सुमलका दुई कृति विमोचन
काठमाडौः सर्जक सुमलकुमार गुरुङका दुई कृति शनिबार एकैसाथ विमोचन गरिएका छन् ।
श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले काडमाडौंमा उनका कृतिको विमोचन गरेका हुन् । मन्त्रीले प्रवासमा बसेर पनि सर्जक सुमलले नेपाली भाषामा सिर्जना गरिरहेकोमा प्रशंसा गरे ।
यसबाट प्रवासमा बस्ने अरूले पनि प्रेरणा लिनुपर्ने बताए । सर्जक सुमल गुरुङ लामो समयदेखि बेलायतमा बसोवास गर्दै आएका छन् । ‘खोज्दै छु नेपाल’ कविता संग्रह र ‘फेरि हङकङको सेरोफेरो’ यात्रा संस्मरणको विमोचन कार्यक्रममा प्राध्यापक खगेन्द्र लुइँटेल र प्राज्ञ भाउ पन्थीले समीक्षात्मक टिप्पणी गरेका थिए ।
‘खोज्दै छु नेपाल’ कविता संग्रहमा मानवीय प्रेम र राष्ट्रिय प्रेम व्यक्त भएको धारणा व्यक्त गरेका थिए । यात्रा संस्मरणमा स्रष्टा गुरुङले जागिरका सिलसिलामा मकाउ र चीन गएका प्रसंग उल्लेख गरेको बताउँदै यस क्षेत्रका बारेमा जानकारी दिएको बताएका थिए ।
आधा दर्जन कृतिका स्रष्टा गुरुङले आफूले विभिन्न विधामा कलम चलाएको चर्चा गरेका थिए । उनले व्यस्त हुँदाहुँदै पनि सर्जकलाई सिर्जना गर्न कठिन नहुने बताए । काम गर्दागर्दै फुरेका विचार नै आफ्ना रचनामा छरिएको उनको भनाइ थियो ।
गुरुङले प्रत्येक वर्ष एउटा नयाँ कृति दिने बताए । कथाकार माया ठकुरीले प्रवासमा बसेर पनि साहित्यकार गुरुङले सिर्जना कर्मलाई निरन्तरता दिएको भन्दै खुसी व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा अनेसासका उपाध्यक्ष राधेश्याम लेकाली, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने र सर्जककी धर्मपत्नी सारादेवी गुरुङले पनि मन्तव्य व्यक्त गरेका थिए । र्काक्रममा कोने, स्रष्टा गुरुङ र उनकी धर्मपत्नीले अनेसासको अक्षयकोषका लागि एक÷एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।