प्रहरी चौकीमा गाउँलेकै आक्रमण

प्रहरी चौकीमा गाउँलेकै आक्रमण

सुर्खेतः सुर्खेतको आग्रीगाउँ गाविसस्थित प्रहरी चौकीमा स्थानीयले आक्रमण गरेका छन् । मंगलवार राति स्थानीय देउली प्रहरी चौकीमा आक्रमण भएको हो । चौकी कव्जा गरेर गाउँलेले प्रहरीका सवै हतियारसमेत लुटेका हुन् । चौकीमा आक्रमण भएपछि सदरमुकाम वीरेन्द्रनगरबाट राति १२ बजे प्रहरी प्रमुख एसपी मोहन आचार्यको नेतृत्वमा घटनास्थलमा थप प्रहरी टोली पुगेको छ ।

आग्रीगाउँसँग सिमाना जोडिएको छिमेकी गाविस काफलकोटका युवा र प्रहरीबीच मंगलवार दिउँसो विवाद भएको थियो । उक्त विवाद समाधानका लागि स्थानीय बासिन्दा र प्रहरीबीच विवादमा मुछिएका प्रहरी जवान नरबहादुर विकलाई सरुवा गर्ने सहमति भएको थियो । तर, उक्त सहमति प्रहरीले नमानेको भन्दै करिव ३० जनाको संख्यामा स्थानीय बासिन्दा घरेलु हतियारहरु बञ्चरो र आँसी बोकेर प्रहरी चौकीमा आक्रमण गर्न पुगेका थिए । सोही क्रममा उनीहरुले प्रहरी चौकीमा तोडफोड गर्नुका साथै प्रहरीका सवै हतियारसमेत खोसेर लिएका छन् ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतकाअनुसार मदिरा सेवन गरेका स्थानीय युवा र प्रहरीबीच विवाद भएको थियो । उक्त विवादपछि स्थानीयले घरेलु हतियारसहित राती चौकीमै आक्रमण गरेका हुन् । क्षेत्रीय प्रहरी प्रमुख डीआईजी माधवप्रसाद नेपालले चौकीमा आक्रमण भएको र हतियारसमेत खोसिएको पुष्टी गरे । यद्यपी उनले खोसिएका सबै हतियार प्रहरीले बुधवार नियन्त्रणमा लिइसकेको र सात जनालाई पक्राउ गरिएको बताए ।

प्रहरीकाअनुसार गाउँलेले चौकीबाट तीनवटा राइफल, एउटा पेस्तोल र एक सय ५० राउण्डभन्दा बढी गोली लुटेका थिए । प्रहरीले सवै हतियार फेला पारिएको दावी गरे पनि एउटा पेस्तोल र ५० राउण्ड गोली भने हालसम्म फेला नपरेको श्रोतले जनाएको छ । यस्तै केही थान हत्कडीसमेत फेला परेका छैनन् ।

घटनापछि अवस्था तनावपूर्ण बनेको छ । अहिले घटनास्थलमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको स्थानीय लोकबहादुर शाहीले जानकारी दिए । उनकाअनुसार प्रहरीले फेला नपरेका हतियार तत्काल बुझाउन स्थानीय बासिन्दासँग हारगुहार गरिरहेका छन् । घटनामा संलग्न अधिकांश स्थानीय बासिन्दा फरार रहेका कारण पनि हतियार फेला नपरेको बताइएको छ ।

लुटिएका केही हतियार स्थानीय खोला र गाउँलेको घरमा फेला पारिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले काफलकोट–९ का केशरसिंह ठकुरी, तिलक सिंह, प्रेम खत्री, चित्रबहादुर केसी र चन्द्रबहादुर सिंहलगायत सात जनालाई नियन्त्रणमा लिइएको डीआईजी नेपालले जनाए । प्रहरीले घटनालाई सामान्य बनाउन पहल भइरहेको जनाएको छ । गाउँलेले चौकी नै कव्जामा लिएपछि प्रहरीले घटनालाई समान्य बनाउन सहमतिका लागि पहल गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.