भेनेजुयलामा राजनीतिक संकट
काराकस भेनेजुयलाः भेनेजुयलाका प्रतिपक्षी दलहरूको गठबन्धन डेमोक्र्याटिक युनिटी राउन्डटेबल (एमयुडी) ले आह्वान गरेको हडताल र विरोध प्रदर्शनमा अपेक्षा गरेभन्दा कम जनसहभागिता रहेको छ ।
हडतालमा भेनेजुयली जनता सबै उत्रने भनी विपक्षीहरूले व्यापक प्रचारप्रसार गरे पनि हडतालमा अपेक्षा गरेभन्दा निकै कम जनता आएकामा राष्ट्रपति निकोलस मदुरो समर्थकहरूले खिल्ली उडाएका छन् ।
आफ्ना समर्थकहरूको एउटा र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति मदुरोले देशमा जबरजस्ती गर्न खोज्ने अल्पसंख्यक शासक (सांसदहरू) असफल भएकाले अब उनीहरूको दिन समाप्त भएको र शान्तिको विजय भएको भन्दै टिप्पणी गरेका छन् ।
जनमत संग्रहमा जाने लगभग सहमति भइसकेपछि एकाएक राष्ट्रपति निकोलस मदुरोद्वारा उक्त प्रक्रिया निलम्बन गरिएपछि राष्ट्रपतिलाई नै पदत्याग गर्न दबाव दिने उद्देश्यले एमयुडीले गत शुक्रबार १२ घण्टे आमहडताल गर्ने र त्यसपछिका दिनहरूमा लगातार आन्दोलन गर्ने थप कार्यक्रम पनि अघि सारेको थियो । एमयुडीको आह्वानको आफ्नै समर्थकहरू धेरैजसोले नेताको निर्देशन अवज्ञा गरेको देखियो ।
सरकारी कार्यालय, बैंक, यातायात सेवा, निजीक्षेत्रका व्यापारिक प्रतिष्ठान तथा बजारका पसलहरू सबैमा आम हडताल आह्वानको कुनै प्रभाव परेन । सदाझैं सबै कर्मचारी काममा लागेका र स्थिति पूर्णतः सामान्य रहेको भनी निर्माणमन्त्री ओस्वाल्डो भेराले निजी क्षेत्रको एउटा प्रसारण कम्पनी युनियन रेडियोलाई बताए ।
संसद्मा बहुमत रहेका प्रतिपक्षीहरूले राजधानी काराकसको मूल सडकमा शक्ति प्रदर्शन गर्दै आएका थिए । हाल मुलुकले बेहोर्नु परेको आर्थिक संकट राष्ट्रपति मदुरोकै कारण उत्पन्न भएको भनी उनीहरूले दोषारोपण गर्दै आएका छन् ।
सन् १९९९ देखि नै राष्ट्रपतिलाई हटाउन वा अभियोग लगाउन संसदीय मतदान प्रक्रियामा जाने कुनै संवैधानिक प्रावधान छैन भन्ने सरकारी पक्षको दाबी छ तर प्रतिपक्षीहरू यो भनाइ मान्न तयार छैनन् । जनताको साथ नभएकाले जबरजस्ती विद्रोह गरी आफूलाई अपदस्थ गर्ने प्रपञ्च रच्दै प्रतिपक्षीहरू षड्यन्त्रमा लागेको भनी राष्ट्रपति मदुरोले आक्रोश पोखेका छन् ।
राष्ट्रपति पदका पूर्व उम्मेदवार रहिसकेका हाल प्रतिपक्षी गठबन्धन एमयुडीका नेता हेनरिक क्याप्रिल्सले ट्विटरबाट एक सन्देश पोस्ट गर्दै हामीले आमहडताललाई जनताको ऐच्छिक विषय बनाएका थियौं भनी प्रतिपक्षी गठबन्धनको बचाउ गर्ने प्रयास गरेका छन् ।
उनले यसका साथै जनमत संग्रहको प्रक्रियालाई एकाएक राष्ट्रपति मदुरोले ‘कु’ द्वारा निलम्बन गरी देशको संविधानको धज्जी उडाएर पक्षाघात पारेको आरोप समेत लगाए । अब नोभेम्बर ३ का दिन विशाल जनसमूहद्वारा राष्ट्रपति भवन घेराउ गर्ने एमयुडीको अर्को विरोध कार्यक्रम रहेको छ ।
बिहीबार भएको विशाल प्रदर्शनबाट एमयुडीका नेताहरू निकै उत्साहित भएर थप बार्यक्रम आयोजना गरेका थिए । राष्ट्रिय सभाका सभामुख हेनरी रामोस अलुपले आमसभामा ‘बिहीबारको विशाल विरोध प्रदर्शनबाट भेनेजुयलाका जनताले राष्ट्रपति मदुरो अपदस्थ भएको घोषणा गरे भन्ने प्रष्ट भएको भनी बिहीबार घोषणा गरेका थिए ।
सभामुख अलुपसहित प्रदर्शनकारीहरूको एक विशाल जुलुस आगामी ३ नोभेम्बरका दिन पैदलयात्रा (र्याली) गर्दै राष्ट्रपति भवन कब्जा गर्न जाने कार्यक्रमको घोषणा गरिएको थियो । प्रतिपक्षी प्रदर्शनकारीहरूले राजधानी काराकसमा मात्र करिब १२ लाखभन्दा बढी जनता सडकमा उतार्ने दाबी गरेका थिए ।