दुर्लभ जन्तुको अंग तस्करीः ‘ट्रान्जिट’ बन्दै दाङ

दुर्लभ जन्तुको अंग तस्करीः ‘ट्रान्जिट’ बन्दै दाङ

भालुवाङ दाङः चितुवा, हिँउ चितुवा, हुँडारलगायतका छाला तस्करहरु पक्राउ भइरहेको दाङबाट शुक्रबार राति फेरि एक दुर्लभ जन्तु रेड पान्डाको छालासहित एक जना तस्कर पक्राउ परे ।

यसरी तस्करहरुले दाङ जिल्लालाई छाला तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बनाउँदै जान थालेपछि जिल्लामा प्रहरीले अनुसन्धानलाई तीब्र बनाएको छ । शुक्रबार राति सुराकी पाएर नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान कार्यालयको टोली आएर ती तस्करलाई पक्राउ गरेको हो ।

रेडपान्डाको छालासहित प्रहरीले रोल्पा जिल्लाको मिरुल गाविस वडा नं. १ निवासी २५ वर्षीय दीपक बुढामगरलाई दाङको भालुवाङबाट पक्राउ गरेको हो । उनलाई शनिबार नै जिल्ला बन कार्यालयको जिम्मा लगाएपनि जिल्लामा बनमा सुरक्षाकर्मीको अभाव हुँदा उनलाई अनुसन्धानका लागि वडा प्रहरी कार्यालय लमहीमै राखिएको छ ।

एक अध्ययन तथ्याङ्कअनुसार नेपालमा रेडपान्डाको संख्या ३ सय ५० र विश्वमा करिब १० हजारको हाराहारीमा छ । त्यसैले पनि यसलाई संरक्षित जन्तुको सूचीमा राखिएको छ । कुनै पनि नयाँ प्राणी देखेपछि लजाएर माग्न नसक्ने यसको स्वभावका कारण तस्करहरुलाई रेडपान्डाको शिकार गर्न सजिलो हुन्छ ।

यस्ता दुर्लभ स्तनधारी वन्यजन्तुमा पर्ने रेडपान्डा मार्ने, अंगहरू ओसापसार गर्ने, राख्ने वा बिक्री गर्नेलाई एकदेखि १० वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ । त्यसका साथै ४० देखि ७५ हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था पनि कायम छ ।

यसअघि पनि दाङबाटै अनुसन्धान ब्यूरोले चितुवाको छालासहित देउखुरी लालमटियाका ८ मुक्तबहादुर थापा र सिसहनिया १ का टेकबहादुर केसीलाई लमहीको एक होटेलबाट पक्राउ गरेको थियो ।

त्यस्तै गत असार ५ गते दाङको सौडियारबाट चितुवाको छालासहित स्थानीय सगुन चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि गत भदौ २६मा जिल्ला प्रहरी कार्यालय दाङको टोलीले जरायोको छालासहित दुईजनालाई नियन्त्रणमा लिएको थियो । जिल्लाको त्रिपुर नगरपालिकाका बसन्त कुँवरलाई प्रहरीले चार थान वन्यजन्तुको छाला सहित नियन्त्रणमा लिएको थियो । त्यसअघि हँडारको छालाको ज्याकेटसहित एकजनालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला बन कार्यालयका सूचना अधिकारी गोकर्ण चौधरीका अनुसार यस्ता बन्यजन्तु उच्च हिमाली क्षेत्रमा पाइन्छन् । शुक्रबार पक्राउ गरिएको रेडपान्डाको छाला पक्राउ पर्ने बुढामगरले ढोरपाटन शिकार आरक्षबाट उक्त रेड पान्डा मारेर तस्कर गर्न लागेको उनले बताए । यो आरक्षमा रेडपान्डा पाइन्छ । बाग्लुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा फैलिएको यो आरक्षबाट बन्यजन्तु तस्करी गर्ने मुख्य मार्ग भनेको दाङकै मार्ग हो ।

पहाडी जिल्लासँग जोडिएका कारण दाङसम्म आउन तस्कर तथा तस्करी भरियाहरुलाई खासै प्रहरीसँग डर हुँदैन । त्यसमाथि दाङसँग भारतको सिधा खुल्ला सिमाना भएको कारण पनि तस्करहरुलाई बाहिरी देश छिर्न सजिलो छ । जिल्लाका धेरैजसो नाकाहरुमा सुरक्षा संयन्त्र छैन ।

मध्यपश्चिम क्षेत्रीय अनुसन्धान प्रहरीले एकबर्षको अवधिमा वन्यजन्तुको अंग तथा छालासहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीको अनुसन्धान समुहले गुपचुपै यस्ता बन्यजन्तुका अंगहरु बाहिर देशमा निर्यात हुने गरेको देखिएको छ ।

तस्करहरुले दिएको बयानअनुसार यहाँका भरियाहरुले काठमाडौँसम्म बन्यजन्तुका अंग पुर्‍याउने र त्यहाँ रहेका तस्कर गिरोहले बाहिरी मुलुक निर्यात हुने गरेको छ । त्यसमाथि दाङ खासगरी दक्षिणी र उत्तरी क्षेत्रको ट्रान्जिट थलो बनेको प्रहरीको दाबी छ । रुकुम, सल्यान, बाग्लुङलगायतका दुर्लभजन्तु पाइने जिल्लाहरुबाट तस्करी गरेर गन्तव्यमा पुर्‍याउनका लागि दाङको बाटो तस्करका लागि सुरक्षित मान्ने भएकाले पनि धेरैजसो कारोबारी दाङबाट पक्राउ हुने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.