साझेदारी तीनै देशको हितमाः प्रधानमन्त्री

साझेदारी तीनै देशको हितमाः प्रधानमन्त्री

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले चीन, नेपाल र भारतबीच त्रिदेशीय साझेदारीबाट तीनवटै देशले लाभ लिनसक्ने बताएका छन् ।

भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका अवसरमा इन्डिया फाउन्डेसन, नीति अनुसन्धान प्रतिष्ठान र नेपाल सेन्टर फर कन्टेम्पोररी स्टडिजले काठमाडौंमा आयोजना गरेको नेपाल—भारत सम्बन्धमा नयाँ आयामको खोजी विषयक दुईदिने गोष्ठी बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले साझेदारी तीनै देशको हितमा रहेको बताए ।

‘नेपाल भारत र चीनजस्ता उदीयमान शक्तिका बीचमा रहनु अवसर हो', उनले भने, ‘आर्थिक समृद्धितर्फ दू्रतगतिमा बढिरहेका भारत र चीनबाट नेपालले लाभ लिन सक्छ ।'

नेपालमा नयाँ संविधान जारी भएपछि भारतले गत वर्ष लगाएको पाँचमहिने नाकाबन्दी र त्यसले दुई देशबीचको सम्बन्धमा ल्याएको तिक्ततातर्फ लक्षित गर्दै प्रधानमन्त्रीले नेपाल र भारतबीच यदाकदा असमझदारी र बेमेल हुने गरे पनि त्यसले दुई देशबीचको सम्बन्धको आधार हल्लाउन नहुने बताए । उनले भने, ‘विगतमा केही असमझदारी र बेमेलका शृंखला देखिएका थिए तर ती असमझदारी र बेमेलका शृंखलाका कारण जनस्तरको सम्बन्ध हल्लिनु र सद्भाव बिग्रनु हुँदैन ।'

भारतसँग नेपालको देश—देशबीचको मात्र नभई जनस्तरको सम्बन्ध रहेको भन्दै उनले सम्बन्धलाई अझ सुदृढ र सशक्त बनाउन गम्भीरतासाथ लागेको बताए । भारतबाट नेपालले उच्च प्रविधि, दक्ष जनशक्तिको प्रसारको आशा गरेको उनले प्रस्ट पारे ।

नेपालको समृद्धि र विकासमा भारतीय सहयोगको अपेक्षा गरे । भारतले नेपालको शान्ति र विकासमा विगतमा गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा सहयोग अझ प्रभावकारी हुने दाहालको विश्वास थियो । भारतसँग बढ्दो व्यापार घाटा कम गर्न भारतीय पक्षबाट पहलकदमी हुने उनले विश्वास लिए ।

दुई देशले गठन गरेको प्रबुद्ध समूहले द्विपक्षीय हितका लागि वृहत छलफल गरी निष्कर्ष निकाल्ने दाहालको विश्वास थियो । उनले सरकारस्तरमा मात्र नभई जनस्तरसम्म सम्बन्ध र द्विपक्षीय हितको विषय प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।

भारतीय जनता पार्टीका महासचिव तथा इन्डिया फाउन्डेसनका निर्देशक राम माधवले नेपालमा सबैलाई चित्त बुझ्नेगरी संविधान कार्यान्वयन होस् भन्ने भारतको चाहना रहेको बताए । भारत नेपालको समृद्धि, शान्ति र दिगो विकासको पक्षमा रहेको उल्लेख गर्दै सहमतिबाट त्यस्तो लक्ष्य हासिल हुने उनले दाबी गरे ।

नेपाल र भारत मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, ‘हामी मिलेर अगाडि बढौं । दुवै देशको हितको रक्षार्थ मिलेर जाऔं ।' उनले नेपाल र भारतबीचको सम्बन्ध हिमालभन्दा अग्लो र भारतीय सागरभन्दा गहिरो रहेको बताए । गोष्ठीको समापन बिहीबार अपराह्न भारतीय राष्ट्रपति प्रणव मुखर्जीले गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.