अमेरिकी राष्ट्रपति निर्वाचनः इमेल काण्डले हल्लीखल्ली

अमेरिकी राष्ट्रपति निर्वाचनः इमेल काण्डले हल्लीखल्ली

न्यु ह्याम्सायर अमेरिकाः अमेरिकी राष्ट्रपति निर्वाचनको १० दिनअघि संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनले विदेशमन्त्री छँदा गरेका शंकास्पद इमेलमाथि फेरि छानबिन सुरु गरेपछि सारा विश्वको ध्यान यसमा केन्द्रित भएको छ ।

न्यु ह्याम्सायरको म्यान्चेस्टरमा शुक्रबार आयोजित सभामा मुसुमुसु हाँस्दै देखापरेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको वक्तव्य त्यही ‘ब्रेकिङ न्युज एनाउन्समेन्ट' बाट सुरु भयो ।

म्यान्चेस्टरको र्‍याडिसन होटेलमा जम्मा भएका समर्थकतर्फ विजयी मुस्कानसाथ हेर्दै उनले सुरु गरे, ‘मसँग आज तपाईंहरूका लागि ब्रेकिङ न्युज छ । करिब १० मिनेटअघि एफबीआईले कंग्रेसलाई चिठी पठाएर हिलारीका नयाँ शंकास्पद इमेल भेटिएको र त्यसमाथि अनुसन्धान सुरु गरेको उल्लेख गरेको छ ।'

उनले त्यत्ति भन्नासाथ ट्रम्पका ‘राष्ट्रवादी' समर्थकहरू चर्को स्वरमा हुटिङ गर्न थालिहाले । ट्रम्पले थपे, ‘हिलारीको भष्टाचार हामीले सोचेभन्दा धेरै बढी छ, मलाई तथ्यप्रति ठूलो सम्मान छ । एफबीआईको पुरानो निर्णय (हिलारीलाई निर्दोष ठहर गर्ने) सच्याइनुपर्छ भन्ने सबैलाई लागेको छ । अब सायद (अमेरिकाले) न्याय पाउनेछ ।'

सभामा उपस्थित दर्शकहरूसँग करिब तीन मिनेट दंग पर्दै एफबीआई अनुसन्धानबारे कुरा गरेपछि ट्रम्पले थपे, ‘यति भनिसकेपछि अब आज मेरो भाषण दिक्कलाग्दो हुने भएको छ । अझै मैले भाषण गर्नुपर्छ ? हामी सीमाबारे कुरा गर्नेछौं, व्यापारबारे कुरा गर्नेछौं, रोजगार र सेनाबारे पुरानै कुरा गर्नेछौं, होइन ? '

एफबीआईले शुक्रबार सार्वजनिक गरेको दस्ताबेजमा राष्ट्रपति बाराक ओबामाले हिलारी विदेशमन्त्री छँदा उनलाई छद्मनामबाट व्यक्तिगत सर्बरमा इमेल पठाउने गरेकोसमेत उल्लेख छ ।

वैकल्पिक पत्रिका ‘पोलिटिको' का अनुसार एफबीआईले हिलारीका इमेलबारे शुक्रबार सार्वजनिक गरेको नयाँ १८९ पृष्ठ लामो दस्ताबेजमा ओबामाले छद्मनाम प्रयोग गरेर इमेल पठाउने गरेको खुलेको हो । यसअघि ओबामाले आफूलाई हिलारीको व्यक्तिगत इमेल र सर्बरबारे कुनै जानकारी नभएको एफबीआईसँग बताएका थिए ।

एफबीआईको विकसित घटनाक्रमसँगै राष्ट्रपति बाराक ओबामाले हिलारीसँग सहभागी हुने गरी पहिल्यै तय भएका कतिपय कार्यक्रमहरू शुक्रबार राति रद्द गरेका छन् । डेमोक्र्याटिक उम्मेदवार हिलारीसँग पहिल्यै तय भइसकेका राष्ट्रपति ओबामाका कतिपय पूर्वनिर्धारित चुनावी कार्यक्रमहरू शुक्रबार राति चुपचाप डेमोक्र्याटिक पार्टीको अनलाइनबाट हटाइएको छ ।

हिलारी स्पिचेज डट कममा पहिल्यै राखिएका राष्ट्रपति ओबामा र उपराष्ट्रपति जोन बाइडेनका अमेरिकाका विभिन्न ठाउँमा हुने भनिएका आधा दर्जनभन्दा बढी चुनावी सभा रद्द गरिएका हुन् ।

एफबीआईका निर्देशक जेम्स कोमेले शुक्रबार बिहान अमेरिकी कंग्रेसलाई पत्र लेख्दै असम्बन्धित विषयमा भेटिएका नयाँ इमेलबारे छानबिन सुरु गरेको जानकारी दिएका थिए । कंग्रेसलाई आफूले इमेल अनुसन्धान फेरि सुरु गरेको जानकारी दिएको उनले एक सार्वजनिक नोटिसमार्फत आफ्ना सहकर्मीहरूसँग बताएका थिए ।

हिलारीका निकटतम् सहयोगी हुमा एबेडिनका पति तथा पूर्वकंग्रेस सदस्य एन्थोनी वेइनरसँग एफबीआईले लिएको बयानबाट नयाँ इमेल रहस्य खुलेको हो । वेइनरले नर्थ क्यारोलिनाकी १५ वर्षीया किशोरीलाई आपत्तिजनक इमेल पठाएको आरोपमाथि छानबिन गर्ने क्रममा एफबीआईले नियन्त्रणमा लिएका कम्युटरहरूबाट नयाँ तथ्य खुलेको हो ।

एफबीआईको अनुसन्धानले हिलारी क्लिन्टनका मतदातालाई फरक नपारे पनि तटस्थ मतदातामा प्रभाव पर्न सक्छ ।

म्याचुसेट्सलगायत कतिपय राज्यमा ‘अर्ली भोटिङ' सुरु भइसकेका बेला पुनः थालिएको एफबीआईले अनुसन्धानले हिलारीका समर्थकलाई निराश पारेको छ । हिलारीले भने इमेल छानबिनमा आफू निर्दोष रहेको पुरानो फैसला नबदलिनेमा विश्वस्त रहेको बताएकी छन् ।

यतिबेला आएर किन इमेल छानबिनको फाइल खोल्नुपरेको हो भन्ने अमेरिकी जनतालाई स्पष्ट पार्नसमेत उनले एफबीआईसँग आग्रह गरेकी छन् ।

आफूमाथि छानबिन सुरु भएको केहीबेरमै आयोबामा आयोजित एक सभालाई सम्बोधन गर्दै हिलारीले एफबीआईले इमेलबारे चाँडै अमेरिकी जनतालाई सत्य बताउनुपर्ने जिकिर गरिन् । ‘इमेलबारे जुलाईमा एफबीआईले दिएको नतिजा बदलिँदैन भन्नेमा म विश्वस्त छु', उनले भनिन् ।

कतिपय विश्लेषकले भने निर्वाचनका लागि केही दिनमात्र बाँकी छँदा एफबीआईले इमेलमाथि छानबिन गरिरहेको तथ्य आफैं सार्वजनिक गर्नुले हिलारीविरुद्ध केही ठोस प्रमाण भेटिएको हुनसक्ने सम्भावना देखिएको बताएका छन् ।

‘एफबीआईले यो अनुसन्धानको यथार्थ जे भए पनि कुनै ढिला नगरी अमेरिकी जनतालाई बताउनुपर्छ,' हिलारीले आयोबामा शुक्रबार भनिन् । ट्रम्पले भने रिपब्लिकन राष्ट्रपति रिचार्ड निक्सन मुछिएको वाटरगेट काण्डपछिको सबैभन्दा ठूलो राजनीतिक स्क्यान्डलका रूपमा व्यक्तिगत इमेल छानबिन प्रकरणलाई लिएको बताएका छन् ।

बोस्टनस्थित इमर्सन कलेजका कम्युनिकेसन्स् स्टडिज प्रमुख डा.ग्रेगोरी पेनले एफबीआईको अनुसन्धानले हिलारीका मतदातालाई फरक नपारे पनि तटस्थ मतदातामा प्रभाव पर्नसक्ने बताए ।

‘रिपब्लिकन उम्मेदवार कमजोर भएका कारण हिलारीका मतदातालाई इमेल काण्डले धेरै असर गर्दैन, तर स्वतन्त्र र तटस्थ मतदाता भने यसबाट प्रभावित हुनेछन्', पेनले भने । यद्यपि चुनावको मुखमा उम्मेदवारमाथि छानबिन भएको यो घटना इतिहासमै पहिलो भएकाले यसको परिणामबारे यसै भन्न नसक्ने पेनको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.