यस्ता छन् अमेरिकी राष्ट्रपतीय निर्वाचनका रोचक तथ्य
वासिङ्गटन: आगामी ८ नोभेम्बरका दिन हुन गै रहेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको मिति आउन अब एक हप्ता मात्र बाँकी छ ।
यसै सन्दर्भमा अमेरिकाका बिभिन्न स्थानबाट धमाधम रोचक तथा ताजा समाचारहरु आइरहेका छन् ।
सान् मार्कोस, टेक्सासः लामो समयसम्म संयुक्त राज्य अमेरिकी राजनीतिमा होमिई धेरै सदस्यहरु उच्च पदसम्म पुग्न सफल शक्तिशाली राजनीतिक परिवार वृत्तका एक मात्र जीवित सदस्य जर्ज पि। बुशले उनका परिवारवृत्तका अन्य सदस्य तथा नातेदारहरुले हिलारी क्लिन्टनलाई मत खसाल्ने ठूलो सम्भावना रहेको बताउँछन् ।
जर्ज पि. बुश रिपब्लिकन पार्टीका हुन् र उनी भने आफ्नो राजनीतिक धर्म त्याग नगरी जो सुकै उठे ता पनि रिपब्लिकन पार्टीकै उम्मेदवारलाई ‘आस्थाको मत’ दिने बताउँछन् । जर्ज पि. बुशका हजुरबा – जर्ज एच. डब्लु. बुश र काका जर्ज डब्लु. बुश दुबैजना संयुक्त राज्य अमेरिकाका भूतपूर्व राष्ट्रपति हुन् ।
सान् मार्कोस, टेक्सासमा रिपब्लिकन पार्टीद्वारा आयोजित एक सानो पैदलयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै जर्ज पि बुशले उपरोक्त अभिब्यक्ति दिएका थिए ।
यस्तो भनाईप्रति रिपब्लिकन पार्टीका समर्थक एवं पत्रकारहरुले असन्तुष्टि प्रकट गरी खास कुरो के हो ? भनी दवाव दिँदा ‘हजुरबा र काकाको पालामा कुरा बेग्लै थियो, तर अहिले परिस्थिति बदलिएको छ । इमान्दारीपूर्वक भन्नुपर्दा मेरै परिवारवृत्तका अन्य सदस्य र नातेदारहरुको मन भाँडिएजस्तो लागेको छ, तर क्लिन्टनलाई नै मत खसाल्ने पक्कापक्की हो भन्ने चाहिँ नठान्नोस् है’ भनी उनले चलाखीपूर्वक आफ्नो बचाउ गरे ।
जर्ज पि. बुश टेक्सास राज्यका वर्तमान भूमिक्षेत्र आयुक्त (ल्यान्ड कमिसनर) हुन् । उनका पिता जेब पि। बुश फ्लोरिडा राज्यका पूर्वगभर्नर हुन् ।
राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदबारी दिन जेब पि। बुशले पनि कम्मर कसेका थिए । तर, पार्टीको आन्तरिक चयन प्रकृयामा वर्तमान उम्मेदबार डोनाल्ड ट्रम्पसँग यिनले हार खानु परेको थियो ।
फ्लोरिडाः पछिल्ला दिनहरुमा सर्वाधिक शक्तिशाली हुँदै आएकी उम्मेदबार हिलारी क्लिन्टनले आफ्नो शुद्ध आय व्यय सार्वजनिक गरी राज्यप्रति करको दायित्व हिसाब राफसाफ गर्न नचाहने वा नगर्ने डोनाल्ड ट्रम्पले निवार्चन अगाडि करको हिसाब रफादफा नगरे उनलाई ‘अमेरिकी जनताले क्षमा’ गर्न नसक्ने बताएकी छिन् ।
फ्लोरिडामा आयोजित एक आमसभालाई सम्बोधन गर्ने क्रममा आफ्नो निकटतम प्रतिद्वन्दी उपर खनिँदै हिलारीले ‘ट्रम्पले रुसको हितका लागि के कस्तो गोप्य कुराकानी मिलाइरहेका हुन् र र सम्पत्तिको ठूलै अंश परोपकार संस्था, दान, दातव्यमा गएको भन्ने उनको भनाइ के कति सत्य हो, यी सबै थाहा पाउन आफूलाई तीव्र इच्छा भएको, बरु यस आसभामा उपस्थित धेरैजसोले ट्रम्पलेभन्दा सम्भवतः बढ्तै प्रतिब्यक्ति संघीय कर तिर्छन्, बुझाउँछन् होला तर ट्रम्पको के चाला हो ?’ भनि तीतो पोखिन् ।
उच्च ओहोदासीन वा उल्लेख्य आय आर्जन गर्ने व्यक्तिले आफ्नो आम्दानी तथा देयकर दायित्वको हरहिसाब इमान्दारीपूर्वक सार्वजनिक गरी राज्यप्रति बफादार आर्थिक अनुशासनमा रहने दशकौं वर्ष पहिलेदेखिको अमेरिकी सुन्दर परम्परालाई तोड्दै ट्रम्पले के गर्न खोजेका हुन् सो बुझिनसक्नुको भएको हिलारीले आरोप लगाइन् ।
यता, ट्रम्प भने आफ्नो आय,ब्यय विवरण निस्की नसकेको, कर दायित्व निर्धारण (एसेस्मेन्ट) भइनसकेको र लेखापरीक्षण चालू रहेकोले सो यकीन नगरी सार्वजनिक गर्न नमिल्ने भनी उम्किरहेका छन् ।
तर, कर विशेषज्ञहरु लेखापरीक्षण हुँदाहुँदैको अवस्थामा पनि कर दायित्व विवरण सार्वजनिक गर्न नमिल्ने, नहुने कुनै कारण नै नभएको दावी गर्छन् ।
यस्तै परिस्थितिलाई सम्बोधन गर्दै हिलारीले ट्रम्पलाई आफ्नो ब्यापारीक हरहिसाब, खातापाता ठीकसँग राख्न नसक्ने अल्छि ‘पोस्टर ब्वाय’ को संज्ञा दिई यस्तै यस्ता ब्यक्तिहरुले गलत रबैया राख्दै गएमा हाम्रो अर्थतन्त्र गलत दिशातर्फ जाने ब्यङ्ग गरिन् । एजेन्सी