आज एक पटकमात्र काठमाडौका सडक प्रभावित हुने, विमानस्थल दुर्इपटक बन्द
काठमाडौं: तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आज जनकपुर र पोखरा जाने कार्यक्रम छ । जनकपुरपछि पोखराको भ्रमण सकेर काठमाडौं फर्केका राष्ट्रपति विमानस्थलबाटै भारत फर्कने कार्यक्रम छ ।
मुखर्जी काठमाडौं बाहिर जाने भएकाले आज काठमाडौंका सडक धेरै समय अवरोध हुने छैन् । ट्राफिक प्रहरीका अनुसार आज विहान ९ बजेदेखि ११ बजेसम्म दुर्इ घण्टा बौद्ध, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गौशाला, तिलगङ्गा, एयरपोर्ट, तीनकुने हुँदै सञ्चालन हुने सवारी साधन प्रभावित हुने छन् । उक्त मार्गमा भएर चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
विमानस्थल दुर्इपटक बन्द हुने
भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज काठमाडौंबाट जनकपुर जाँदा र पोखराबाट काठमाडौं आउँदा २ पटक विमानस्थल बन्द हुने भएको छ ।
भीभीआइपीको उडान व्यवस्थापन मिलाउन शुक्रबार बिहान १० देखि साढे १० बजेसम्म र बेलुका ४ बजेदेखि सवा पाँच बजेसम्म नोटिस टु एयर म्यान (नोटाम) जारी भएको छ । नोटामको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने विमानस्थका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।
यो सूचना सबै वायुसवेलाई जानकारी भइसकेकोले सोही अनुसार उडान व्यवस्थापन हुने भएकोले पनि कुनै ठूलो उडान प्रभाव नपर्ने ठाकुरको भनाइ छ ।
मुखर्जी शुक्रबार बुद्ध एयरको जहाज चार्टर गरेर काठमाडौंबाट जनकपुर र पोखरा जाँदै छन् । सोही जहाजबाट काठमाडौं पर्कने र साँझ नयाँदिल्ली जाने कार्यक्रम रहेको छ ।
बुधबार समेत भारतीय राष्ट्रपति मुखर्जीको सवारीका कारण दिनभर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रभावित भएको थियो । बिहीबार समेत दिनभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको जहाजको गति, दिशा र उचाई देखाउने यन्त्र (राडार) बिग्रदा उडान व्यवस्थापनमै हम्मेहम्मे परेको थियो ।
बिहीबार राडारले काम नगर्दा पनि उडान व्यवस्थापन गर्नुपर्दा राडारमै अभ्यस्त एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई निकै असहज भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।