प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल भोलिदेखि
काठमाडौंः प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल शुक्रबारदेखि सुरु हुँदैछ। सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु हुने प्रतियोगितामा नेपाल र भारतका गरी १० टिमले सहभागिता जनाउने छन्।
प्रतियोगितामा नेपालका तीन बिभागीय टोलीसहित पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका महिला टोली सहभागी हुनेछन्। यसैगरी भारतको बिहार महिला टिम र सिक्किम महिला टिम पनि सहभागी हुनेछन्।
नेपाली सेनाको आयोजनामा हुन लागेको प्रतियोगिता कात्तिक २४ गतेसम्म चल्नेछ। प्रतियोगितामा नेपालका आठ र भारतका दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता दिउँसो १२ देखि साँझ ५ बजेसम्म चल्नेछ।
नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोग रहने नेपाली सेनाले जनाएको छ।
प्रतियोगिताको बिजेताले नगद तीन लाख र उपबिजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सेमिफाइनलसम्म पुग्ने दुई टोलीलार्इ ५०-५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।