नागरिक नबन्दाको पीडा खोतल्दै 'खै ओ म्हिथेवा'
बेसीशहरः गाउँका रोधी घर र अन्य त्यस्तै साँस्कृतिक कार्यक्रम । जहाँ हुने सानो 'भुल'ले दपर्ण जन्मन्छन् । दपर्ण कसको बच्चा हुन् ? उनका बुवा को हुन ? भन्ने पत्ता नलाग्दा उनले नेपाली नागरिकतानै पाउँदैनन् । नागरिकता नबन्दा रोजगार देखि जिन्दगीका हरेक यात्रा कठिनपूर्ण हुन्छ, उनको ।
दपर्णजस्तै अन्य केही पात्र छन गाउँमा, जो नेपाली भएर पनि नेपाली नागरिकता नपाउँदा अनेकौं कष्ट बेहोरेर बसीरहेका छन । त्यही कष्टपूर्ण अबस्था झल्काउँदै 'खै ओ म्हिथेवा' (आयो है ठुलो मान्छे) नामक गुरुङ चलचित्र निर्माण भएको छ ।
रमाईलोको भुलले जन्मिएका दर्पणलाई गाउँका कसैलेपनि आफ्नो छोराको रुपमा स्वीकार गर्दैनन । अन्तिममा उनलाई गाउँको मुख नबोल्नेको (लाटा) छोराको रुपमा भिडाईन्छ । जब उनी यूवा अबस्थामा पुग्छन, हरेक ठाउँमा नागरिकताकै खाँचो पर्छ ।
नागरिकता पाउने आफ्नो अधिकारका लागि उनी गाउँशहर जताततै डुल्छन् । गाउँका ठुलाबडा मान्छेलाई भेट्छन् । तर, कुनै शीप नलागेपछि उनी आफैं समाजसेवामा लागेर त्यस्ता ब्यक्तिको अधिकारका लागि लड्छन् । 'खै ओ म्हिथेवा' मा बिशेष गरी मुख नबोल्ने ब्यक्ति र उनको छोराले नागरिकता पाउन गरेको संघर्षमै केन्द्रीत छ ।
'नेपाली भएर पनि कहिलेसम्म अनागरिक भएर बस्नुपर्ने हो, 'खै ओ म्हिथेवा'का निर्देशक शुभाष गुरुङ भन्छन, ' थुप्रै संख्याका नेपालीहरुको त्यो साझा पिडा चलचित्रले झल्काउँछ ।' गाउँगाउँमा त्यस्तो समस्याबाट पिल्सीएका ब्यक्तिहरुको अबस्था झल्काउन आफुले यो चलचित्र निर्माण गरेको उनले बताए ।
'क्लाईमेक्स आर्ट'को तेस्रो र ओस्कारको बाह्रौं प्रस्तुतीमा आएको यो चलचित्र नेपाली भाषा र गुरुङ संस्कृतिमा आधारीत छ । यो चलचित्र १५ बर्ष अगाडी निर्माण भएको गुरुङ चलचित्र 'म्हिथेवा' को दोस्रो भाग हो ।
चलचित्रमा निर्माता रोशनी गुरुङ छन भने कलाकारमा शुभाष गुरुङ आनन्द गुरुङ, मञ्जु गुरुङ, उर्मिला गुरुङ, रेशम गुरुङ, गोपाल गुरुङ, खिममायाँ गुरुङ छन् ।
करिब २५ लाख रकमको लगानीमा निर्माण भएको यो चलचित्रको लेखन÷निर्देशन शुभाष गुरुङले नै गरेका छन् । गुरुङका चलचित्रमा स्थापित कलाकारका रुपमा चिनीएका उनले २ दर्जन भन्दा बढी गुरुङ चलचित्रमा अभिनय गरीसकेका छन् । चलचित्रमा संगीत आरके गुरुङले भरेका छन् ।
लमजुङको बेसीशहर, तनहुँको खहरे, भन्सार लगायतका ठाउँमा छायाङ्कन गरीएको यो चलचित्रलाई मंसिर महिना भित्रमा बजारमा ल्याउने तयारी गरीएको छ ।