चैतमा फल्नुपर्ने स्याउ कातिकमै फलेपछि

चैतमा फल्नुपर्ने स्याउ कातिकमै फलेपछि

जुम्लाः सामान्यतया स्याउको बोटमा चैतमा फूल फुल्ने र फल लाग्ने गर्छ । तर, जुम्लामा भने यसपालि कात्तिकमा नै लटरम्म स्याउ फलेको छ । भदौमा मात्र बोटको स्याउ टिपेर बजारमा बिक्री गरेका किसान एक महिना बित्न नपाउँदै पुनः स्याउ फलेपछि आश्चर्यमा परेका छन् ।

आजसम्म वर्षमा एक पटक मात्र स्याउ फलेको देखेका यहाँका किसान यसपालि बेसिजनमा स्याउ फलेको भन्दै चिन्तितसमेत बनेका छन् । ‘स्याउ टिपेको एक महिना पनि भएकोे छैन, फेरि बगैंचाका सबै बोटमा नयाँ फल लाग्यो' जुम्ला चन्दननाथस्थित रोकायाबाडाका किसान प्रेमबहादुर रोकायाले भने, ‘आजसम्म यस्तो कहिल्यै भएको थिएन, यसपालि त टिप्न नपाउँदै बोटमा नयाँ स्याउ फल्यो । कतै यो अनर्थ त हुन लागेन ? '

रोकायाको बगैंचामा हिजोआज लटरम्म स्याउ फलेको छ । यसअघि चैतमा मात्र स्याउ फलेको देखेका र भदौमा टिप्दै आएका किसान कात्तिकमा पनि स्याउ फलेपछि आश्चर्यमा परेका छन् । जुम्लाका अधिकांश किसानले असोजमा स्याउ टिपेर बिक्री गरिसकेका छन् । केहीले भने अहिले बिक्री नभएको स्याउलाई काटेर चाना बनाउने गरेका छन् ।

स्याउ चैतमा फल्नुपर्ने हो तर यसपालि कात्तिकमा पनि फलेको खबर पाएका छौं । यो सबै जलवायु परिवर्तनको असर हो लक्षिराम महत, प्राविधिक सहायक, जिल्ला कृषि विकास कार्यालय जुम्ला ।

विगत २५ वर्षदेख स्याउखेती गर्दै आएका चन्दननाथ नगरपालिका किसान भक्त रोकाया कात्तिकमा पनि स्याउ फलेको देखेपछि आश्चर्यमा परेका छन् । उनले भने, ‘यो त अनौठो भयो, कात्तिकमा पनि स्याउ फल्यो । के हुन लाग्या हो खै ? भर्खरै स्याउ टिपेका थियौं, त्यही बोटमा फेरि नयाँ स्याउ फल्न लाग्यो ।'

स्थानीय किसानको बगैंचामा स्याउ मात्र होइन, आरुको बोटमा पनि हिजोआज फल लागेको छ । केही बोटमा भर्खर फूल फुल्न थालेको छ । वर्षमा एक पटकमात्र स्याउ फलाएका किसान यसपालि स्याउ टिपेको एक महिनामा नयाँ फल लागेपछि कृषि कार्यालयमा धाउन थालेका छन् ।

अधिकांश किसानले बेसिजनमा स्याउ फल्नु शुभ संकेत नभएको भन्दै गाउँमा पुग्ने नयाँ मान्छेसँग यसबारे जानकारी लिने गरेका छन् । जुम्लामा स्थानीय बासिन्दा बेसिजनमा कुनै पनि फूल फुल्नु र फल लाग्नुलाई अशुभ संकेतका रूपमा लिने गर्दछन् । यसपालि कात्तिकमा स्याउ फलेपछि उनीहरू त्रसित भएका छन् ।

यता जिल्ला कृषि विकास कार्यालय जुम्लाले भने जलवायु परिवर्तनको असरले कात्तिकमा स्याउ फलेको जनाएको छ । जिल्लाका अधिकांश क्षेत्रमा कात्तिकमा पनि स्याउ फलेको भन्दै कार्यालयले जुम्लामा पहिलाको तुलनामा तापक्रम वृद्धि भएको र कात्तिकमा पनि बोटमा स्याउ फलेको जनाएको हो ।

 

कार्यालयका कृषि प्राविधिक सहायक लक्षिराम महतले भने, ‘स्याउ चैतमा फल्नुपर्ने हो तर यसपालि कात्तिकमा पनि फलेको खबर पाएका छौं । यो सबै जलवायु परिवर्तनको असर हो, जुम्लामा पहिलेभन्दा तापक्रम बढेकाले यसो भएको हो ।'

विगतमा चिसो हुँदा वर्षमा एक पटक मात्र स्याउ फलेको भन्दै उनले यसपालि जलवायु परिवर्तनले टिप्न नपाउँदै नयाँ स्याउ फलेको हुन सक्ने दाबी गरे । ‘कात्तिकमा स्याउ फल्दैमा कुनै अनर्थ हुँदैन, जाडो बढेपछि अहिले फलेको सबै स्याउ आफैं खतम हुन्छ', महतले थपे, ‘पहिला असोजमै हिउँले ढाक्थ्यो, अहिले पुस नलागेसम्म हिउँ आउँदैन । तापक्रम बढेकाले पनि कात्तिकमा स्याउ फलेको हो, यसलाई अन्यथा लिनु हुँदैन ।'

अघिल्लो वर्षको तुलनामा यो वर्ष जुम्लामा स्याउको उत्पादन वृद्धि भएको छ । यस वर्ष जुम्लाको स्याउ बगैंचामा नै बिक्री भएको छ । पछिल्लो समय मोटर बाटो पुगेपछि व्यापारीले किसानकै बगैंचामा पुगेर स्याउ खरिद गरेका छन् । स्याउको व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि किसान पनि हर्षित र थप उत्साहित बनेका छन् ।

उनीहरूले सरकारले जन्म र मृत्युमा २० किलो चामल दिने घोषणा गर्नुभन्दा कर्णालीमा सिचाइँको व्यवस्था, बिउ र मलमा अनुदान दिन सरकारसँग माग गरेका छन् । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.