इन्जिनियर नहुँदा विकासमा बाधा

इन्जिनियर नहुँदा विकासमा बाधा

काठमाडौंः सडक र पुल बनाउने इन्जिनियर अभाव हुँदा विकास निर्माणका काम प्रभावित भएका छन् । सरकारले २३ वर्षदेखि इन्जिनियरको दरबन्दी खुलाएको छैन । भएको दरबन्दी पनि पूर्ण छैन ।

सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले सरकारले दुई दशकभन्दा लामो समयदेखि इन्जिनियरको दरबन्दी नखुलाउँदा विकास-निर्माणका काम प्रभावित भएको बताए । उनका अनुसार २०५० सालमा भएको दरबन्दीले काम गरिरहेका इन्जिनियरको काम २३ वर्षपछि अहिले १५ गुणाभन्दा बढी काम बढे पनि सरकारले नयाँ इन्जिनियर नलिँदा काममा समस्या भएको हो । विभागसँग करिब तीन सय इन्जिनियर छन् ।

कामका दृष्टिले झन्डै दोब्बर जनशक्ति आवश्यक रहेको विभागको भनाइ छ । आवश्यक मात्रामा इन्जिनियर नहुँदा रणनीतिक सडक र पुल निर्माणको गुणस्तरमा पटकपटक प्रश्न उठेको छ ।
कार्कीले एकजना इन्जिनियरले १५ वटासम्म पुलको काम गर्नुपरिरहेको बताए । उनले अन्नपूर्णसँग भने, ‘संसद्को विकास समितिदेखि सरकारी सबैजसो बैठकमा सडकको गुणस्तरीयताको प्रश्न उठ्छ । एउटा इन्जिनियरले १५ तिर हात हालेको हुन्छ अनि कन्ट्र्याक्टरले जे तयार पार्छ, त्यसैमा हस्ताक्षर गर्न बाध्य हुन्छ ।'

मुलुकभर ३४ डिभिजन कार्यालय छन् । ती प्रत्येकमा तीन-चारजना मात्रै इन्जिनियर छन् ।

नेपाल भित्रने बिटुमिनमा लोगो र गुणस्तर दुवै नहुँदा पनि प्रयोग गर्न बाध्य भएको उनको भनाइ छ । कामका लागि आउने बिटुमिनका प्रत्येक ड्रम परीक्षण गरेर ठिक छ/छैन भन्न सम्भव नहुने उनले जानकारी दिए । विदेशीले नेपालमा कुनै सडक वा पुलको काम गर्दा दर्जनौं दक्ष इन्जिनियर हुने उनको भनाइ छ ।

उनले भने, ‘विभागअन्तर्गत यति धेरै कार्यक्रम छन् कि २५ प्रतिशतभन्दा बढी जनशक्ति अभाव छ । अहिले मुलुकभर ३४ वटा डिभिजन कार्यालय छन्, तिनमा प्रत्येकमा तीन-चारजना मात्रै इन्जिनियर छन् ।

 

विदेशीले बनाइरहेको खोटाङको दिक्तेल-हलेसी सडकमा ३५ इन्जिनियर रहेको जानकारी दिँदै उनले थपे, ‘विभागले स्थायीबाहेकका इन्जिनियरलाई काममा लगाउन पाउँदैन । हरेक वर्ष माग्छौं तर आजसम्म छैन । अस्थायी आयोजना बर्सेनि थपिइरहन्छन् तर भएकै इन्जिनियरले चलाउनुपर्छ ।'

विभागले हाल करिब १५ हजार किलोमिटर रणनीतिक सडक बनाइरहेको छ । स्वीकृत दरबन्दीमा पनि ८५ जना इन्जिनियर र एक सय ५० सबइन्जिनियर खाली छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले २०५० सालयता एकजना पनि इन्जिनियर नथपिएको स्वीकार गरे । २३ वर्ष अवधिमा अहिले कम्तीमा १५ गुणा बढी काम भएको जानकारी दिँदै उनले भने, ‘भन्नैपर्ने हुन्छ, आयोजनाप्रमुख छान्नेखालको जनशक्तिसम्म छैन । जो आए पनि स्वीकार्नुपर्ने अवस्था छ । एक पर्याप्त प्राविधिक जनशक्ति छैन, अर्को भएकोमा दक्ष जनशक्ति एकदमै कम छ ।'

उनका अनुसार नेपालमा फ्लाइओभर, टनेल रोड, एक्सप्रेस वे, जीरो डेथ रोड आदि केही बनेकै छैनन् । ‘नेपालमा जे बने ती रणनीतिक रूपमा योजना बनाएर काम भएका छैनन्', उनले थपे, ‘सन् २०१० देखि २०२० सम्मलाई संयुक्त राष्ट्रसंघले घोषणा गरेको सडक दशकमा नेपालले पनि हस्ताक्षर गरेको छ तर त्यो लक्ष्य पूरा गर्न नेपालसँग जनशक्ति छैनन् ।'

विभागका अनुसार हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, उत्तर-दक्षिण जोड्ने विभिन्न करिडोरलगायत सडक र तिनमा बनाउनुपर्ने पुलका लागि जनशक्ति नहुँदा काम योजनाअनुरुप अघि बढ्न सकेको छैन । मन्त्रालयका सचिव तामाङले २०५८ सालमा बनेको यातायात नीतिअनुरुप काम भइरहेकाले समस्या रहेको जानकारी दिए । उनले भने, ‘इन्जिनियरको दरबन्दी थप्न र तत्काल पूर्ति गर्न प्रयासरत छौं । कतिपय कामका लागि समस्या भएको यातायात नीतिलाई पनि परिमार्जन गर्दैछौं ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.