भारतीय राष्ट्रपति भ्रमण बुधबारदेखि

भारतीय राष्ट्रपति भ्रमण बुधबारदेखि

काठमाडौः भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणमा बुधबार नेपाल आउँदैछन् । उनलाई स्वागत गर्न विद्यादेवी भण्डारी आफैं त्रिभुवन विमानस्थल जाने भएकी छन् ।

उच्चस्तरीय भारतीय प्रतिनिधिमण्डलका साथ मुखर्जी बुधबार मध्याह्न १२ः३० बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । उनलाई विमानस्थलको अतिविशिष्ट कक्षमा उच्च सम्मानका साथ ‘सेरेमोनियल रिसेप्सन' दिइने भएको छ । भ्रमण टोलीमा रक्षा राज्यमन्त्री, विदेश सचिव, पत्रकार, सांसद, सुरक्षाकर्मीलगायत ८० जना रहने बताइएको छ ।

भारतीय राष्ट्रपति विमानस्थलबाट सीधै शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग एक बजे द्विपक्षीय वार्ता गर्नेछन् । त्यसपछि लैनचौरस्थित भारतीय दूतावासमा आयोजित जलपान समारोहमा सहभागी हुनेछन् । भारतीय राष्ट्रपतिको सम्मानमा सोही दिन राष्ट्रपति भण्डारीले स्टेट ‘ब्यांक्वेट' दिनेछिन् ।

उक्त समारोहमा शीर्ष राजनीतिक दलका नेता, मन्त्री, कूटनीतिज्ञलगायत विशिष्ट व्यक्तित्वलाई निमन्त्रणा गरिएको छ । मुखर्जीलाई राजधानीको होटल हायातमा बस्ने व्यवस्था मिलाइएको छ । राष्ट्रपति मुखर्जी बिहीबार बिहान १० बजे पशुपति पुगेर पूजाअर्चनामा सहभागी हुनेछन् ।

होटल फर्केपछि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायत विभिन्न दलका नेताले मुखर्जीलाई भेट्ने कार्यक्रम छ । मधेसी दलका नेताले संयुक्त रूपमा मुखर्जीलाई भेट्नेछन् ।

मुखर्जी काठमाडौं महानगरपालिकाद्वारा सभागृहमा आयोजित नागरिक अभिनन्दनमा सहभागी हुने कार्यक्रम छ । इन्डिया फाउन्डेसनले होटल र्‍याडिसनमा आयोजना गर्ने नेपाल-भारत सम्बन्ध विषयक कार्यक्रममा राष्ट्रपति मुखर्जी सहभागी हुने भएका छन् ।

सोही दिन अपराह्न त्रिभुवन आर्मी क्लबमा आयोजित कार्यक्रममा काठमाडौं विश्वविद्यालयले मुखर्जीलाई मानार्थ विद्यावारिधि प्रदान गर्नेछ । त्यसपछि होटल द्वारिकामा प्रधानमन्त्री दाहालले मुखर्जीलाई रात्रिभोज दिने कार्यक्रम छ । रात्रिभोजमा थोरै विशिष्ट पदाधिकारी सहभागी हुने छन् । भ्रमणको अन्तिम दिन शुक्रबार भारतीय राष्ट्रपति बिहान १० बजे विमानबाट जनकपुर पुग्नेछन् । जानकी मन्दिरमा पूजाअर्चनापछि जनकपुर उपमहानगरपालिकाले आयोजना गर्ने नागरिक अभिनन्दनमा सहभागी हुने कार्यक्रम छ ।

मुखर्जी जनकपुरपछि विमानबाट पोखरा प्रस्थान गर्ने कार्यक्रम छ । पोखरास्थित होटल ग्रान्डमा राष्ट्रपतिको टोलीले दिवाभोज गर्ने कार्यक्रम छ । भारतीय भूपू गोर्खा सैनिकलाई मुखर्जीले सम्बोधन गर्नेछन् । पोखराबाट विमानमा भारतीय राष्ट्रपति त्रिभुवन विमानस्थल आउनेछन् ।

 

उनी शुक्रबार अपराह्न ४ः३० मा स्वदेश फर्किने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीले नै मुखर्जीलाई बिदाइ गर्नेछिन् । गत वर्ष नेपालले जारी गरेको संविधानमा भारतले स्वागत नगरी पाँच महिना नाकाबन्दी गरेको थियो । उसले हालसम्म नेपालको संविधानको स्वागत गरेको छैन । नाकाबन्दीपछि नेपालमा बिग्रिएको सम्बन्ध सुधारका लागि समेत भारतीय पक्षले राष्ट्रपति मुखर्जीको भ्रमण अवसरलाई उपयोग गर्ने देखिएको छ ।

भारतीय राष्ट्रपतिको १८ वर्षपछि नेपाल भ्रमण हुन लागेको हो । सन् १९९८ मा तत्कालीन भारतीय राष्ट्रपति केआर नारायणननपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण भएको छैन । नेपालबाट भने यो अवधिमा पूर्वराजा ज्ञानेन्द्र तथा गणतन्त्र घोषणापछि पूर्वराष्ट्रपति रामवरण यादवले पटक-पटक भारत भ्रमण गरेका थिए ।

आगामी ९ महिनापछि राष्ट्रपतिको कार्यकाल सकिन लागेका मुखर्जी विगतमा कांग्रेस आईका वरिष्ठ नेता थिए । विगतमा विदेशमन्त्री, रक्षामन्त्री र वित्तमन्त्रीको हैसियतमा उनले नेपाल भ्रमण गरेका थिए ।
मुखर्जीले तत्कालीन सात दल र विद्रोही माओवादीबीच २०६३ को दोस्रो जनआन्दोलनअघि १२ बुँदे समझदारी गराउन भूमिका खेलेको बताइन्छ ।

हालैको पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका नेपाल डेस्क प्रमुख सुधार दलेलाले मुखर्जीलाई नेपालका सबै राजनीतिक दलसित ‘राम्रो सम्बन्ध' भएको नेताका रूपमा अथ्र्याएका छन् । भारतीय विदेश मन्त्रालयले मुखर्जीको भ्रमणलाई ‘विशेष सद्भावना भ्रमण' भनेको छ । ‘नेपालसँगको सदियौँदेखिको सम्बन्धलाई अझै सुदृढ गर्ने भ्रमणको उद्देश्य हो', दलेलाले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.