क्लिन फिडले सम्पूर्ण सञ्चारमाध्यममा अनुकूल प्रभाव पार्नेछ

क्लिन फिडले सम्पूर्ण सञ्चारमाध्यममा अनुकूल प्रभाव पार्नेछ

नेपालमा हालैमात्र विज्ञापनरहित अर्थात क्लिन फिड नीतिको तर्जुमा भएको छ । राष्ट्रिय आमसञ्चार नीतिसँगै २०७३, श्रावण ७ गते तर्जुमा भएको उक्त क्लिन फिड नीतिमा टेलिभिजन सिंग्नल वितरक तथा केबल टेलिभिजन च्यानलमा विज्ञापनरहित नीति अबलम्बन गर्ने व्यवस्था रहेको छ । क्लिन फिड भनेको के हो, यो नीतिको उद्देश्य, यसले नेपाली विज्ञापन क्षेत्रमा पार्ने प्रभाव, आउँदो आर्थिक वर्षमा लागू हुने गरी व्यवस्था गरिएको उक्त नीतिको कार्यान्वयनको पक्षका विषयवस्तुमा केन्द्रित रहेर विज्ञापन संघका पूर्व अध्यक्ष, क्लिन फिड कमिटिका संयोजक एवं वेलकम ग्रुपका अध्यक्ष निर्मलराज पौडेलसँग अन्नपूर्ण पोस्टकर्मीले गरेको कुराकानीः

क्लिन फिड कस्तो अवधारण हो ?

टेलिभिजन च्यानलहरूले विज्ञापनरहित सामग्री प्रस्तुत गर्ने अवधारणा क्लिन फिड हो । हामी अहिले एडभरटाइजिङ फिडमा छौ जहाँ विज्ञापनसहितका विदेशी च्यानलमा कार्यक्रम हेर्नुपरेको छ । तर यदि यो कार्यन्वयनमा आउन सकेको खन्डमा हामीले हेर्ने गरेका विदेशी च्यानलमा विज्ञापनरहित सामग्री मात्रै आउने छ ।

क्लिन फिडको कार्यान्वयनपछि नेपाली विज्ञापनको क्षेत्रमा के कस्ता फाइदा हुनेछ ?

प्रमुख कुरा नेपाली विज्ञापन बजारले अन्तर्राष्ट्रिय रूपमै प्रतिस्पर्धा गर्ने बाटो खुल्ने छ । साथै हामीले गरेको सर्वेक्षणको आधारमा यदि बहुराष्ट्रिय कम्पनीको विज्ञापन नेपालमै उत्पादन गर्ने प्रवृत्ति वढेर गएको खन्डमा हाल वार्षिक ५ अर्बको हाराहारीमा रहेको विज्ञापन बजार दोब्बरले वृद्धि हुनेछ । यसबाट टेलिभिजनहरूको कूल वार्षिक आय ५० प्रतिशतले वृद्धि हुनेछ । साथै एफएम, रेडियो, पत्रपत्रीका, होर्डिङ बोर्ड, आउटडोर विज्ञापनको कारेबारमा समेत उल्लेख्य वृद्धि हुनेछ । यसले विज्ञापन व्यवसायीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सृजना गर्नुका साथै प्रविधिले प्रधानता पाउनेछ ।

क्लिन फिड लागू हुनु नेपालका लागि कत्तिको महत्वपूर्ण छ ?

विदेशी च्यानलहरूले निर्वाध रूपमा विज्ञापनसहितको सामग्री प्रस्तुत गरिरहेका छन् । हामीले शुल्क तिरेर हेर्ने च्यानल क्लिन फिड अर्थात् बिना विज्ञापन हुनुपर्नेमा एडभरटाइजिङ फिड हेर्नु परिरहेको छ जसले गर्दा ग्राहक र राजस्व दुवैमा यसले असर पारिरहेको छ ।

नेपाली उपभोक्ताहरूले केबल वा डाइरेक्ट टु होम (डीटीएच) लाई शुल्क तिरेर विदेशी विज्ञापन हेर्नुपर्ने बाध्यता छ भने बहुर्राष्ट्रिय कम्पनीहरूले आफ्नो विज्ञापन विदेशी च्यानलबाट नेपाली बजारमा गरिरहेकाले यसले समग्र नेपाली मिडियाको वृद्धिमा प्रभाव पारिरहेको छ ।

विशेषतः भारतीय भूमिबाट प्रसारित अधिकांश च्यानलले विज्ञापनसहितको सामग्री प्रसारण गर्नाले स्थानीय विज्ञापन बजार प्रभावित भइरहेको छ । विदेशी च्यानलले एडभरटाइजिङ फिड भएका सामग्री प्रस्तुत गरेबापत ग्राहकसँग शुल्क लिन पाउँदैनन्, तर त्यो कुरा व्यवहारमा लागू भएको छैन ।

विदेशी ब्रान्डका विज्ञापन नेपाली भाषामा डबिङ गर्दा त्यसले भाषिक शुद्धता र नेपाली मौलिकता माथि पनि प्रहार गरिरहेको छ । यतिमात्र होइन, विदेशी कम्पनीहरूले अनुसन्धान र सर्वेक्षणको आधारमा मिडिया प्लानिङ गर्ने गर्दछन् । सर्वेक्षणका आधारमा नेपालमा बोलिने भाषा हिन्दी र हेरिने टीभी पनि इन्डियन इन्टरटेनमेन्ट च्यानल नै रहेको देखिएको छ ।

सोही रिपोर्टका आधारमा विज्ञापन दाताले नेपालका लागि छुट्याउनुपर्ने विज्ञापनको रकम पनि उतै खर्च गर्ने गरेका छन् । त्यसैले यदि क्लिन फिड लागू भएमा नेपालमा सामान बिक्रीवितरण गर्नका लागि अनिवार्य विज्ञापन गर्नुपर्ने हुन्छ । अनि त्यो विज्ञापन नेपालको बजारलाई लक्षित गरेर विदेशी च्यानलमा प्रसारण मात्र होइन नेपालमै ठूल्ठूला क्याम्पेन गर्नुपर्ने भएकाले यसले नेपाली टीभी, छापा, रेडियो, आउटडोर, अनलाइनलगायत सम्पूर्ण विज्ञापन बजारको वृद्धि हुनेछ ।

नेपालमा क्लिन फिडसम्बन्धी कानुनी व्यवस्था के छ ?

विगत १० वर्षदेखिको प्रयासस्वरूप नेपालमा हालै विज्ञापनरहित नीति २०७३ को तर्जुमा भएको छ जुन आफैंमा स्वागतयोग्य छ । यस नीतिमा विदेशी टेलिभिजन च्यानलद्वारा प्रसारित विज्ञापनलाई नियमन गर्ने, स्वदेशी विज्ञापन बजारलाई विस्तार गर्ने, विज्ञापनको माध्यमबाट नेपाली भाषा र संस्कृतिमा भएको अतिक्रमण रोक्ने जस्ता कुराहरू उठाइएका छन् । तर यो नीति २०७३ को कार्यान्वयन प्रश्न अत्यन्तै महत्वपूर्ण र संवेदनशील छ, त्यसका लागि सरकारी एवं सम्पूर्ण सरोकारवाला पक्षहरूबाट छिट्टै नै विशेष पहल हुनुपर्ने जरुरी देखिन्छ ।

क्लिन फिडसम्बन्धी अन्तर्राष्ट्रिय प्रचलन के छ ?

अमेरिका, युरोपेली मुलुक एवं दक्षिणपूर्वी एसियामा एडभरटाइजिङ फिड प्रसारण गर्ने च्यानलले ग्राहक शुल्क लिन नपाउने तर क्लिन फिड प्रसारण गर्ने च्यानलले ग्राहकसँग शुल्क लिन पाउने व्यवस्था छ । तर दक्षिण एसियाली राष्ट्र जस्तै पाकिस्तान, श्रीलंका, भूटान र बंगलादेशमा विदेशी च्यानल नियमन गरी कुनै पनि च्यानलले ग्राहक शुल्क लिन नपाउने व्यवस्था छ ।


क्लिन फिड कार्यान्वयनका लागि सरकारी कदम कस्तो हुनुपर्छ ?

सरकारको एक्लो प्रयासले यो कार्यान्वयनमा ल्याउन कठिन छ । त्यसका लागि क्लिन फिडसम्बन्धी भएका निर्णयलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन सबै सरोकारवाला पक्षहरूबाट पहल गरिनुपर्छ । क्लिन फिड र यसका फाइदाहरूको बारेमा आम सञ्चारमाध्यम र विज्ञापन व्यवसायीमा जानकारी एवं चेतना फैलाउनु पर्नेछ । विज्ञापनरहित नीति २०७३ का केही अस्पष्ट बुँदाहरूलाई केही हदसम्म संशोधन गरी अझ बढी स्पष्ट बनाउनु पर्ने पनि देखिएको छ । अहिले धेरैजसो दक्षिण एसियाली मुलुकमा क्लिन फिडको कार्यान्वयन भईसकेको छ ।

नेपालमा यससम्बन्धी जनचेतनाको कमीले गर्दा छापा र रेडियो माध्यमले यो खाली टीभीको लागि मात्रै हो भन्ने अवधारणा राख्दै आएका छन्, जुन सरासर गलत हो । साथै केबल टीभी अपरेटर र मिडियाले पनि यसका बारेमा खुलेर बोल्न सकेको अवस्था छैन ।

तसर्थ आफ्नो निहित स्वार्थभन्दा माथि उठेर सबैले यसको कार्यान्वयनका लागि पहल गरेमा यसले टीभीमा मात्र नभई मिडियाका सम्पूर्ण माध्यममा समेत प्रत्यक्ष एवं अनुकूल प्रभाव पार्ने निश्चित छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.