उपचार नपाउँदा तीन वर्षदेखि साङलोमा

उपचार नपाउँदा तीन वर्षदेखि साङलोमा

विराटनगरः मानसिक सन्तुलन गुमेपछि मोरङको मधुमल्ला १ का ४९ वर्षीय तिलकबहादुर कार्कीलाई तीन वर्षदेखि फलामको साङ्लोमा बाँधेर राखिएको छ ।

घरछेउमा त्रिपाल टाँगेर बनाइएको टहरामा साङ्लोमा बाँधिएर बस्नुपर्दा उनको दैनिकी कष्टकर बनेको छ । उपचार अभावमा उनी छटपटाइरहेका छन् । आर्थिक अवस्था कमजोर हुँदा उनको उपचार हुन नसकेको हो ।

मानसिक सन्तुलन गुमेका कारण जे पायो त्यही गर्न थालेपछि सुरक्षाका लागि पनि साङ्लोमा बाँधेर राख्नुपरेको ७८ वर्षीय बुबा दलबहादुर बताउँछन् । ‘बुढेसकालको सहारा छोरालाई नै साङ्लोमा बाँधेर राख्नुपरेपछि समस्या थपिएको छ', उनले भने, ‘उपचार गर्ने पैसा नै छैन ।'

केही सहयोग पुग्ने आशा गरिएका छोराकै यस्तो दुर्गति देखेर उनी पीडामा छन् । ‘बुढेसकालमा मेरो स्याहार गर्ला भनेको त साङ्लोमा बाँधेर उसकै पो हेरचाह गर्नुर्‍यो', उनले भने, ‘कसरी रोग निको पार्ने भन्ने चिन्ता बढेको छ ।' हुन त तिलबहादुरको सामान्य उपचार गरिएको हो ।

तर, पैसा अभावका कारण प्रभावकारी उपचार पाउने स्वास्थ्य संस्थासम्म पुर्‍याउन नसकिएको दलबहादुरको भनाइ छ ।

तिलकबहादुर बिरामी परेपछि सम्पत्तिका नाममा एउटा घर र एक धुर मात्र जग्गा रहेको कार्की परिवारको बिल्लीबाठ भएको छ । ‘साङ्लोमा बाँधिएको छोरो रोएको, कराएको र चिच्याएको हेरेर बस्न बाध्य छु', दलबहादुरले भने, ‘उपचारमा कसैले सहयोग गरिदिने हो भने छोरो ठीक हुने आशा भने जीवितै छ ।'

छोराको उपचार कसरी र कहाँ लगेर गर्ने भन्ने कुराको हेक्का आफूसँग नभएको उनको गुनासो छ ।

‘मेरी श्रीमती पनि हालै खसिन् । काजकिरिया केही दिनअघि मात्र सकिएको हो । श्रीमती हुँदा छोराको रेखदेख र हेरचाह गर्न सजिलो थियो । अहिले समस्या भयो । के गर्ने, कसो गर्ने भइरहेको छ', उनले भने । आफ्नो पनि मृत्यु भएपछि छोराको हेरचाह गर्ने परिवारमा कोही नहुने उनले बताए ।

दलबहादुर आफै पनि बिरामी छन् । बुढ्यौलीले छोप्दै जाँदा पहिलेजस्तो बल छैन । उनी भन्छन्, ‘सकीनसकी छोराको स्याहार गर्दै छु । आफ्नो छोरोको उपचार भए छोराले आफै गरिखाने थियो ।'

स्थानीय दिपीन खड्काका अनुसार तिलक पहिले राम्रा थिए । पढेका पनि थिए । ‘एक्कासि के रोग लाग्यो पत्तो लगाउनै सकिएन', उनले भने । बिरामी हुनुअघि साह्रै असल तिलकबहादुर बिरामी परेर साङ्लोमा बाँधिनुपर्दा आफन्त र छिमेकीको मनसमेत अमिलिएको खड्काको भनाइ छ । ‘मानसिक सन्तुलन गुमे पनि सहयोग गर्ने कोही निस्किएनन्', उनले भने, ‘छिमेकीको पीडा हेरेर बस्नुको विकल्प भएन ।' तिलकबहादुरको उपचारका लागि न्यानो अभियानले पाँच हजार रुपैयाँ सहयोग गरेको छ ।

मानसिक सन्तुलन गुमेपछि तीन वर्षदेखि साङ्लोमा बाँधिएका मोरङको मधुमल्ला १ का ४९ वर्षीय तिलकबहादुर कार्की ।अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.