एशियाली मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गृहमन्त्री निधी दिल्लीमा
नयाँदिल्लीः प्रकोप जोखिम न्युनीकरणकालागि एशियाली मुलुकको मन्त्रीस्तरीय छैठौं सम्मेलनमा भाग लिन गृहमन्त्री विमलेन्द्र निधीसहितको टोली दिल्ली पुगेको छ ।
दीगो विकासकालागि प्रकोप जोखिम न्युनिकरणमा एशियाली मुलुकहरुबीच साझा रणनीति बनाउने उद्धेश्यकासाथ आयोजना हुन लागेको सम्मेलनमा भाग लिन मन्त्री निधीको नेतृत्वमा चार सदस्यीय प्रतिनिधीमण्डल दिल्ली पुगेको हो ।
सम्मेलनको औपचारिक उदघाटन विहिबार हुनेछ । उदघाटनको पहिलो सत्रमा हुने मन्त्रीस्तरीय छलफलमा मन्त्री निधी सहभागी हुने कार्यक्रम छ । प्रकोपको जोखिमबाट हुने मृत्युदरका साथै भौतिक क्षतिको न्युनिकरणकालागि स्थानीय सरकार, निजी क्षेत्र र सरोकारबाला पक्षहरुसँगको सहकार्य गर्ने उद्धेश्य अनुरुप तयार पारिएको सेंडाइ घोषणापत्रका साझा अवधारणालाइ थप प्रभावकारी बनाउने बारेमा सम्मेलनमा छलफल हुनेछ ।
छलफलमा गृहमन्त्री निधिले नेपालमा अघिल्लो वर्ष गएको भकम्प, त्यसबाट भएको क्षति तथा पुननिर्माणमा नेपालको अनुभवका बारेमा जानकारी गराउनेछन् ।
साँझ रात्रिभोजमा सहभागी हुने्
गृहमन्त्री बिमलेन्द्र निधी बधबार साँझ भारतीय गृहमन्त्री राजनाथ सिंहले एशियाली मुलकका मन्त्रीहरुकालागि आयोजन गर्न लागेको रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ ।
सेंडाइ फ्रेमवर्क विपत्ति जोखिम न्युनिकरणकालागि जापानको सेंडाइमा दुई हजार पन्ध्रमा सम्पन्न संयुक्त राष्ट्रसंघको तेश्रो विश्व सम्मेलनले पारित गरेको १५ बर्षे विकासको घोषणापत्र हो ।
जापानको मियागी प्रान्तको राजधानी सेडाइमा सम्पन्न सो सम्मेलनमा विपत्ति जोखिम न्युनिकरणका विभिन्न सत्रवटा लक्ष्य निर्धारण गरेर चार प्राथमिकताका क्षेत्रमा काम गर्ने सहमतिसहित एक सय ८७ मुलुकका प्रतिनिधीले घोषणापत्रमा हस्ताक्षर गरेका थिए । सेडाइ फ्रेमवर्कमा हस्ताक्षरपछि यो पहिलो मन्त्रीस्तरीय सम्मेलन हो । भारतीय गृह मन्त्रालयको आयोजनामा हुन लागेको सम्मेलन संयुक्त राष्ट्र संघको जोखिम न्युनिकरण कार्यक्रमको सहयोगमा हुन लागेको हो ।