मध्यरातमा काठ ओसार्दै तस्कर

मध्यरातमा काठ ओसार्दै तस्कर

सुर्खेतः चाडपर्वको अवसर पारेर जिल्लामा काठ तस्कर सक्रिय भएका छन् । तिहारको रौनक बढिरहेको बेलामा सुर्खेतका विभिन्न जंगलबाट तस्करले काठ जिल्लाबाहिर निकासी गर्न थालेको पाइएको छ । वन कर्मचारीहरूले शुक्रबार मध्यरातमा वीरेन्द्रनगरबाट काठसहित तस्करलाई समातेपछि यस्तो तथ्य बाहिर आएको हो ।

तस्करहरूले मध्यरातमा जंगलबाट काठ निकासी गर्दै गोदाममा लुकाउने र जिल्लाबाहिर निकासी गर्ने गरेका छन् । उनीहरूले मध्यरातमा काठ निकासी गर्न लागेको सूचना पाएपछि जिल्ला वन कार्यालयले रातिमा गस्ती सुरु गरेको छ । सोही क्रममा शुक्रबार राति काठसहित एकजना तस्कर पक्राउ परेका छन् । बाँकी पाँचजना तस्कर भने वनरक्षकको टोलीलाई देखेपछि काठ छाडेर भागेका थिए । उनीहरूको खोजी भइरहेको जिल्ला वन कार्यालयले जनाएको छ ।

शुक्रबार राति नौ बजेदेखि काठ तस्करको नाका ढुकेर बसेका वन कर्मचारीले बिहान तीन बजे वीरेन्द्रनगरको कोलडाँडाबाट स्थानीय योगेन्द्रसिंह शाहीलाई पक्राउ गरेका हुन् । जिल्लाको तरंगा र हरिहरपुर क्षेत्रबाट अवैध रूपमा काठ ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको हो ।

शाहीसँगै रहेका अन्य पाँचजना तस्कर भने भाग्न सफल भएको जानकारी जिल्ला वन अधिकृत हेमराज बिष्टले दिए । भागेकाहरूको पनि खोजी भइरहेको उनले बताए । रातको समय भएका कारण अरू तस्करहरू काठ फालेर भागेको उनको भनाइ छ । पछिल्लो समय वन कार्यालयले रातको समयमा गस्ती गरी पटकपटक अवैध रूपमा तस्करी हुँदै गरेको काठ र तस्करीमा संलग्न गिरोहहरूलाई पक्राउ गर्दै आएको छ ।

शनिबार मात्र वीरेन्द्रनगर १ बांगेसिमलस्थित एक घरबाट वन कार्यालयले अवैध काठ बरामद गरेको छ । सुराकीका आधारमा छापामार्दा सालको चिरान काठ २६ थान र कर्मा चिरान १ थान बरामद गरिएको विष्टले जानकारी दिए । तस्कर सक्रिय रहेकाले यसलाई रोक्न वन कार्यालयले दिन र रातमा समेत गस्ती गर्ने गरेको उनको भनाइ छ । जिल्लामा जंगल फँडानीसँगै व्यापक काठ तस्करी बढेपछि वन कर्मचारी हिजोआज रातभर जाग्राम बस्न थालेका छन् ।

जिल्लाको ग्रामीण क्षेत्रबाट वन फँडानी गरेर तस्करहरूले अवैध रूपमा सदरमुकाम वीरेन्द्रनगरका अतिरिक्त जिल्लाबाहिरसमेत काठ ओसार्ने गरेका छन् । काठ तस्करीमा गिरोह नै सक्रिय भएपछि जिल्ला वन कार्यालयले तस्करी नियन्त्रणका लागि नयाँ उपाय अपनाएको हो ।

तस्करहरूले जिल्लाको धुलियाबिट, लेखपराजुल र वामेखोला नाकाबाट रातको समयमा काठ ओसार्दै आएका छन् । तस्करी रोक्न वन कर्मचारीहरू ती नाकामा बस्ने गरेका छन् । यसैअन्तर्गत केही समयअघि मात्र इलाका वन कार्यालय छिन्चुले दशरथपुर ४ सिम्लेबाट दुई सय ३० क्युफिट चिरान काठसहित स्थानीय सर्कु शाहीलाई पक्राउ गरेको थियो । ‘रातिमा गरिने गस्तीले तस्कहरूको जालो तोडिँदैछ', जिल्ला वन अधिकृत बिष्टले भने, ‘तस्करलाई तह लगाउन हामी लागिपरेका छौं ।' तस्करहरूले भेरी नदीमा ट्युबको प्रयोग गरेर काठ तस्करी गर्न थालेपछि त्यहाँ पनि रातिको समयमा गस्ती सुरु गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.