चैनपुर-ताक्लाकोट नाका खोल्न दबाब अभियान

चैनपुर-ताक्लाकोट नाका खोल्न दबाब अभियान

धनगढी: सुदूरपश्चिमको बझाङ सदरमुकाम चैनपुर-ताक्लाकोट नाका खोल्न हस्ताक्षर अभियान सुरु गरिएको छ । कैलाश मानसरोवर जान भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने भन्दै सुदूरपश्चिमको चैनपुर-ताक्लाकोट नाका खोल्ने माग तीव्र बनेको हो ।

सुदूरपश्चिम पर्वतारोहण संघ साइपाल हिमाल शाखा, नेपाल टुर्स एन्ड ट्राभल्स एसोसिएसन (नाटा) सुदूरपश्चिम, सुदूरपश्चिमाञ्चल पर्यटन तथा संस्कृति संवद्र्धन केन्द्रलगायत पर्यटनको क्षेत्रमा लागेका संघसंस्थाको पहलमा कात्तिक १० गते चैनपुरबाट सुरु गरिएको अभियानअन्तर्गत शुक्रबार र शनिबार धनगढीमा पनि हस्ताक्षर संकलन गरिएको छ । 'सुदूरपश्चिम समृद्धि मार्ग' नाम दिइएको चैनपुर-ताक्लाकोट नाका खुले प्रदेश नं ७ नेपालकै समृद्ध प्रदेश बन्ने र यहाँको आर्थिक गतिविधिमा सहयोग पुग्ने भएकाले सरकारलाई दबाब दिन हस्ताक्षर अभियान सुरु गरिएको सुदूरपश्चिम पर्वतारोहण संघ साइपाल हिमाल शाखाका अध्यक्ष कटकबहादुर कठायतले बताए ।

सरकारले उक्त नाका खोलेपछि भारतको राजधानी दिल्ली हुँदै धनगढी-डोटी-चैनपुर र उरै भन्ज्याङ भएर मानसरोवर जाने भारतीय पर्यटक आउनेछन् । अहिले भारतीय पर्यटक भारतको राजधानी दिल्लीबाट विमानबाट काडमाडौं, काठमाडौं-नेपालगन्ज, नेपालगन्ज-सिमीकोट र सिमीकोटबाट हेलिकोप्टरमा ताक्लाकोट जाने गरेका छन् । 'यो झन्डै दुई हजार दुई सय किलोमिटरको यात्रा हो । यसमा एकजना पर्यटकले करिब एक लाख भारु खर्च गर्नुपर्छ । त्यो बाटो लामो र बढी खर्चालु भएकाले सीमित पर्यटक मात्रै मानसरोवर दर्शनका लागि आउने गरेका छन्', नाटा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले भने । दिल्लीलाई केन्द्रबिन्दु मान्ने हो र चैनपुर-ताक्लाकोट हुँदै कैलाश मानसरोवर जाने हो भने दुई हजार दुई सय किलोमिटर दूरी घटेर सात सय ५० किलोमिटर मात्रै हुने उनको भनाइ छ ।

'अहिले दिल्लीबाट महेन्द्रनगर र धनगढीसम्म नेपाली नम्बरका एसी बस सञ्चालनमा छन् । महेन्द्रनगर र धनगढीबाट दैनिक सातवटा यात्रुवाहक (बस चैनपुरसम्म सञ्चालनमा छन् । 'चैनपुरदेखि ३२ किलोमिटर उत्तरसम्म जिप सञ्चालनमा छन् । त्यहाँबाट मात्रै पनि हेलिकोप्टरमा भारतीय पर्यटकलाई ताक्लाकोटसम्म लैजान सक्ने हो भने एक लाख भारु खर्च हुने उक्त यात्रा २५ हजार भारुमै गर्न सकिन्छ', भट्टले भने ।

केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा सरकारले चीनसँग खोलेका सातवटा नाकामध्ये सुदूरपश्चिममा एउटा पनि नाका नपरेपछि, सुदूरपश्चिमवासी उत्तरतर्फका नाकाका लागि जुर्मुराउन थालेका हुन् ।

दार्चुलाको तिंकर-ताक्लाकोट र बझाङको चैनपुर-ताक्लाकोट नाका खोल्ने विषय सरकारको प्राथमिकतामा नपरेपछि यस क्षेत्रका पर्यटन व्यवसायीले हस्ताक्षर संकलन गरेका हुन् । उनीहरूले काठमाडौंमा पनि बृहत् कार्यक्रम आयोजना गरी संकलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने तयारीसमेत गरेका छन् ।

'सिमीकोटदेखि ताक्लाकोटको दूरी र बझाङको उरै भन्ज्याङबाट ताक्लाकोटको दूरी बराबर छ । तर यो नाकालाई सरकारले आधिकारिक मान्यता दिएको छैन । सरकारले नाका खोल्नेबित्तिकै भारतीय पर्यटक चैनपुर-ताक्लाकोट नाका भएर ओइरिने सम्भावना छ', एक महिनाअघि मात्रै चैनपुर-ताक्लाकोट नाका भएर कैलाश मानसरोवर पुगेका पर्यटन व्यवसायी किशोर खड्काले भने । उरै भन्ज्याङबाट पाँच दिन पैदल हिँडेर ताक्लाकोट पुगेको उनले बताए ।

अहिले यो नाका सरकारको प्राथमिकतामा नपरे पनि प्रदेश नं ७ को समृद्धिका लागि चैनपुर-ताक्लाकोट नाका खोल्नैपर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको भनाइ छ । सुदूरपश्चिमवासीले गरेको उत्तरी नाकाको मागमा आफ्नो पनि समर्थन रहेको भन्दै हस्ताक्षर अभियानमा उनले सहभागिता जनाएका छन् ।

कैलालीको टीकापुरमा 'जिरो प्वाइन्ट' राखेर निर्माण भइरहेको सेती लोकमार्गको पनि अन्तिम बिन्दु चीनको ताक्लाकोट रहेको उनले बताए । 'विश्वकै ठूलो अर्थतन्त्र रहेको उत्तरी छिमेकी चीन र विश्वमा उदीयमान अर्थतन्त्र भएको दक्षिणी छिमेकी भारतसँगको सडक सञ्जाल मेरो प्राथमिकता हो', उनले भने ।

 

सरकारले यसपटक सेती लोकमार्गको निर्माणका लागि ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षदेखि करिब दुई सय २० किलोमिटर रहेको टीकापुर-ताक्लाकोट सेती लोकमार्गलाई दुईवटा आयोजनामा विभाजन गरिएको छ । टीकापुरदेखि चैनपुरसम्मको करिब एक सय ३५ किलोमिटरलाई सेती लोकमार्ग (दक्षिणी खण्ड) र चैनपुरदेखि ताक्लाकोटसम्मको करिब ८५ किलोमिटरलाई सेती लोकमार्ग (उत्तर खण्ड) नाम दिई छुट्टाछुट्टै आयोजना कार्यालय खडा गरिएको छ ।

सेती लोकमार्गको दक्षिणी खण्ड टीकापुरबाट सुरु भएर पूर्वपश्चिम राजमार्गको बौनियाबाट डोटीको दिपायल, अछामको साँफेबगर हुँदै चैनपुर पुग्नेछ । यसको आयोजना कार्यालय अछामको साँफेबगरमा राखिएको छ । यसका लागि चालू आर्थिक वर्षमा ३२ करोड रुपैयाँ विनियोजन भएको र त्यसको ठेक्का लगाउने प्रक्रिया थालिएको आयोजना प्रमुख दीपेन्द्र पाण्डेले बताए ।

चैनपुरदेखि चीनको ताक्लाकोट जोड्ने (सेती लोकमार्गको उत्तरी खण्ड) सडक निर्माणको जिम्मा इन्जिनियर ललिजन खनाललाई दिइएको छ । यसको कार्यालय चैनपुरमा छ । सरकारले यसका लागि चालू आवमा आठ करोड रुपैयाँ विनियोजन गरेको छ । 'हामीलाई २५ करोड रुपैयाँसम्मको ठेक्का लगाउने अख्तियारी आएको छ, प्रक्रिया अगाडि बढेको छ', खनालले भने ।

चैनपुर-ताक्लाकोट ८५ किलोमिटर सडकमध्ये ३२ किलोमिटरसम्म जिप चल्न थालेका छन् । त्यसभन्दा उत्तर ३० किलोमिटरसम्म नापी भइसकेको र ६० किलोमिटरको डीपीआर पनि बनिसकेको उनले बताए । चीनसँगको नाका खोल्न सरकारले सेती लोकमार्गको उत्तरी खण्डका लागि बजेट बढाउनुपर्ने र नाका घोषणा गरे मात्रै पनि सुदूरपश्चिमको विकासले गति लिने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल हमालले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.