जिम्मेवारी पूरा गर्न नसक्ने शिक्षक सरुवा

जिम्मेवारी पूरा गर्न नसक्ने शिक्षक सरुवा

सुर्खेत: जिल्ला शिक्षा कार्यालय सुर्खेतले जिम्मेवारी पूरा गर्न नसक्ने शिक्षकलाई सरुवा गर्ने भएको छ । जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न यस्तो रणनीति अघि सारिएको हो । पायक पर्ने विद्यालय रोजेर काम गर्दै आएका शिक्षकको कार्यक्षमता मापन गर्ने र जिम्मेवारी पूरा गर्न नसके त्यस्ता शिक्षकलाई कारबाहीस्वरूप सरुवा गरिने शिक्षा कार्यालयले जनाएको छ ।

केही दिनअघि मात्र शिक्षा कार्यालयमा हाजिर भएका नयाँ जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले अब तोकिएको जिम्मेवारी पूरा गर्न नसक्ने शिक्षकलाई कारबाही गरिने चेतावनी दिए । 'शिक्षा कार्यालयले सबै विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्झौता गर्नेछ, तोकिएको सम्झौताअनुसार जिम्मेवारी पूरा नगर्ने प्रअलाई अर्को विद्यालयमा सरुवा गर्नेछौं । अब आफूलाई पायक पर्ने विद्यालय रोजेर कसैले पनि जागिर पाउने छैनन्', उनले भने, 'जिम्मेवारी पूरा गर्न नसक्नेलाई कारबाही गर्नेछौं ।' तिहारलगत्तै सबै प्रधानाध्यापकसँग शिक्षा कार्यालयले कार्यसम्झौता गर्ने तयारी गरेको छ ।

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, सिकाइ उपलब्धि, विद्यार्थीको टिकाउ दर, शैक्षिक वातावरण निर्माण, विद्यालयमा शिक्षकको नियमिततालगायतका विषयमा शिक्षा कार्यालयले प्रअसँग सम्झौता गर्नेछ । सम्झौताअनुसार प्रधानाध्यापकले काम गर्नुपर्नेछ । प्रधानाध्यापकले पनि आफू कार्यरत विद्यालयका शिक्षकसँग कार्यसम्झौता गर्नेछन् । तोकिएको अवधिमा सम्झौताअनुसार नतिजा निकाल्न नसक्ने प्रअ र शिक्षकलाई शिक्षा कार्यालयले कारबाहीस्वरूप अर्को विद्यालयमा सरुवा गर्नेछ ।

यस किसिमको व्यवस्थाले विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने र शिक्षकको कार्यक्षमतामा पनि वृद्धि हुने कार्यालयको दाबी छ । 'पायक पर्ने विद्यालयमा दरबन्दी मिलाउने, तर शैक्षिक गुणस्तरको सुधारमा ध्यान नदिने प्रवृत्ति हाबी भयो', जिशिअ शाहले भने, 'अब जसले सम्झौताअनुसार नतिजा निकाल्छन्, उनीहरु ढुक्क हुनेछन् । जसले दिएको जिम्मेवारी पूरा गर्न सक्दैनन्, उनीहरूलाई हामी अन्यत्रै सरुवा गरिदिनेछौं ।'

यस्तै शिक्षा कार्यालयले जिल्लाको शैक्षिक विकास एवं गुणस्तर सुधारका लागि विभिन्न योजना अघि सारेको छ । कार्यालयले अब शिक्षक, अभिभावक र विद्यार्थीबीच संयुक्त छलफल गरेर विद्यालय शिक्षाबारे सुझाव संकलन गर्नेछ । त्यसैगरी विद्यालयमा विद्यार्थीलाई टिकाउन नयाँ रणनीति निर्माण गर्ने भएको छ । जिल्ला शिक्षा कार्यालयलाई अब मंसिरभित्रै अपाङ्गमैत्री बनाइने कार्यालयको भनाइ छ ।

कार्यालयमा कार्यरत सबै कर्मचारीको कार्यविभाजन गरिएको जिल्ला शिक्षा अधिकारी शाहले बताए । उनका अनुसार अब नमुना विद्यालयको विकासका लागि पनि पहल थालिनेछ । विद्यालयका साना बालबालिकालाई सार्वजनिक कार्यक्रममा उत्ताउला गीतमा नचाउने गरिएको र यसले बालमस्ष्तिकमा नकारात्मक प्रभाव पारेकाले यो कार्यलाई बन्द गरिने शिक्षा कार्यालयको भनाइ छ । बालमैत्री कक्षा निर्माणका लागि प्रयास भइरहेकोसमेत कार्यालयले जनाएको छ ।

शिक्षाक्षेत्रमा धेरै विकृति रहेकाले सबैको प्रयास एवं समन्वयबाट समाधान गर्न सकिने जिशिअ शाहले बताए । तलब लिने तर विद्यालयमा नजाने शिक्षकलाई कार्यालयले विशेष निगरानीमा राखेको उनको भनाइ छ । विद्यालयमा मदिरा सेवन गरेर जाने, नियमित विद्यालयमा हाजिर नहुने र बालबालिकालाई यातना दिने शिक्षकलाई कडा कारबाही गरिने उनले चेतावनीसमेत दिए ।

मंसिरभित्र सबै विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन भइसकेको र तोकिएको मितिमा गठन नगर्ने विद्यालयको सेवासुविधा रोक्का गरिने उनको भनाइ छ । करार शिक्षक नियुक्तिमा पनि चलखेल हुने गरेको भन्दै कार्यालयले अब योग्य शिक्षकलाई भित्र्याउन परीक्षा प्रणालीमा पारदर्शिता अपनाइने जानकारी दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.