तिहारको चौथो दिन आज गोवर्द्धन पूजा
काठमाडौं: यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धनको पूजाआजा गरी मनाइँदैछ ।
आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाईगोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।
आजै वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।
म्हः (आत्म) पूजा
नेवार समुदायमा आज म्हः (आत्म) पूजा मनाउने गरेका छन् । कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसहरुले आफ्नो म्हः (आत्म) पूजा पर्व मनाउने गर्दछन् ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
आत्मालाई सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।