तिहारको हुर्रा नाच हेर्न गएका दुई युवकको हत्या
मोरङः मोरङमा दुई जना युवकको हत्या भएको छ। मगर समुदायले मनाउने हुर्रा नाच हेर्न गएका दुई किशोरको गएराति मोरङको लेटाङभोगटेनी नगरपालिका–५ मा हत्या भएको हो।
गएराति हुर्रा नाच हेर्ने क्रममा युवाहरुको समूहबीच विवाद हुँदा भएको खुकुरी प्रहारबाट मोरङ केराबारी–९ का १५ वर्षीय दिपेन गुरुङ र सोही ठाउँका १८ वर्षीय सनम गुरुङको मृत्यु भएको हो।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मंगलबार बहिान साढे ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक गणेशमान श्रेष्ठले जानकारी दिए।
घटना लगत्तै खुकुरी प्रहार गर्ने युवाहरु त्यहाँबाट फरार भएका थिए। खुकुरी प्रहार गर्ने व्यक्तिहरुको पहिचान हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।