मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने, सम्पूर्ण तयारी सकियो
काठमाडौं: भारतीय राष्ट्रपतिले अहिले केहिबेरमा पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा गर्ने भएका छन् । पूजाआजाका लागि सम्पूर्ण तयारी पूरा भएको छ । भर्खरै नित्य पूजा सम्पन्न भएको छ भने अब आदिकलशको काम सकिएपछि विशेष पूजा सुरु हुन्छ ।
आदिकलशको पूजा पश्चिम ढोकामा मात्र हुन्छ भने त्यसपछि चारै ढोका खुल्ला गरी भारतीय राष्ट्रपतिले पूजा गर्ने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
विशेष पूजाका लागि भारतीय राष्ट्रपति मुखर्जीले दक्षिण ढोकाबाट पसेर दक्षिण नै फर्केर बस्नेछन् ।
राष्ट्रपतिको स्वागतका लागि वेदविद्याश्रमका बटुकहरु दौरासुरुवालमा सजिएर आएका छन् भने गाग्रीकन्या गुरुकुलका ११ कन्यासहित १०८ जना पशुपति क्षेत्र परिसरमा भेला भएका छन् ।
राष्ट्रपति मुखर्जीलाई पशुपति सिर्जनशिल युवा क्वलले बाँसुरी बजाएर स्वागत गर्नेछ भने नव अम्मरकान्तेश्वर युवा क्लवले धिमे बाजा बजाउने छ त्यस्तै पशुपति मन्दिर परिसरमा बजाइने परम्परागत बाजा पञ्चेबाजा र कुश्लेबाजाले स्वागत गरिनेछ ।