खोला किनारमा एक व्यक्ति मृत फेला
बुटवलः रुपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाको सिमानामा पर्ने बमहा खोलामा सोमबार एक व्यक्तिको शव फेला परेको छ ।
बुटवल उपमहानगरपालिका–५ गोलपार्कका ३५ वर्षीय वीरबहादुर गुरुङ बमाहा खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
एकाबिहानै खोलामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक वसन्त रानाका अनुसार शव केही भाग पानीमा डुबेको र केही भाग जमिनमा रहेको अवस्थामा फेला परेको थियो । मृतकको साथमा रहेको नेपाली नागरिकताका आधारमा उनको परिचय खुलेको थियो ।
मृतकको शवको प्रकृति हेर्दा शरीरका विभिन्न भागमा चोटपटक लागेको देखिएकाले कसैले कुटपिट गरी हत्या गरेर फालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको र थप अनुसन्धान जारीरहेको प्रहरी निरीक्षक रानाले बताए ।