भारतीय राष्ट्रपति बुद्ध एयरबाटै माउन्टेन फ्लाइटमा
काठमाडौंः बुद्ध एयरको जहाजमार्फत् भारतीय राष्ट्रपति प्रणव मुखर्जीले गौरीशंकर र सगरमाथा हिमश्रृंखलाको अवलोकन गरेका छन् ।
बुद्धले माउन्टे फ्लाइटसहितको सुविधा दिएर काठमाडौंबाट जनकपुर र जनकपुबार पोखरा हुँदै काठमाडौं ल्याएको हो । उपलब्ध वायुसेवाका विकल्पमध्ये भारतीय राष्ट्रपति मुखर्जी तथा भ्रमणदलका सदस्यले आन्तरिक उडानमा बुद्ध एयरलाई छनोट गरेका थिए ।
मुखर्जीको तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार बिहान काठमाडौंबाट जनकपुर तथा जनकपुरबाट पोखरा हुँदै काठमाडौं फर्किने कार्यक्रम थियो । हवाई यात्राका क्रममा बुद्ध एयरले महामहिमलाई धार्मिक तथा पर्यटकीय हिमश्रृंखलाहरु गौरीशंकर, गणेश तथा सगरमाथा, मकालु, मनास्लु, माछापुच्छ«ेलगायत अन्य हिमालको पनि अवलोकन गराएको थियो ।
यसका लागि बुद्ध एयर अहरोत्र व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा गरेको एयरलाईन्सका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले बताए । भ्रमणलाई सहज र सुरक्षित बनाउन बुद्धले एटीआर ४२ नामक ४७ सिट क्षमताको दुई जहाजलाई पूर्ण तयारी गरेको थियो ।
जनकपुर तथा पोखरामा आफ्ना प्राविधिक तथा व्यवस्थापकीय कर्मचारीको टोली नै खटाएको थियो । भ्रमणबाट नेपालको धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पनि थप टेवा पुग्ने निर्देशक बस्नेतको भनाइ छ ।
गणतान्त्रिक मुलुक भारतको ‘प्रथम नागरिक’लाई सेवा प्रदान गर्न पाउँदा बुद्ध एयर गौरवान्वित भएको पनि बुद्ध एयरले शुक्रबार बेलुका जारी गरेको एक विज्ञप्तीमा उल्लेख छ । मुखर्जी शुक्रबार बेलुका नै भारत फर्किएका छन् ।