भारतीय राष्ट्रपतिका लागि जनकपुरमा लाखौं खर्च
जनकपुरधामः भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणका क्रममा जनकपुर आउने भएपछि अहिले यहाँ नागरिक अभिनन्दनका लागि तयारी भइरहेको छ। मुखर्जीको नागरिक अभिनन्दनका लागि जनकपुरमा लाखौं खर्च गरी मञ्च व्यवस्थापन लगायको काम भइरहेको छ।
नागरिक अभिनन्दन जानकी मन्दिरमा गर्ने निर्णय गरिएपनि जानकी मन्दिरमा बढि मान्छेले प्रवेश पाउन नसक्ने हुनाले तिरहुतिया गाछिलाई अभिनन्दन स्थलको रुपमा प्रयोग गरिने निश्चित भएको छ। तिरहुतिया गाछि नगरको मध्य भागमा पर्ने र यहाँ फराकिलो स्थान रहेकोले सर्वसाधारण जनताले पनि भारतीय राष्ट्रपतिलाई हेर्न सक्ने हुनाले यो स्थानलाई अभिनन्दन स्थलको रुपमा तय गरिएको हो।
अभिनन्दन स्थल तोकिएको तिरहुतिया गाछि फोहोर र अव्यवस्थित रहेको र पुरानो मञ्च पनि जिर्ण भइसकेको अवस्थामा राष्ट्रपति मुखर्जीका लागि नयाँ मञ्च निर्माण काम भइरहेको छ।
यसैगरी सवारीसाधन पार्किङ्ग स्थल निर्माण, दर्शकहरुको लागि पन्डाल निर्माण, रंग रोगन सबैमा करिब २० लाख रुपैयाँभन्दा बढि खर्च हुने अनुमान गरिएको छ। करिब ४० देखि ५० मिनेटको राष्ट्रपति मुखर्जीको अभिनन्दनका लागि यतिधेरै रकम खर्चिन लागिएको हो।
अभिनन्दको पन्डाल व्यवस्थापनको जिम्मेवारी पाएका व्यवसायी शंकर साहले भने, ‘पंडालहरु निर्माणमा करिब १० लाख जति खर्च हुनेछ। मञ्चको सजावटका लागि भारतको कोलकताबाट फुलहरु आयात गरिने र त्यसमा करिब तीन देखि चार लाख रुपैयाँसम्म खर्च हुनेछ।’
मुख्यद्वार, साउन्ड सिस्टम सबैको खर्च पाँचदेखि ६ लाख रुपैयाँसम्म हुनेछ। मुखर्जीको लागि बनिरहेको नयाँ मञ्चमा अट्याच शौचालय पनि निर्माण भइरहेको छ।
यता, जानकी मन्दिरमा पनि विशेष सरसजावट र रंगरोगनको काम भइरहेको छ। मन्दिरमा राष्ट्रपति आउँदा उनलाई स्वागत गर्ने र पूजा प्रबन्धको सम्पूर्ण तयारी आफुहरुले गरिसकेको जानकी मन्दिरका छोटे महन्थ रोशनदास वैष्णवले बताए।
मुखर्जी आउँदा उनको स्वागतका लागि सबै कुराको व्यवस्थापन सकिँदा करिब ५० लाख रुपैयाँसम्म खर्च हुन सक्ने अनुमान रहेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख डिभिजन इन्जिनियर राजकिशोर साहले बताए। अहिले नगरक्षेत्रमा २४ औं घण्टा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीहरुले गस्ती गरिरहेका हुन्छन् भने नगरक्षेत्रमा सवारी प्रवेश गर्दा विशेष चेकजाँच समेत गर्ने गरिएको छ ।