भारतीय राष्ट्रपति मुखर्जी जनकपुर पुगे
काठमाडौं: तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी अहिले जनकपुरधाम पुगेका छन् ।
बुद्ध एयरको विशेष विमानबाट जनकपुर पुगेका मुखर्जीले जानकी मन्दिर दर्शनका साथै विशेष पूजा गर्ने कार्यक्रम छ । त्यस्तै जनकपुर उपमहानगरपालिकाले तिरहुतिया गाछीमा आयोजना गर्ने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन् ।
मुखर्जीको स्वागतका लागि जनकपुरको विमानस्थलदेखि जानकी मन्दिरसम्म प्रत्येक ७० मिटरको दूरीमा स्वागतद्वार बनाइएका छन् । तीन किलोमिटरको दूरीमा ४५ भन्दा बढी गेट बनाइएको छ । मुखर्जीले पूजा गर्ने भएपछि जानकी मन्दिर परिसरमा पनि राम्रो सरसफाइ गरिएको छ ।
जानकी मन्दिरको पूजाआजा र नागरिक अभिनन्दन सकेर मुखर्जी आजै पोखरा जाने कार्यक्रम छ ।