सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता विफल बनाउने प्रयास भए प्रतिकार
विराटनगरः पटकपटक स्थगित हुँदै आएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर अन्तिम सातादेखि सुरु हुने भएको छ । यसअघि मंसिर ८ देखि १५ गतेसम्म सञ्चालन हुने भनिएको सातौं खेलकुद मंसिर ३० देखि पुस ८ गतेसम्म आयोजना गरिन लागिएको जानकारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिए ।
यसअघि २०७० सालका आयोजना गरिने भनिएको सातौं खेलकुदको मिति सरेको यो चौथो पटक हो । दुईदुई वर्षमा आयोजना गरिनुपर्ने राष्ट्रिय खेलकुदको छैटौं संस्करण २०६८ सालमा धनगढीमा भएको थियो ।
सदस्यसचिव विष्टले मन्त्री परिषद्बाट सातौंका बजेट स्वीकृत भइसकेकोले प्रतियोगिता भएर छाड्ने बताए । उनले खेलकुदका सबै कर्मचारीलाई दु्रत गतिमा काम गर्न आग्रह पनि गरे । सातौंको तयारीका लागि राष्ट्रिय विराटनगरमा बिहीबारबाट राखेपको सम्पर्क कार्यालय पनि खोलिएको छ । विष्टले सचिवालयका रूपमा सम्पर्क कार्यालयको उद्घाटन पनि गरे ।
सचिवालयका लागि विराटनगरको वीरेन्द्र सभागृहका आठ कोठा र हल तीन महिनाका लागि मासिक ३० हजार रुपैयाँ बहाल तिर्ने गरी भाडामा लिइएको पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले बताए । सदस्यसचिवका लागि समेत भिन्दै कोठा तयार पारेर कार्यालय सञ्चालनमा ल्याइएको छ ।
विष्टले प्रतियोगिता मंसिरमा नै हुने विश्वस्त पारे । ‘सातौं खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुन्छ, हुँदैन भन्ने कुरामा दोधारमा नपर्नुस् । यो प्रतियोगिता जसरी भए पनि पूर्वमै र विराटनगरमै हुन्छ,' उनले भने, ‘बजेट आइसकेका कारण मंसिरमै आयोजना गर्ने गरी हामी लागेका छौं । तपाईंहरू सबैले सहयोग गरेर प्रतियोगिता सफल बनाउनुपर्छ ।'
उनका अनुसार आगामी मंसिर १० गतेदेखि सातौंका लागि क्षेत्रीय छनोट हुनेछ । सातौंका लागि खेलकुद मन्त्रालय र राखेपबीच आपसी समझदारी भए पनि आधिकारिक निर्णय भने हुन बाँकी रहेको पनि विष्टले बताए । ‘बजेटको समस्याका कारणले क्षेत्रीय प्रतियोगिता रोक्न राखेपले नै परिपत्र गरेको थियो,' विष्टले भने, ‘बजेट छुट्टिसकेका कारण अब क्षेत्रीय प्रतियोगिता गर्न कुनै समस्या छैन ।' ।
क्षेत्रीय र केन्द्रीय स्तरबाट खेलाडी छनोटका लागि अर्थ मन्त्रालयले बजेट छुट्याए पनि कसरी खर्च गर्ने भन्ने बारेमा प्रष्ट हुन नसक्दा क्षेत्रीय स्तरका प्रतियोगिता यसअघि रोकिएको उनको भनाइ छ । अर्थ मन्त्रालयले छुट्याएको बजेट आर्थिक निर्देशिका बनाएर खर्च गर्ने अधिकार क्याबिनेटले दिइसकेका कारण यसअघि तोकिएको भन्दा केही ढिलो गरेर भए पनि प्रतियोगिता आयोजना गरिने जानकारी विष्टले दिए ।
‘जसरी पनि मंसिरमै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु गर्नुपर्छ भनेर राखेप लागेको छ', उनले भने, ‘अन्य कारण देखाएर रोक्ने र विफल बनाउने प्रयास भए प्रतिकार गरिनेछ ।'