१५४ खसीबोका मरेः कता गाडियो पत्तो छैन-खाद्य संस्थानले सूचना लुकायो

१५४ खसीबोका मरेः कता गाडियो पत्तो छैन-खाद्य संस्थानले सूचना लुकायो

काठमाडौं: नेपाल खाद्य संस्थानले दसैंमा बिक्री गर्न विभिन्न स्थानबाट भित्र्याएका खसीबोका र च्याङ्ग्रामध्ये एक सय ५४ वटा मरेका छन् । औसत मूल्यअनुसार २१ लाख ७७ हजार मूल्य बराबरका ९२ वटा च्याङ्ग्रा र ६२ वटा खसीबोका मरेका हुन् ।

नेपाल खाद्य संस्थानको वागमती अञ्चल कार्यालयले हालसम्म यो सूचना सार्वजनिक गरेको छैन । संस्थानका अञ्चल प्रमुख मोहनप्रकाश चन्दले सुरुमा खसीबोका र च्याङ्ग्रा नमरेको अड्डी कसेका थिए । अन्नपूर्णकर्मीले धेरै बेरसम्म वास्तविक सूचना उपलब्ध गराउन आग्रह गरेपछि उनले सातवटाको संख्यामा मात्रै खसीबोका मरेको स्वीकार गरे । ‘हावापानी नमिलेर सातवटा जति खसीबोका मरेका थिए’, अञ्चल प्रमुख चन्दले भने ।

चन्दले सातवटा खसीबोका मात्रै मरेको जानकारी दिए पनि संस्थानकै उच्च स्रोतले ६२ वटा खसीबोका र ९२ वटा च्याङ्ग्रा मरेको जानकारी दिएको छ । चन्दका अनुसार दसैंमा संस्थानले एक हजार तीन सय ९८ वटा खसीबोका र एक हजार चार सय ५० वटा च्याङ्ग्रा ल्याइएको थियो । ल्याएका जति सबै बिक्री भइसकेको उनले सुरुमा दाबी गरेका थिए । धेरै बेरपछि मात्रै उनले केही थान मरेको स्वीकार गरे ।

प्रमुख चन्दले मरेका खसीबोका र च्याङग्राको तथ्यांक उपलब्ध गराउन मानेनन् । उनले भने, ‘सबैतिरबाट तथ्यांक आइपुगेको छैन । तथ्यांक आउन केही साता अझै लाग्छ । त्यसपछि मात्रै यकिन जानकारी प्राप्त हुन्छ ।’

दसैंमा संस्थानले एक हजार तीन सय ९८ वटा खसीबोका र एक हजार चार सय ५० वटा च्याङ्ग्रा ल्याएको थियो ।

प्रहरी र पशु चिकित्सकको सहकार्यमा मरेका खसीबोका गाडिएको जानकारी दिइएपनि कुन स्थानमा कतिको संख्याको गाडिएको उनले बताएनन् । ‘विभिन्न स्थानमा मुचुल्का उठाएर मरेका खसीबोका गाडेका थियो’, उनले भने, ‘तर कुन कुन स्थानमा गाडिएको हो, त्यो स्थानको नाम मलाई थाहा छैन।’

संस्थानले खसीबोका र च्याङ्ग्रा ल्याएर बिक्री गर्ने समयमा उनीहरूको स्वास्थ्य परीक्षणका लागि पशुपन्छी मन्त्रालय अन्तर्गतका पशु चिकित्सक पनि खटिएका थिए । संस्थानमा भेटेरिनरी जनस्वास्थ्य कार्यालयका पशु चिकित्सक डा.नारायण घिमिरे खटिएका थिए । उनका अनुसार संस्थानले भित्र्याएका खसीबोका र च्याङ्ग्रा हावापानी नमिलेर केही संख्यामा बिरामी परेका थिए ।

तराईबाट ल्याइएका खसीबोका र हिमाली क्षेत्रबाट भित्र्याइएका च्याङ्ग्रा दसैंको समयमा परेको पानीका कारण तापक्रम नमिलेर सामान्य बिरामी परेका भेटेरिनरी जनस्वास्थ्य कार्यालयले जनाएको छ । ‘बिरामी भएका केही खसीबोका र च्याङ्ग्रा उपचार गरे पनि मरेका थिए’, डा घिमिरेले भने, ‘तर मरेको संख्या यकिन भएन् ।’

संस्थानले २५ किलोसम्मका खसीबोकालाई प्रतिकिलो चार सय ४० र २५ किलोभन्दा माथीकालाई उपभोक्ता मूल्य प्रतिकिलो चार सय ५० तोकेको थियो । यस्तै च्याङ्ग्राको प्रतिकिलो ६ सय ५० तोके पनि उक्त मूल्यमा बिक्री हुन नसकेपछि केही दिन लगत्तै प्रतिकिलो ६ सय २० र ६ सय १० रुपैयाँमा बिक्री गरिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.