मुखर्जीले पशुपतिमा बिताए ५५ मिनेट

मुखर्जीले पशुपतिमा बिताए ५५ मिनेट

काठमाडौंः भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बिहीबार पशुपतिनाथ मन्दिरमा करिब ५५ मिनेट पूजा गरेका छन् । दर्शन र पूजापछि उनले धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्वको पवित्र पशुपतिनाथ मन्दिरमा आउन पाउँदा आफूलाई धेरै खुसीको अनुभूति भएको बताए । विदेशमन्त्री हुँदा सात वर्षअघि मुखर्जी पशुपतिनाथ आएका थिए ।

बिहान १० बजेर १५ मिनेट जाँदा पशुपति पुगेका राष्ट्रपति मुखर्जीलाई स्थानीय पशुपति सिर्जनशील युवा क्लबले बाँसुरी र नव अमरकान्तेश्वर युवा क्लबले धिमे बाजाले स्वागत गरेका थिए । मन्दिर प्रवेशलगत्तै गार्गी कन्या गुरुकुलका ११ कन्या, वैदिक भेषमा आएका राम मन्दिरका १० बटुक र दौरासुरुवाल, कोट र टोपी लगाएका वेद विद्या श्रमका बटुकले स्वस्तीवाचन गरेका थिए ।

बासुकीनाथ मन्दिरमा रुद्राभिषेक गरेर पूजा सुरु गरेका मुखर्जीले गुप्तेश्वर, शेषशाही, ढुण्डी गणेश, सूर्यनारायण, गरुड नारायण, सरस्वती देवीदेवताको दर्शन र पूजा गरेका थिए ।

बागमती नदीप्रतिको जिज्ञासामा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टन्डनले अन्नपूर्णसँग भने, ‘नदी र आर्यघाटको संरक्षण र संवद्र्धनका लागि कोषको केकस्तो परियोजना छ त्यसबारे चासो राखेकाले जानकारी गरायौं ।’
सात वर्षअघि आउँदा दुर्गन्धित बागमती अहिले सफा भएको प्रतिक्रिया मुखर्जीले दिएका थिए ।

मुखर्जीले सन्तापहरेश्वर, कृतिमुख, शितलाभैरव, कोटीलिंगेश्वर, उन्मत्तभैरव, नवग्रहको दर्शन र पूजा गरी दक्षिणढोकास्थित अघोरको मुहारको दर्शन गरेका थिए । उनले दर्शन र पूजा गरिएका सबै मन्दिर र मूर्तिमा खाममा पैसा राखेर दानपात्रमा हालेका थिए । उनले गर्भगृहमा प्रवेश गरी दक्षिणतर्फ बसेर पञ्चामृत स्नानसहितको विशेष पूजा गरेका थिए ।

मन्दिरका मूलभट्ट गणेश भट्टले २७ हजार रुपैयाँको रुद्राभिषेक र पञ्चामृत स्नान गरेका थिए । मुखर्जीले पूजापछि सवा लाख बत्तीको आरती गरेका थिए । आरतीपछि पूर्वी ढोकामा अवस्थित तत्पुरुष, पश्चिम ढोकामा अवस्थित सद्योजात र उत्तरी ढोकामा अवस्थित वामदेवको दर्शन गरेका थिए । उनले हनुमानको दर्शन गरेपछि मन्दिर प्रांगणकै द्रव्येश्वर र सत्यनारायण मन्दिरको बीचमा राखिएको आगन्तुक पुस्तिकामा मन्तव्य लेखी हस्ताक्षर गरेका थिए ।

पुस्तिकामा राष्ट्रपति मुखर्जीले पशुपतिनाथमा विशेष पूजा गर्न पाउँदा आनन्द अनुभूति भएको उल्लेख गरेका छन् ।

पशुपतिनाथ मन्दिर नेपाल र भारतको भक्तजनका लागि समान रूपमा आस्थाको केन्द्र भएको उनले पुस्तिकामा लेखेका छन् । मन्दिर प्रांगणमा पुग्दा भूकम्पले मन्दिर र मूर्तिमा पारेको असरबारे मुखर्जीले जिज्ञासा राखेका थिए । कोषले मुखर्जीलाई साढे तीन फिट अग्लो विभिन्न देवीदेवता रहेको नटराजको कलात्मक मूर्ति उपहार दिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.