सयपत्री फूलको व्यावसायिक खेती
धनकुटाः धनकुटा नगरपालिका वडा नं. २ सिप्तिङका जितेन्द्र राईलाई यतिबेला सयपत्री फूल टिप्न भ्याइनभ्याई छ । १० रोपनी जग्गामा सयपत्री फूल लगाएका राईको बारीमा शनिबार परिवारका सदस्यसहित ११ जना कामदार धमाधम फूल टिपिरहेका थिए । बीस वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएका राईले यो वर्ष डेढ लाख रुपैयाँ आम्दानी भइसकेको बताए ।
धनकुटा सदरमुकामका सिप्तिङ, कागते, लाकुरे, बेलहरा, भीरगाउँ, ओक्मालुङ, ठोका, कर्मीटार, पाख्रीबास नगरपालिका, चौबिसे क्षेत्रका राजारानी, मौनावुुधुक, भेडेटारका नाम्जे, महाभारतलगायत गाविसमा व्यावसायिक रूपमा सयपत्री फूलको खेती हुने गरेको छ । व्यावसायिक फूलखेतीमा जिल्लाका करिब दुई सय ५० किसान संलग्न छन् ।
घरायसी प्रयोजनका लागि करेसाबारीमा लगाइने सयपत्री फूलको खेती पछिल्लो समय व्यावसायिक रूपमा विस्तार हुन थालेको कृषि विकास कार्यालय धनकुटाका प्राविधिक सहायक टंक अधिकारीले बताए ।
तरकारी तथा खाद्य बालीमा भन्दा कम मेहनत पर्ने र सिजनमा राम्रो आम्दानी हुने भएकाले फूलखेती चाडपर्व मनाउन खर्चको जोहो गर्ने माध्यम बनेको उनले बताए । राईका अनुसार सिप्तिङका ४० घरपरिवारले तिहार लक्षित सयपत्री फूलको खेती गर्ने गरेका छन् । सिप्तिङको एउटा घरले सयपत्री फूल बेचेर कम्तीमा ५० हजार रुपैयाँ भित्र्याउने गरेको उनले बताए । त्यस्तै धनकुटा नगरपालिका वडा नं. ४ ठोकाका २२ घरपरिवारले सयपत्री फूलको खेती गर्छन् ।
यो वर्ष फूल बिक्रीबाट करिब ५ लाख रुपैयाँ भित्रिएको स्थानीय अगमशेर राईले बताए । ठोकामा सबै किसान सयपत्री फूल एकै ठाउँ भेला पारी पिकअपमा बिक्रीका लागि धरानको कृषि बजार लैजान्छन् । एक मुठोमा ६ थुंगा सयपत्री फूल हुन्छ । अगमशेर भन्छन्, ‘मुठाको ५० रुपैयाँसम्ममा बिक्री हुन्छ ।’
सोही वडाको कर्मीटारका बेणु राईले यो वर्ष फूल बेचेर १ लाख रुपैयाँ आम्दानी गरेको बताए । उनले हाइब्रिड जातका करिब १५ सय सयपत्री फूल रोपेका थिए । उनको फूलको करेसाबारीमा ढकमक्क सयपत्री फुलेको छ । कृषि विकास कार्यालय धनकुटाको तथ्यांकअनुसार जिल्लाको चार हेक्टर क्षेत्रफलमा सयपत्री फूलको खेती हुन्छ ।