संविधान संशोधन र स्थानीय चुनावमा दाहाल-ओली निकट
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संविधान संशोधन र चुनावबारे पछिल्ला सम्वाद सकारात्मक रहेका छन्।
संविधानमा असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउँदै स्थानीय तहको निर्वाचनमा प्रमुख दल एक ठाउँ उभिने विषयमा दाहाल-ओली निकट सहमति निकट पुगेका छन् । शुक्रबार बेलुका पनि दाहाल र ओलीबीच एक चरणको छलफल भएको छ।
संविधान निर्माणमा जस्तै कार्यान्वयनमा पनि एक स्थानमा उभिनुको विकल्प नरहेको धारणमा उनीहरूबीच समान मत रहेको दाबी स्रोतले गर्यो । स्रोतले ओलीको भनाइ उद्धृत गर्दै भन्यो, 'संविधान संशोधनमा एकमत भएर जानुपर्छ ।'
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दाहाललाई उद्धृत गर्दै भने, 'असन्तुष्ट पक्षलाई समेत समेट्ने गरी अघि बढौं ।' सरकार निर्वाचनको तयारीमा लागेकाले यो विषयमा समेत सहमति र सहकार्य आवश्यक रहेकोमा प्रधानमन्त्रीले जोड दिएको आचार्यले बताए ।