‘नेपाल र भारत मिलेर विश्वलाई शान्ति र प्रेमको सन्देश दिनुपर्छ’

‘नेपाल र भारत मिलेर विश्वलाई शान्ति र प्रेमको सन्देश दिनुपर्छ’

जनकपुरधामः भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल र भारतका जनताले विश्वलाई शान्ति र प्रेमको सन्देश दिएर आफ्ना पूर्वजहरुको सच्चा सम्मान गर्नु पर्ने बताएका छन्।

शुक्रबार राजकीय भ्रमणको क्रममा जनकपुर आएका राष्ट्रपति मुखर्जीले राजा जनक र देवी सीताको भूमि नेपाल र भारतबीचको साझा सांस्कृतिक विरासतको सबैभन्दा राम्रो उदाहरण मध्ये एक रहेको बताएका हुन्। उनले भने,‘हामीलाई भगवान रामसीताले शान्ति र प्रेमको अमुल्य उपहार दिएर गएका छन् जसलाई हामीले विश्वमा फैलाउनु पर्दछ।’

प्राचीनकालदेखि ज्ञानको केन्द्र रहेको जनकपुरले विश्वको कुनाकुनाबाट विद्धानहरुलाई आकर्षित गरिरहेको बताउँदै उनले भने,‘यो स्थल सबै धर्मका विद्धानहरुको उर्वरस्थलको रुपमा रहेको छ।’ जनकपुर र अयोध्याको सम्बन्धका विषयमा चर्चा गर्दै उनले जनकपुरका बासिन्दाहरु ति पारिवारिक सम्बन्धका उत्तराधिकारी रहेको बताए। उनले भारतको नजरमा यी साझा सम्बन्धको ठूलो स्थान रहेकोले नेपालसंग विभिन्न क्षेत्रमा आफ्नो भागिदारीलाई भारतले धेरै महत्व दिएको बताए। उनले भारत सदैव नेपालमा शान्ति, स्थायित्व र सम्पन्नताको कामना गर्दै आएको बताए।

नेपालसंग विकासको भागेदारीमा घनिष्ठ सम्बन्ध र नेपालको मैत्रीपूर्ण जनताको उपलब्धिहरुमा भारतलाई गर्व लागेको उनले बताए। उनले नेपालसंगको घनिष्ट सम्बन्धलाई एक अर्काको हितमा परस्पर विश्वासका साथ अझ बढि गहिरो बनाउन आफुहरु प्रतिबद्ध रहेको बताए।

उनले परिक्रमा पथमा दुईवटा सुविधा सम्पन्न धर्मशालाको निर्माण गर्ने घोषणा समेत गरे। जनकपुर भौगोलिक रुपमा भारतको नजिक रहेकोले यहाँ सर्वसाधारणको आवागमनलाई सहज बनाउन सीमावर्ती क्षेत्रहरुमा आधारभूत सुविधाहरु र सम्पर्क मार्गको विकासका लागि विशेष ध्यान दिनु आवश्यक रहेको उनले भनाइ थियो।

विशेषगरी नेपालका नागरिकहरुको प्राथमिकतालाई ध्यानमा राख्दै सञ्चार विकास, रेल सम्पर्क, समुचित जाँच चौकी र विद्युतीय लाइन निर्माणमा भारतले विशेष ध्यान दिइरहेको उनले बताए। उनले नेपाल प्रवेश मार्गमा चारवटा समुचित जाँच चौकी निर्माणका लागि भारत लागि परेको र विराटनगर तथा विरगन्जको चेकपोष्टले जनकपुरवासीलाई पनि सहज हुने बताए।

११ बजेर ४० मिनेटमा बुद्ध एयरको चार्टड विमानबाट जनकपुर विमानस्थलमा ओर्लिएका राष्ट्रपति मुखर्जीलाई उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि समेत संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले स्वागत गरेका थिए। उनी विमानस्थलबाट कडा सुरक्षा घेरामा जानकी मन्दिर पुगेका थिए। जानकी मन्दिरमा करिब १० मिनेट जति पूजाअर्चना गरी मुखर्जी नागरिक अभिनन्दनस्थल तिरहुतिया गाछि पुगेका थिए।

तिरहुतिया गाछिमा उनलाई उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मैथिली तथा अंग्रेजी भाषामा स्वागत मन्तव्य व्यक्त गरी स्वागत गरेका थिए। मन्त्री निधिले मुखर्जीको भ्रमणले जनकपुर क्षेत्रको उचाइलाई अझ बढाएको बताए।

कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुइटेलले मैथिली, अंग्रेजी र नेपाली भाषामा तयार गरिएको अभिनन्दन पत्र नेपाली भाषामा पढेर राष्ट्रपति मुखर्जीलाई अभिनन्दन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.