चलखेलले डुबाएको नेपाली गुँदपाक बजार
काठमाडौंः भदौं १९, २०६८ को त्यो दिन ‘कर्नर ताजा गुँदपाक भण्डार' का साहूजी मनेन्द्रलाल मास्के कागेश्वर महादेवको मन्दिर दर्शन गर्न पुगेका थिए । ताहाचलस्थित घरमै रहेको गुँदपाक उत्पादन इकाई (कारखाना) मा अनुगमन टोली पुगेको खबर पाएपछि उनी हतार हतार घर फर्किए ।
पचासौंजना रमितेको भिड कारखानामा जम्मा भैसकेको थियो । टेलिभिजनको क्यामरा गुँदपाक कारखाना र स्टोरमा थन्क्याइएका गुँदपाक, पुष्टकारी आदिको डंगुरतिर सोझिएका थिए । हुन त एउटा अनुगमन थियो, तर त्यो अनुगमन गुँदपाकलाई स्थानीय बजारबाट विस्थापित गर्ने कदम हुन पुग्यो ।
त्योबेला गुँदपाकको बजार उत्कर्षमा थियो । मास्केको पसलबाटै सयौं किलो गु“दपाक बिक्री हुन्थ्यो । न्युरोड, असनतिर अरुपनि गुँदपाक पसल थिए । लामोसमय बन्द भई खुलेको उनको पसलको बिक्री अहिले १०÷१५ किलोमा खुम्चिएको छ । ‘त्यो दिन स्थानीय परम्पराबाट विकसित भएको मौलिक मिठाइको लागि कालो दिन थियो,' मनेन्द्र सुनाउछन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, उपभोक्तावादी संघसंस्था र सञ्चारकर्मी सम्मिलित अनुगमन टोली मास्केको कारखानामा पुगेको थियो । म्याद नाघेको मिठाइको प्रयोग गरी गुँदपाक र पुष्टकारी बनाएको सूचनाको आधारमा सरकारी अनुगमन टोली दलबलसहित पुगेको थियो । टोलीले गुँदपाकको उत्पादन र न्युरोडस्थित पसलमा सिलवन्दी गरी उत्पादन तथा बिक्रीमा रोक लगायो ।
मनेन्द्रकाअनुसार पसलमा बिक्री नभएका र उपभोग गर्न नमिल्ने मिठाईहरू पसल बन्द गर्ने क्रममा कारखाना लगिन्थ्यो । घटनाको अघिल्लो राति पनि बिक्री नभएका गुँदपाक, लाखामरी र पुष्टकारी कारखानामा पुर्याइएको थियो । कारखानामा उपभोग गर्न मिल्ने र नमिल्ने दुवैथरी मिठाई छुट्टाछुट्टै स्थानमा राख्ने व्यवस्था थियो ।
अनुगमन टोलीले कारखानामा राखिएका प्रयोग गर्न मिल्ने र प्रयोग गर्न नमिल्ने मिठाईको बारेमा यथार्थ जानकारी नलिएर गुणस्तरहीन र म्याद नाघेका मिठाईहरू प्रयोग गरी गुँदपाक तयार पारेको अभियोग लगाएको उनको गुनासो छ ।
नष्ट गर्न ठिक्क पारिएका उत्पादनलाई पनि बजारमा बिक्री गर्न लागेको भनेर बरामद गरियो, प्रचारबाजी गरियो । अनुगमन टोलीले न्युरोडकै मिलनलाल मास्केको कारखाना र श्रीकृष्ण गुँदपाक भण्डार पनि यस्तै प्रकारको अभियोगमा सिलवन्दी गर्यो ।
श्रीकृष्ण गुँदपाकका सञ्चालकमाथि झन नाला (ढल) को पानी प्रयोग गरी गुँदपाक तयार गरेको भन्ने अभियोग लगाइएको थियो । जबकी नालाको पानी प्रयोग भएको थिएन, नजिकैको नाला खिचेर टेलिभिजनमा यसैको पानी प्रयोग गरे भनियो । उनकाअनुसार अनुगमन टोलीले महानगरपालिकाको गाडी बोलाएर करिब नौं सय किलो राम्रा र नराम्रा गुँदपाक, पुष्टकारी र खुवा उठाएर लगे ।
भारतीय मिठाईलाई मौका
गल्ति नभएको दावी मनेन्द्रको छैन । गुँदपाक बनाउने तौरतरिका परम्परागत थियो । ग्यासको प्रयोग सुरु भएपनि दाउरापनि बालिन्थ्यो । भाँडाहरू काला थिए । उत्पादनका क्रममा निस्किने फोहरको विसर्जन÷व्यवस्थापन वैज्ञानिक थिएन । तर उपभोक्तालाई जानाजान अस्वस्थ परिकार खुवाउने नियत थिएन । परम्परागत विधिमा आधारित गुँदपाक र पुष्टकारी तयार पारिन्थ्यो । नयाँ तौरतरिकामा उत्पादनकर्ता अनविज्ञ थिए । प्रविधिको विकास र समाजको मागलाई गु“दपाक उत्पादनकर्ताले बुझ्न सकेका थिएनन् ।
तर परम्परागत तरिकालाई मिडियाले बढाई चढाई नकारात्मक प्रस्तुती गरिदिएको उनको गुनासो छ । त्यतिमात्र हैन अर्कै उद्योगबाट निस्किएको फोहरलाई उनको उद्योगसँग जोडेर त्यही फोहर गुँदपाक बनाउन प्रयोग गरियो सम्म भनियो । यसले उपभोक्तामा गु“दपाकप्रति नै वितृष्णा जगाउने काम गर्यो । काठमाडौंमा त्यतिबेला भारतीय ब्रान्डका मिठाईको आउटलेट विस्तार तेज गतिमा भइरहेको थियो । यसको फाइदा तिनैले उठाए ।
कतिपय भारतीय ब्रान्डका मिठाई पसलले भारतीय गुँदपाक भन्दै किलोको एक हजार एक सय रुपैयाँ पर्ने गु“दपाक बेच्न थाले । नेपाली गुँदपाकको बजार मूल्य भने पाँच सय ५० रुपैयाँ छ । अहिले बजारमा नेपाली परम्परा र मौलिक स्वाद भएको मिठाईको हिस्सा करिब १० प्रतिशतको हाराहारीमा मात्रै छ । ९० प्रतिशत बजार हिस्सा भारतीय ब्रान्डेड कम्पनीले लिइसकेका छन् ।
कारवाहीमा भेदभाव
सरकारी नियमनकारी निकायले पनि पहुँच हेरेर कारबाही गर्ने गरेको मनेन्द्रको अनुभव छ । गुँदपाकको बजार समाप्त भए पछि बजारमा उदाएका भारतीय ब्रान्डका मिठाई आउटलेटमा पनि अनुगमन हुन्छ/भइरहेकै छ । अनुगमनको क्रममा गुणस्तरहीन मिठाई उत्पादन गरेको भेटिएको छ ।
कहाँसम्म भने एउटा प्रख्यात भारतीय कम्पनीको मिठाईमा प्रतिग्राम दुई सय ढुसी र प्रतिग्राम मिठाईमा १६ हजारको संख्यामा कोलिफर्म र खुवामा पिठो भेटिए पनि पहुँचकै भरमा त्यस्ता उद्योगमाथि कुनै कारवाही भएन । उनीहरूले पटकपटक गल्ति गरेको अवस्थामा पनि सुधार गर्ने मौका दिइन्छ । आफ्नो चाहि“ पहुँच कतै नहु“दा सुधार्ने मौका नदिई सिध्याइएकोमा उनको चित्त दुखेको छ ।
अनुगमनपछि उनीसहित ६७ बर्षीया आमा मदनबाबा, श्रीकृष्ण गुँदपाक भण्डारका सञ्चालक मिलनलाल मास्केलाई भदौं २२ गते पक्राउ गरी हनुमानढोकामा सार्वजनिक मुद्दाअन्तर्गत २८ दिन थुनामा राखिएको थियो । पक्रेर लगेको चारघन्टासम्म सुरक्षाकर्मीले केरकार गरे । कुन ऐनअन्तर्गत कारवाही गर्ने भनेर नियमनकारी निकाय आफै पनि अन्यौल देखिए ।
. लामोसमय बन्द भई खुलेको उनको पसलको बिक्री अहिले १०/१५ किलोमा खुम्चिएको छ ।
. अहिले बजारमा नेपाली मिठाईको हिस्सा करिब १० प्रतिशतको हाराहारीमा छ । ९० प्रतिशत बजार हिस्सा भारतीय कम्पनीले लिइसकेका छन् ।
.गुँदपाक नितान्त खुवा, चिनी र ड्राइपु्रट्सबाट तयार गरिन्छ
. नेपाली मौलिकता भएको गुँदपाकलाई पुनः बजारमा खडा स्थापित हुने मौका दिनुपर्छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थपेर सबैलाई थुनामा राखियो । मान्छे मारेर आएको अपराधीभन्दा पनि चर्को व्यवहार सबैले गरे । त्यो घटनाले धेरै दिनसम्म म मानसिक रुपमै विक्षिप्त बन्न पुगे । ‘केही महिना मनोचिकित्सकसँग परामर्शमा बस्न पर्यो' मनेन्द्र आँखाभरी आसु पार्छन् ।
धरौटीमा पनि विभेद गरिएको उनको गुनासो छ । उनकाअनुसार त्यही समय कारबाहीमा परेका अरु मिठाई पसलेस“ग ५० हजार धरौटी माग गरियो । मनेन्द्रले १५ लाख रुपैयाँ धरौटी राख्न पर्यो ।
सबै विरुद्ध प्रहरीले कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको थियो । कारवाही त्यतिमै सीमित रहेन् । एक महिनापछि जिल्ला अदालतमा मुद्दा दायर भयो । डेढ वर्षसम्म जिल्ला अदालत धाउनुपर्यो ।
जिल्ला अदालतले २५ हजार रुपैया“ जरिवाना गरी आवश्यक सुधार र सरसफाई गरी बिक्री वितरणको अनुमति दिएको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदनमा मुद्दा दायर भयो । पुनरावेदनले पनि त्रुटी सच्याएर बिक्री वितरण गर्न अनुमति दियो । मुद्दा दायर र कारवाहीको क्रम यतिमै कम भएन ।
केही समयपछि फेरी उनी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भयो । सर्वोच्चबाट हालसम्म मुद्दा किनारा लागेको छैन । अदालतबाट गुँदपाक÷ पुष्टकारी बनाएर बिक्री गर्न अवरोध नभए पनि यस्तो माहोलमा उत्पादन गर्न जाँगर नै चलेको छैन । बजारमा अहिले उपभोक्तावादी संस्थाका नाममा ब्ल्याकमेल गर्ने, पैसा नझरे नियमनकारी निकाय लगाएर अनुगमन गराउने र कारवाहीको दायरामा परे पछि दलाली गर्ने प्रवृत्ति फस्टाएको छ । उनी थुनामै हु“दा पनि मुद्दा मिलाउन दलालहरूले उनीस“ग सम्पर्क गरेका थिए ।
रोशन पोखरेल नामका एकजना उपभोक्ता संस्थामा कार्यरतले उनीसँग पैसाको माग गरेका थिए । तिनै पोखरले ब्ल्याकमेलिङको आरोपमा केही महिनाअघि पक्राउ परे, थुनिए । अनुगमनपछि गुँदपाक उत्पादनलाई एकदम नकारात्मक ढंगले आधाघन्टा लामो रिपोर्ट बनाउने पत्रकारले पछि सकारात्मक रिपोर्ट बनाउनेभन्दै ३ लाख रुपैया“ माग गरेका थिए, मनेन्द्र मानेनन् । तैपनि सर्वोच्चबाट फैसला आएपछि एकपटक नयाँ ढंगबाट गुँदपाक÷पुस्टकारी उत्पादन गर्ने योजना छ ।
उत्पादन प्रक्रियामा सुधारसहित गुँदपाक
नेपालमा आफ्नो मौलिक परम्परा र स्वाद बोकेको गुँदपाक, पुष्टकारी, लाखामरीजस्ता मिठाई लोपोन्मुख छन् । भारतीय ब्रान्डले बजार खर्लप्प खाइसकेको छ, गुँदपाक घटनापछि स्वदेशी बजारमा स्वदेशी हलुवाई (तराईका मिठाई उत्पादन गर्ने जाति) को पनि मिठाई भण्डार पनि जम्नुपथ्र्यो । तर त्यस्तो भएन् । समग्र बजार भारतीय मिठाईले ओगटेको उनको ठम्याई छ ।
गल्ति गरेपछि त्यसको सजाय समग्र गुँदपाक उद्योगले बेहोर्न पर्यो । अब गुँदपाकलाई सँधैका लागि सिध्याउने हैन, कमजोरी सच्याएर पुनर्जिवन दिनुपर्ने उनी बताउँछन् ।
नेपाली मौलिकता भएको गुँदपाकलाई पुनः बजारमा खडा हुन आवश्यक सहयोग गर्नुपर्ने उनको सुझाव छ । मास्के परिवारले आफै गु“दपाक उत्पादन नगरेपनि खुवाका लागि प्रख्यात ठेचोमा उत्पादन भएका गु“दपाक बिक्री गर्न थालेको छ ।
ठेचो खुवाका लागि प्रख्यात ठाउँ हो । ठेचोमा उत्पादन हुने गु“दपाकको गुणस्तर हेर्न मनेन्द्र आफै पुग्ने गर्छन् । ब्याच नम्बर, उत्पादन मिति, म्याद गुज्रने मिति आदि राख्ने गरिएको छ । गु“दपाकमा प्रयोग हुने सामग्री पनि प्याकेजिङमा प्रिन्ट गराइन्छ ।
‘अहिले हामी सर्वसाधारणको स्वास्थ्यप्रति निकै सचेत भएर गुणस्तरसम्बन्धी सम्पूर्ण मापदन्ड पुरा गरी सरकारी अनुमति प्राप्त उत्पादनकर्ताबाट उत्पादन भएका गुणस्तरयुक्त गुँदपाक ल्याएर बिक्री गर्दै छौं', आग्रह गर्दै उनले भने,‘अहिले हामी आफै गुँदपाक र पुष्टकारी उत्पादन गर्दैंनौं । विश्वास गरेर एक पटक फेरी यो क्षेत्रलाई खडा हुने अवसर दिनुपर्छ ।
गुँदपाकको इतिहास
गुँदपाक नेवारी समुदायको परम्परागत मिठाई हो । ३२ मसला मिसाएर सुत्केरीका लागि गुँदपाक बनाइन्थ्यो उतिबेला । गुँदपाकको व्यवसायीकरणमा द्रव्यलाल मास्के (मनेन्द्रका हजुरबा) को भूमिका छ । जीविकाको लागि फुटुङबाट सहर आएका द्रव्यलालले डेरामा गुँदपाक उत्पादन गरी पसलमा बिक्री गर्न थालेका थिए । गुँदपाकमा मिसाइने ३२ मसला झिकेर त्यसको स्थानमा चिनी र ड्राइपु्रmट्स मिसाएर मिठाईको रुपमा गुँदपाक तयार पारेर बिक्री गर्ने उनै थिए ।
सुरुआत समयमै उनी बसेको घर वरपर उक्त मिठाईलाई सर्वसाधारणले निकै मन पराए । स्थानीयले पसल गरेर व्यावसायिक रूपमा बिक्री गर्न सुझाव दिएको आधारमा द्रव्यलालले न्युरोडको ग्वाछे गल्लीबाट यो मिठाईको व्यापार सुरु गरे । संयोगले द्रव्यलालको परिस्कृत यो मिठाईको व्यापार खुवै चल्यो । उनले त्यसपछि पिपलबोट नजिकै सानो टहरामा यो मिठाईको बिक्री सुरु गरे । त्यहाँ पनि राम्रै चल्यो । सानो पसलबाट विस्तारै सर्दै उनी र उनका तीन पुस्ताले हालको न्युरोड गेट नजिकैको भवनबाट व्यापार गर्दैआएको छ । गुँदपाक नितान्त खुवा, चिनी र ड्राइपु्रmट्सबाट तयार गरिन्छ ।