‘सत्तापक्ष र प्रतिपक्षबीचको तिक्तता हट्यो, अब तीनवटै निकायको निर्वाचन हुन्छ’
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै संविधान संशोधन हुने दाबी गरेका छन्। उनले भाषा विवाद, प्रदेशको सीमाकंन, नागरिकता लगायतका सबै विषयमा सहमतिमै संविधान संशोधन हुने स्पष्ट पारे।
प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार तीनवटै निकायको निर्वाचन समयमै सम्पन्न गर्ने गरी लागिपरेको बताए। उनले भने,‘संविधान संशोधनका लागि मैले अहोरात्र खटेर काम गरिरहेको छु, साथै तीनवटै निकायको चुनाव समयमै गर्ने गरी सरकारले काम गरिहेको छ, यसको लागि मैले विशेष पहलकदमी लिएको छु।’
आइतबार रिपोर्टर्स क्लब नेपालको दबाबमूलक कार्यक्रमसहित पुगेको पत्रकारहरुको देउसी–भैलो टोलीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार तीनवटै निकायको चुनाव गर्न केन्द्रित भएको बताए। उनले सरकारले संविधानको सर्वस्वीकार्यता र राष्ट्रिय एकतामा समेत जोड दिएको बताए।
प्रचण्डले सत्ता पक्ष र प्रतिपक्षवीचको तिक्तता हट्दै गएकोले मुलुकमा अब निर्वाचन हुने वातावरण बनेको समेत विश्वास व्यक्त गरे। उनले भने,‘अहिले जुन खालको सत्ता पक्ष र प्रतिपक्षबीच समझदारी बन्दै गएको छ, यो अत्यन्तै सकारात्मक हो, अब मुलुकमा निर्वाचन हुने वातावरण बन्यो।’