आयस्रोतको राम्रो माध्यम बन्दै रातोमाटो
म्याग्दीः बेनी नगरपालिका–१ ढाँडथर निवासी विपत्र समुदायले रातोमाटोलाई आयस्रोतको मुख्य आधार बनाएका छन् ।
आफ्नै घरनजिकको पाखामा खेर गइरहेको रातोमाटोलाई उनीहरूले आम्दानीको स्रोत बनाएका हुन् । रातोमाटोलाई पाथी र मानाको हिसाबमा बिक्री गर्दै आएका रत्नेचौरकी मिना विकले पाथीको ५० रुपैयाँ देखि ८० रुपैयाँ सम्ममा बिक्री गर्ने गरेको बताउँछन् ।
त्यस्तै घर खर्च टार्न र बालबालिकाको पढाइ खर्च जुटाउनका लागि पनि माटोको व्यवसाय सहज भएको सोहीठाउँका कृष्णवहादुर विकले बताए ।
'दिनभरी रातोमाटोको खाल्डोमा बसेर रातोमाटो निकाल्छौं र बजारमा ल्याएर बिक्री गर्छौ, आम्दानी पनि राम्रै छ', रातोमाटो बिक्री गर्ने क्रममा सदरमुकाम आएकी मिनाले बताइन् ।
रातोमाटो निकाल्ने ठाउँमै आउने ग्राहकलाई २० रुपैयाँमा र सदरमुकाम पुर्याएको माटोलाई एक पाथीको ५० रुपैयाँ देखि ८० रुपैयाँ सम्ममा बेच्ने गरेको उनको भनाइ छ ।
विगत सात वर्षदेखि माटो बिक्री गर्दै आएकी तिलमाया विकले माटो बिक्री गरेर नै महिनामा चार हजारदेखि पाँच हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको र यसबाट नै आफ्ना छोराछोरीको पढाइ खर्च र घर व्यवहार टार्ने गरेको बताए ।
म्याग्दीकै रातोमाटोको लागि प्रसिद्ध मानिने सोही स्थानका करिब २० घर परिवारले यो पेसालाई प्राथमिकता दिँदै आएका छन् । दैनिक माटो बिक्री गरेका कारण ढाडथरमा जताततै माटोका खाल्डा खेखिन्छ ।