सिरियामा अन्याय रोक्न हस्तक्षेप

सिरियामा अन्याय रोक्न हस्तक्षेप

पेरिसः हामीले अलेप्पोमा भइरहेको नरसंहार रोक्नुपर्छ । त्यसको मूल्य जे–जस्तो भए पनि हामीले व्यापक, निरुद्देश्य, अन्धाधुन्ध बमबारी र सर्वसाधारण नागरिक, मानवीय सहायता समूह र अस्पतालमाथि नियोजित रूपमा भइरहेका सबैभन्दा खराब कार्य रोक्नै पर्छ ।

कुनै समय सिरियाको सबैभन्दा बढी जनघनत्व भएको सहरका रूपमा परिचित रहेको अलेप्पो र त्यसको छिमेकी नगरहरूमाथि बसर अल–असदको सरकार र रूसले पनि प्रतिशोधपूर्ण तरिकाले बमबारी कार्यलाई निरन्तरता दिएका छन् ।

नरमपन्थी विद्रोहीले नियन्त्रणमा लिएको अलेप्पोका बाँकी अन्तिम भूभागमाथि हुने अवसरवादी आक्रमण, क्लस्टर र फोस्फोरस रसायनयुक्त बम आक्रमण र क्लोरिन रसायनका ब्यारेलहरू सरकारी हेलिकोप्टरबाट खसालिनुअघि नै हामीले यस्ता अमानवीय क्रियाकलाप समाप्त गर्ने आह्वान गर्नै पर्छ ।

अझै त्यहाँ अवस्थित साक्षीले वर्णन गरेका भयावह तस्बिरप्रति प्रजातान्त्रिक देशहरू अग्रस्थानमा रहेको विश्व चुप लागेर बस्न सक्दैन । ती तस्बिरहरूमा बालबालिकाका मुर्झाएका, सिसाले भरिएका शरीर, औषधिको अभावमा चिन्तित चिकित्सकहरूले हातखुट्टा काटिदिएका घाइतेको, सारायाभोमा २४ वर्षअघि भएको जस्तै पाउरोटी किन्न लामलागेका महिलालाई रकेट आक्रमणले क्षतविक्षत पारेको, भग्नावशेषमा जीवितहरूको उद्धारका क्रममा आक्रमणमा परेका स्वयंसेवीहरू, शक्तिहीन तुल्याइएका, फोहोरमा बाँचेका र जीवनलाई बिदा भनिरहेका मानवजातिका थिए ।

आगो र धुँवाको मुस्लोलाई हामीले अब निस्तेज बनाउनु पर्छ । हत्याराहरूका अद्वितीय रूपमा परिष्कृत हातहतियारबाट निस्कने ग्याँसको ज्वालाले बनेका बादल हामीले हटाउनुपर्छ । हामीले केही गर्नुपर्छ किनभने हामीले केही गर्नसक्छौं । यो नरसंहारका लागि, ती युद्ध अपराधका लागि र मानवता विरुद्धको अपराध ठहरिने विश्वका महत्वपूर्ण सम्पदाका रूपमा रहेका स्मरण र संस्कृतिका स्थल ध्वस्त पार्ने व्यक्तिहरू लुकेर बसेका छैनन् ।

सिरियाको सबैभन्दा आधुनिक र जीवन्त सहरलाई नष्ट गर्ने क्रममा उनीहरू स्पष्ट देखिनेगरी उभिएका छन्, आफूले गरेको कृत्यलाई लुकाउने कुनै प्रयास गरेका छैनन् । उनीहरू को हुन् भन्ने कुरा हामीलाई जानकारी छ ।

मेरो भनाइको अर्थ पक्कै पनि दमास्कसमा रहेको सत्ता हो, जसलाई हामीले मोमार अल–गद्दाफीलाई जस्तै धेरै वर्षअघि नै व्यवस्थापन गर्न सुरु गरिसक्नुपर्ने थियो । मेरो भनाइको अर्थ सो सत्ताका इरानी र सबैभन्दा प्रमुख रूसी प्रायोजकहरू पनि हुन् ।

विगत पाँच वर्षदेखि उनीहरूले संयुक्त राष्ट्रसंघबाट आउने समाधानको हरेक प्रयासलाई नियोजित ढंगबाट रोक्दै आएका छन् । रूसी हवाइजहाजहरू सर्वसाधरण नागरिकविरुद्ध असदको बृहत् अभियानमा खुलारूपमा सहभागी भएका छन् ।

रूसी विदेशमन्त्री सेर्गेइ लाभरोभले ‘आतंकवादी’को झूटो संज्ञा दिएकाहरूलाई ठेगान लगाउने नाममा क्रेमलिन सिरियामा पनि चेचेन्यामा लागू गरेको जस्तै नीति अभ्यास गर्ने कुरामा दृढ रहेको देखिन्छ ।

यी तथ्य दृष्टिगत गर्दा, कदम चाल्न आवश्यक छ वा छैन भन्ने कुरामा कुनै द्विविधा छैन । तर, तीन वर्षअघि राष्ट्रपति बाराक ओबामाले रासायनिक हातहतियार प्रयोग गरेकोमा (जसका लागि ओबामा आफैंले रातो रेखा कोरेका थिए) असदलाई सजाय नदिने निर्णय लिएपछिको नीतिलाई अमेरिकाले अवलम्बन गरेका कारण मलाई के डर छ भने अबको जिम्मेवारी पूर्णरूपमा नभए पनि मुख्यरूपमा युरोप माथि आएको हो ।

हाम्रो रोजाइको विषय हो । युरोपमा रहेका हामीले आफ्नो रातो रेखा कोर्दै रूसलाई यदि रेखा उल्लंघन गरेमा आफ्नो सिरियाली ताबेदारले गरेको अपराधका लागि जिम्मेवार राज्यका रूपमा त्यसविरुद्ध नाकाबन्दी बढाउने चेतावनी दिनसक्छौं । दुई वर्षअघि युक्रेनमा चलेको युद्ध नियन्त्रणमा लिन राष्ट्रपति फ्राँस्वा ओलँद र चान्सलर एन्जेला मर्केलले सफलतापूर्वक निर्माण गरेको ‘नोरमान्डी संरचना’जस्तै हामीले पनिवार्ता र दवाबका लागि कुनै मञ्च स्थापना गर्नसक्छौं ।

यसरी कदम चालेर हामीले आक्रमणकारीलाई सही ठाउँमा ल्याउन सक्छौं । वा संयुक्त राष्ट्रसंघका लागि फ्रान्सका राजदूत फ्राँस्वा देलात्तेले भने जस्तै हामीले केही पनि गर्न सक्दैनौं र अर्को सारायेवोमा सहमति जनाउनेछौं । हामीले अरब गुरनिकाको जोखिम उठानसक्छौं जहाँ सन् १९३६ मा गणतन्त्र स्पेनको आकाशमा जर्मन कन्डोर लिजियनको भूमिकामा रूसी विमानहरू हुनेछन् ।

त्यो अवस्थामा हामीले बदनामी मात्र कमाउँदैनौं, तर विस्टन चर्चिलले भनेजस्तै हाम्रा सबै विद्यमान जोखिमलाई ज्यादै उच्चतहमा बढाउने काम गर्ने छौं । त्यसको सुरुवात शरणार्थीहरूको लहरमा नाटकीय वृद्धिबाट हुनेछ, जसमध्ये धेरै विश्वको अहस्तक्षेपको प्रत्यक्षप्रभावको फलस्वरूप सिरिया छोडिसकेका छन् ।

हामी अब यो अवस्थामा आइपुगेका छौः अलेप्पो चारैतिरको घेरामा र खण्डहरको अवस्थामा, थकित र विश्वबाट परित्यक्त छ, तथापि निडर छ र अन्तिम समयसम्मपनि संघर्षरत छ र यो अलेप्पो हाम्रो लागि लज्जाको विषय हो, जिम्मेवारी पूरा नगरेको अपराध हो, हाम्रो अपमान हो, पशुबलका अगाडि हाम्रो आत्मसमर्पण हो, मानवतामा सबैभन्दा खराब स्थितिको हाम्रो स्वीकारोक्ति हो ।

अलेप्पो जो अब रुन छाडिसकेको छ, अन्तिम स्वास लिँदै पश्चिमलाई धिक्कार्दै छ । युरोप जो अग्रपंक्तिमा उभिएको छ, आफ्नो भविष्य र पहिचानको एउटा अंश गुमाउने खतरामा छ, किनभने आफूले सुरक्षा दिन नसकेका व्यक्तिहरू आज प्रवेश अनुमतिका लागि युरोपको सीमामा दवाब दिइरहेका छन् ।
(लेभी ‘नुभो फिलोसोप्सी’ आन्दोलनका एक प्रणेता हुन्) —रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.