कृषि पर्यटनको आकर्षण
राईनास लमजुङः तालको झल्को दिने ठूल्ठूला माछापोखरी र पोखरीको माथिल्लो भागमा खरले बनाइएका ‘कटेज’ हरू लस्करै छन् । एकसय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको माछापोखरीदेखि तल्लो भु–भागमा केरा खेती गरिएको छ । स्थानीय मालुवा जातको केरा खेतीले ६० रोपनी क्षेत्रफल ओगटेको छ । ४० रोपनी क्षेत्रफलमा तरकारी खेती र बाँकी ३५ रोपनी क्षेत्रफलमा माछापालन विस्तार हुँदै छ ।
लमजुङको ऐतिहासिक राईनासकोट र गोरखाको लिगलिगकोटको फेदीमा नागबेली आकारमा बगेको चेपेनदीले राईनासटारलाई उपत्यकाकै ‘आकार’ दिएको छ । त्यही उपत्यकामा अर्थात राईनास–६, कैनीटारमा यहाँका नवराज पौडेल, लक्ष्मी पौडेल र हरेराम पौडेलले अघि बढाएको कृषि र पर्यटनको अवधारणाले पर्यटनको सम्भावना झनै उजागर गरेको छ । परम्परागत रूपमा हुँदै आएको धान खेती मासेर यहाँको दुई सय ३५ रोपनी क्षेत्रफललाई तारबारले घेरिएको छ । त्यही भु–भागमा अहिले पर्यटकको मन लोभ्याउने खालका संरचनाहरू निर्माण भइरहेका छन् ।
कृषिलाई पर्यटनसँग जोडेर गरिएको अभ्यासलाई पर्यटकले निकै मन पराएका छन् । ‘दैनिक एक सयभन्दा बढी मानिस फार्मको अबलोकन गर्न आउने गरेका छन्,’ पौडेल एग्रो फार्म प्रालिका सञ्चालक नवराज पौडेल भन्छन्, ‘पूर्वाधार बनी नसक्दै आन्तरिक पर्यटकको चाप थेगी नसक्नु छ ।’
पर्यटकलाई आकर्षण गर्न यहाँ होमस्टे निर्माण गर्न लागिएको छ । ‘हामी पूर्वाधार निर्माणमा छौं,’ सञ्चालक पौडेल भन्छन, ‘अब केही महिनामै होमस्टे सञ्चालन गर्ने योजनामा छौ ।’ माछापोखरीमा ‘बोटिङ’ गराउने योजना छ । पर्यटकले चाहेमा ‘फिस हन्टिङ’ को व्यवस्थासमेत मिलाउने तयारी छ ।
२०६९ सालमा जग्गा खरिद गरी चरणबद्धरूपमा काम भइरहेको यो फार्ममा पटकपटकको लगानीबाट पाँच करोडभन्दा बढी रकम लगानी भइसकेको छ । वल्र्ड बैंकको सहयोगमा व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले देशभरबाट छानेका व्यावसायिक कृषि फार्मअन्तर्गत समेटिएको उक्त फार्मले झन्डै ३० लाख अनुदान रकम सहयोग पाएको थियो ।
कृषि र पर्यटनसँगै अन्य व्यावसायिक क्रियाकलाप सञ्चालन गर्ने योजना अनुसार पूर्वाधार निर्माण भइरहेका छन् । धार्मिक एवं सामाजिक संस्कारका कार्यक्रम सञ्चालनका लागि मठमन्दिर निर्माणका साथै ठूल्ठूला सेमिनार एवं गोष्ठीका लागि सभा हल निर्माण भइरहेको छ ।
केरा खेती र माछापालन गरेर बाँकी रहेको ४० रोपनी क्षेत्रफल तरकारी खेतीका लागि छुट्याइएको छ । उक्त जग्गामा चाँडै नै मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने सञ्चालकको तयारी छ ।
‘लमजुङ जिल्लालाई माछामा आत्मनिर्भर बनाउने गरी काम गरीरहेका छौं,’ सञ्चालक पौडेल भन्छन्, ‘आगामी तीन वर्षमा वार्षिक ५० मेट्रिकटन माछा उत्पादन गरी लमजुङ जिल्लालाई माछामा आत्मनिर्भर गराउने हाम्रो उद्देश्य छ ।’
कृषिसँगै शुरु भएको पर्यटनको अवधारणाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा क्रियाशील व्यक्तिहरू झनै हौसिएका छन् । राईनासकोटमा रहेको यो फार्म पर्यटकीय आकर्षणको रूपमा रहेको छ,’ लमजुङको पर्यटन क्षेत्रका अभियन्ता कृष्णराज ओलीया भन्छन्, ‘यस ठाउँलाई प्रस्तावित राईनासकोट–चेपेनदी र लिगलिगकोटलाई पदयात्राको ‘बेसक्याम्प’ बनाएर लैजान सकिन्छ ।’