सामाजिक काममा उपयोगी बन्दै देउसी भैलो
बेसीशहर: बजारमा शुरु भईरहेको देउसीभैलोमा बेसीशहर-१२, की पार्वती अधिकारी सक्रिय रुपमा सहभागि भईरहेकी छन् । शहरका हरेक टोल र गल्लीहरुमा 'भन भन भाई हो, भलौरे' मा उनले पनि स्वर मिसाउन थालेको दुई दिन बित्यो ।
'रमाईलोको लागि मात्रै देउंसी भैलो खेल्न आएको हैन', पार्वती भन्छिन-'देउसी भैलो खेलेर उठेको रकमले सामाजिक काममा सघाउने हाम्रो लक्ष्य छ ।'
उनीसंगैका साथीसंगीमात्रै होईनन, बालबालिका देखि बयस्कहरु सम्म मिलेर बनेको यो टोली अहिले बेसीशहरको हरेक बस्ती बस्तीमा देउसींभैलो खेल्दै हिंडेको छ । सडक मानवको उद्धार गरेर लमजुङमा पनि मानवसेवा आश्रम खोल्नका लागि अहिले देउसीभैलो खेलीरहेको छ ।
'हामी सडक आउन बाध्य बनेका मानवहरुको उद्धारका लागि काम गर्न रकम उठाईरहेका छौं, मानव सेवा आश्रम लमजुङका संयोजक किसान संगीत भन्छन,-'रकम संकलन गर्न हाम्रा लागि देउसीभैलो निकै उपयोगी बनीरहेको छ ।'
चिती-६, बरबोटबेसीमा रहेको जनजागृती निमाबिको बिद्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्नका लागि बरबोटबेसीका स्थानीयहरु पनि देउसीभैलो खेलीरहेका छन् । भैलो खेल्नका लागि उनीहरु चिती गाउँभर डुलेर बेसीशहर सम्म आईपुगेका छन् । 'चिती घर भई बेसीशहरमा बस्दै आएका ब्यक्तिको घरमा भैलो भईरहेको छ , चितीका स्थानीय बेदराज खनियाले भने, 'रकम संकलन गरेर जग्गा खरिद गर्ने हाम्रो उद्वेश्य छ ।'
रमाईलोको लागि मात्रै देउसीभैलो भवन निर्माण देखि अन्य सामाजिक क्षेत्रमा काम गर्ने उद्वेश्य राखेर धमाधम चलीरहेको छ । सामाजिक कार्यमा आर्थिक संकलन गर्नका लागि उपयोगी माध्यम बन्दै गईरहेको छ, देउसीभैलो ।
'देउंसी भैलो हाम्रो मौलिक परम्परा हो, बेसीशहरका बासुदेब सेडाई भन्छन,' परम्परालाई जीबन्त राख्न र समाजमा खड्कीएका आबश्यकता पुरा गर्न देउसीभैलोको प्रयोग राम्रो पक्ष हो ।'
मनोरञ्जनका लागि मात्रै खेलिने देउसीभैलो हिजोआज ठुलो समुह बनाएर खेल्न थालिएको छ । बालबालिका बालक्लब मार्फत, यूवाहरु यूवा क्ल्ब र आमाहरु आमा समुहमा आबद्ध भएर देउसी भैलो खेल्ने चलन बढ्दो छ ।
लक्ष्मीपुजाको दिनदेखि भैलो र भाईटिकाको दिनमा देउंसी खेल्ने परम्परा भएपनि हिजोआज शहरमा भने तिहार शुरु भएसँगै भैलो खेल्ने चलन पनि बढ्दै गएको छ ।