कुलत छाडेर परिचय बदल्दै युवा
बेसीसहरः बेसीसहर १२ शान्तिटोलका नीतिराज तामाङसँग दुःख गर्ने हो भने नपुग्दो केही छैन् । बेलायतको पासपोर्ट र हङकङको ‘आईडी’ छ उनीसँग । पढाइमा पनि अब्बल नै छन् उनी । तर पद, प्रतिष्ठा र सम्पत्ति बिर्सिएर लागूपदार्थ दुव्र्यसनमा उनले लामो समय बिताए ।
परिवारका सदस्यले पटकपटक सम्झाउँथे तर उनले आफ्नो बानी छाडेनन् । पैसा नदिए चोर्ने, अरूसँग माग्दै हिँड्ने उनको लत नै बस्यो ।
यही पृष्ठभूमि बर्सौं बिताएका उनको परिचय अहिले बदलिएको छ । अहिले उनी अलैंची किसानका रूपमा आफूलाई चिनाएका छन्। बाँझाखेत ६, कुपलिङमा उनले ५० रोपनीभन्दा बढी क्षेत्रफलमा अलैंची खेती गरेका छन् । ‘नशाभन्दा बाहिर बस्दा छुट्टै आनन्द हुने रहेछ’, तामाङ भन्छन्, ‘अब व्यावसायिक अलैंची खेती गरेर स्वदेशमै केही काम गर्ने सोचाइमा छु ।’
बेसीसहर ११ कै ३४ वर्षीय करण गुरुङको पनि कथा उस्तैउस्तै हो । साथीसंगीको लहैलहैमा लागेर लागपदार्थको कुलतमा फसेका उनले पनि लामो समय लागूपदार्थ प्रयोग गरेर नै बिताए । विगत सम्झँदै करण भन्छन्, ‘त्यतिबेला हाम्रा लागि समाजले जे ठीक भन्छ, त्यो बेठीक लाग्थ्यो । जे नगर भन्छ, त्यही गर्न मन लाग्थ्यो ।’
कुलतमा लागेर गरिएका विगतका क्षण उनलाई अझै पनि ताजै सम्झना छ । ‘हामीले केके गरेनौं, पैसाका लागि जे गर्न पनि पछि परिन्नथ्यो’, उनले भने। त्यही पृष्ठभूमिका करण अहिले उनी आफूजस्तै लागूपदार्थमा परेका युवाका क्षेत्रमा काम गर्न थालेका छन् । कुलतमा लागेका युवालाई रगतजन्य रोगबाट जोगाउन गठन भएको लमजुङ सामुदायिक हेरचाह केन्द्रका कार्यक्रम संयोजक हुन् उनी ।
बेसीसहर ११ मनाङेचौताराकै प्रकाश घलेले पनि आफूलाई निकै बदेलेका छन् । कुनै बेला दुव्र्यसनको सिकार बनेका उनी अहिले बेसीसहरमै होटेल व्यवसाय गरेर बसेका छन् । मनाङेचौतारास्थित गंगापूर्ण होटेल सञ्चालन गरेका उनको विगत पनि निकै डरलाग्दो थियो ।
यी त केही प्रतिनिधि पात्र मात्रै हुन् । कुनै बेला नशाको आडमा समाजमा विकृति ल्याउन सक्रिय यहाँका १६ जना युवाको जोवन अहिले चामत्कारिक ढंगबाट बदलिएको छ । काठमाडौंको एक सुधारगृह केन्द्रमा लामो समय बिताएर आएका युवा अहिले जिल्लामा व्यवसाय र सामाजिक क्षेत्रमा क्रियाशील हुन थालेका छन् । ‘सुधारगृह र हाम्रो इच्छाशक्तिले बदलिएका छौं’, लमजुङ हेरचाह केन्द्रका कार्यक्रम संयोजक करण भन्छन्, ‘अब हामी समाजमा नयाँ परिचय बनाउन प्रयासरत छौं ।’
लागूपदार्थ दुव्र्यसन छाडेका १६ जना युवा मिलेर दुई वर्षअघि सुरु गरेको ‘लमजुङ फेलोसिप’ समूहबाट युवाहरू सामाजिक क्रियाकलापमा पनि चासो राख्न थालेका छन् । ‘हामीले गत साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा झन्डै १५ लाखबराबरको सामग्री सहयोग ग¥यौं’, पूर्व लागूपदार्थ प्रयोगकर्ता बुद्ध गुरुङ भन्छन्, ‘दसैंमा वृद्धा श्रमका ज्येष्ठ नागरिकलाई सहयोग ग¥यौं ।’
‘हामी त लागूपदार्थ प्रयोग गरेर बिग्रियौं’, केन्द्रका करण गुरुङ भन्छन्, ‘नयाँ पुस्ताका युवालाई लागूपदार्थ प्रयोग नगर्न सुझाव दिँदै आएका छौं ।’