार रहेपनि अनावश्यक माग भने पूरा नहुने बताए।
उनले भने,‘आवश्यकता अनुसार समय समयमा संविधान संशोधन गर्न सकिन्छ। तर, माग पूरा गर्ने नाउँमा वा माग गरेबमोजिम भने संशोधन हुँदैन।’