होटेलमा जुरमुराउँदै नेपालगन्ज

होटेलमा जुरमुराउँदै नेपालगन्ज

नेपालगन्ज: भारतको होटेल ओबरायमा काम गरिरहेका असित शमशेर राणा नेपालगन्जको सानो होटेलमा खुम्चिँदा झण्डै पागल भएका थिए । साततारे ओवराय होटेलमा विदेशी पर्यटकको घुइँचो लाग्थ्यो । नेपालगन्जको ६ कोठे स्नेहा होटेलमा पर्यटक आउँदैनथे । नेपालीमा पनि घुमफिर गर्ने संस्कृति बढिसकेको थिएन । लक्जरी होटेलमा काम गरेका असितलाई आफैं ग्राहक खोज्नुपर्ने बाध्यता भयो ।

बुवा पृथु शमशेर राणाले २०३५ सालमा आफ्नो पुख्र्यौली घरलाई होटेलमा रुपान्तरण गरेका थिए । त्यतिबेला नेपालगन्ज जोड्ने सडकसमेत थिएन । हवाई उडान पनि धेरै पछि सुरु भएको हो । न त भारतबाट पर्यटक आउँथे, न त काठमाडौंबाट नै । बुवाको आग्रहमा ओबराय छाडेर नेपालगन्जमा होटेल चलाउन निकै कसरत गर्नुपरेको असित सम्झन्छन् । तर, अहिले अवस्था फेरिएको छ । यहाँ दर्जन तारे होटेल खुलिसकेका छन् । चारतारे होटेल पाँचवटा पुग्दैछन् । यति हुँदा पनि सिजनमा कोठा पाइँदैनन् । पाहुनालाई कोठा नपुगेर कन्फ्रेन्स हलमा समेत सुताउने गरेको उनको भनाइ छ ।

हुम्ला सिमीकोट हुँदै तिब्बतको मानसरोवर पुग्ने छोटो रुट खुलेपछि नेपालगन्जमा होटेल खोल्ने होडबाजी सुरु भएको हो । सँगसँगै हुम्ला, डोल्पा, खप्तड, रारामा ट्रेकिङ सुरु भएपछि तेस्रो मुलुकका पर्यटक पनि आउन थाले । सन् १९८६ तिर होटेलका कोठा ४०÷५० डलरसम्म बिक्री गरेको असित बताउँछन् । विस्तारै नेपालगन्ज हुँदै रारा, खप्तड, बडीमालिका जाने पर्यटक पनि बढे । माओवादी द्वन्द्वको अन्त्यसँगै मध्य र सुदूरपश्चिम क्षेत्रमा बढेका आईएनजीओले होटेल बिजनेस झनै फस्टायो ।

पर्यटकीय गतिविधि बढेपछि स्नेहा होटेल ६० कोठाको भइसकेको छ । तीन बिघा क्षेत्रफलमा फैलिएको स्नेहा तीनतारे होटेल हो । हालैमात्र नेपालगन्जमा चारतारे स्तरका होटेल कृष्णा र ह्वाइट हाउस रिजेन्सी सञ्चालनमा आइसकेका छन् । अर्को चारतारे सोल्टी होटेल वैशाखदेखि सञ्चालनमा आउँदैछ । कोहलपुरमा चारतारे होटेल सेन्ट्रल प्लाजा निर्माण भइरहेको छ । सिद्धार्थ समूहले ५० कोठाको होटेलमा ७० कोठाहथपेर चारतारे स्तरको बनाउँदैछ ।

बन्दैछ होटेलको हब

नेपालगन्जमा सोल्टी होटेल सञ्चालनको अन्तिम चरणमा छ । काठमाडौंमा लक्जरी पाँचतारे सोल्टी होटेल चलाइरहेको समूहले नेपालगन्जमा पनि लक्जरी होटेल सञ्चालन गर्न लागेको हो । भौतिक संरचना निर्माण भइसकेको छ । अहिले इन्टेरियर डिजाइनको काम भइरहेको छ । होटेल वैशाखसम्म सञ्चालनमा ल्याइसक्ने लगानीकर्ता रविभक्त श्रेष्ठले बताए । झण्डै ६० करोड रुपैयाँ लगानी हुने होटेलमा ८१ वटा कोठा हुनेछन् । होटेलमा मिनी क्यासिनो हुनेछ । स्विमिङ पुल, अढाइ सय क्षमताको सेमिनार हल, एक सय क्षमताको रेस्टुरेन्टलगायतका सुविधा हुनेछन् ।

औषधि व्यवसायी दीपेन्द्र अग्रवालले ५० करोड लगानीमा होटेल कृष्णा सञ्चालनमा ल्याएका छन् । होटेलको व्यवस्थापन चर्चित बहुराष्ट्रिय ब्रान्ड सिग्नेट इनले सम्हालेको छ । आठ तलाको भवनमा ९२ कोठा छन् । सभा सेमिनार हल, हेल्थ क्लव, स्विमिङ पुललगायतका सुविधा होटेलमा छन् ।

नेपालगन्जमा निर्माण भइरहेको चारतारे होटेल सोल्टी । 

कोहलपुरमा स्थानीय व्यवसायी देवेन्द्र अर्यालले चारतारे स्तरको होटेल सेन्ट्रल प्लाजा निर्माण गरिरहेका छन् । मदनचोक नजिकै निर्माण भइरहेको होटेलमा ३० करोडभन्दा बढी लगानी हुँदैछ । अग्लो भवनमा ८० वटा कोठा बनाउने लक्ष्य राखिएको छ । यहाँ पनि सभाहल, साउना, स्पा, स्विमिङपुललगायत हुनेछन् ।

अहिले सञ्चालनमा रहेको सिद्धार्थ होटेलको स्तरोन्ति भइरहेको छ । होटेलमा ७० कोठा थपेर एक सय २० पुर्‌याउन थालेको छ । यसका लागि ३५ करोड रुपैयाँ लगानी हुने होटेल व्यवस्थापनले जनाएको छ । होटेलमा मिनी क्यासिनो राखिने भएको छ । तीन सय क्षमताको सेमिनार हल हुनेछ । स्विमिङ पुल अहिले नै छ ।

होटेल स्नेहापछि खुलेको हो, होटेल बाटिका । धवल समसेर राणाले यो होटेल खोलेका हुन् । त्यसपछि शंकर शाहले किचन हट खोलेका थिए । यो होटेल अहिले डा.कनौडियाको समूहले खरिद गरेर चलाइरहेको छ । होटेल कल्पतरु प्नि नेपालगन्जको लक्जरी होटेल हो । अपार्टमेन्टसहितको यो होटेलमा सिम्रिक एयर, गोमा एयर, तारा एयरलगायतका कम्पनीले कार्यालय राखेका छन् ।

नेपालगन्जको सिटी प्लाजा र कोहलपुरको पप लाइफ पनि पर्यटकस्तरीय होटेल हुन् । अहिलेसम्म नेपालगन्ज क्षेत्रमा एक दर्जन पर्यटकस्तरीय होटेल सञ्चालनमा आइसकेका छन् । यहाँ नयाँ होटेल खुल्ने क्रम जारी छ । कतिपय सञ्चालनमा रहेका होटेलले क्षमता विस्तार गरिरहेका छन् ।

होटेल बिजनेस

नेपालगन्जमा होटेल बिजनेस सुरुवात स्नेहा होटेलले गरेको हो । होटेल स्नेहा सुरु हुँदा नेपालगन्जको उत्तर दक्षिण दुवैतर्फ निकास थिएन । डोल्पा, हुम्ला निषेधित थियो । मानसरोवर सिन्धुपाल्चोकको बाटो हुँदै गइन्थ्यो । नेपालगन्जमा पर्यटकीय व्यापारको सम्भवना थिएन ।

ओबराय छाडेर असित सन् १९८६ मा नेपालगन्ज आउँदा पर्यटक आउँदैनथे । होटेल चलाउने सम्भवना देखिदैनथ्यो । उनी होटेल कसरी चलाउने भनेर सम्भावना खोज्दै भौतारिन्थे । यही क्रममा उनले तिब्बतको मानसरोबर पुग्न सबैभन्दा छोटो दूरी हुम्लाबाट पर्ने पत्ता लगाए । तातोपानीबाट निकै लामो रुट पथ्र्यो । मानसरोबर पुग्न १४/१५ दिनसम्म लाग्थ्यो । हिल्साबाट ४/५ दिनमै मानसरोवर पुग्न सकिन्थ्यो । तर, यो रुट नेपाल र तिब्बत दुवैतर्फबाट खोलिएको थिएन ।

 

शेरबहादुर देउवा प्रधानमन्त्री थिए । असितले देउवालाई हुम्लाको रुट खोल्न दबाब दिए । सरकारबाट खम्पा काण्डका कारण यो क्षेत्र निषेधित गरेको खबर आयो । नेपाल आर्मिले खम्पालाई मारेपछि निषेधज्ञा लगाएको रहेछ । 'हामीले पुरानो खम्पा काण्डकै कारण किन यो रुट नखोल्ने भनेर लबिङ गरियो', उनले भने, 'नेपालतर्फ लगाइएको निषेधज्ञा सरकारले हटायो, अनि चीनलाई मनाउन कसरत थालियो ।'

चिनियाँ पक्षलाई मनाउन तत्कालीन एसएसपी अमर सिंह, असित राणा, सुशील पन्त, हुम्लाका तत्कालीन कांग्रेस जिल्ला सभापति जीवनबहादुर शाहीको संयुक्त टोली हेलिकोप्टर भाडामा लिएर तिब्बतर्फ लाग्यो । त्यो बेला तिब्बतमा आफूहरूको भव्य स्वागत भएको असित सम्झन्छन् । तिब्बतले पनि हिल्साबाट मानसरोबर जाने रुट खोलिदियो ।

नेपालले पनि निषेध गरेका हुम्ला, डोल्पाका क्षेत्र ट्रेकिङका लागि खुला गर्‌यो । अनि बढ्यो, नेपालगन्जमा पर्यटकीय चहलपहल । 'हामीले भारतमा मानसरोवर जाने नयाँ रुटको व्यापक प्रचारप्रसार गर्‌यौं', असितले भने, 'तातोपानीबाट मानसरोवर जाने धार्मिक पर्यटक हुम्लाको सिमिकोट, हिल्सा हुँदै जान थाले ।' ट्रेकिङ सुरु भएपछि २० कोठा बनाएको स्नेहा होटेलले मानसरोबर रुट खुलेपछि ४० कोठाको बनायो । काठमाडौंबाट नेपालगन्ज उडान सुरु भइसकेको थियो ।

भारतबाट नेपालगन्जसम्म पनि बाटो खुलिसकेको थियो । नेपालगन्जबाट हुम्लाको सिमीकोट, हिल्सा हुँदै मानसरोबर पर्यटक लैजान थालियो । मानसरोवर पुग्ने अधिकांश पर्यटक भारतीय र अलिअलि नेपाली पनि हुने गर्छन् । नेपालगन्जबाट सिमिकोटसम्म जहाजमा र सिमीकोटबाट हिल्लासम्म हेलिकोप्टरमा गएर मानसरोवर पुगिन्छ । नेपालगन्जबाट मानसरोबर पुगेर फर्किन चार दिन लाग्छ । यसका लागि डेढ लाख भारु खर्च गर्नुपर्छ ।

द्वन्द्वको अन्त्यसँगै होटेलको बहार

माओवादी १० वर्षे सशस्त्र द्वन्द्वको अन्त्यपछि मध्य तथा सुदूरपश्चिममा आईएनजीओ र एनजीओको बाढी नै आयो । यी संस्थाले नेपालगन्जमा प्रधान तथा क्षेत्रीय कार्यालय खोलेर जिल्लामा काम गर्न थाले । काठमाडौंबाट सीधा उडान भएकाले नेपालगन्ज आईएनजीओको हब बनेको हो । यसले नेपालगन्जमा होटेलको आवश्यकता थप बढाइदियो ।

माओवादी द्वन्द्वको अन्त्य भएपछि नेपालगन्जमा होटेलको बहार आएको असित बताउँछन् । उनको ४० कोठाको स्नेहा होटेल ६० कोठाको बन्यो । ६ वर्षअघि उनको होटेलमा मिनी क्यासिनो खुल्यो । भारतीय मार्केट बुम भइरहेको थियो । मानसरोबर जानेमात्र होइन, क्यासिनो खेल्न पनि भारतीय नेपालगन्ज आउन थाले । गोरखपुर, लखनाउबाट पनि क्यासिनो खेल्न आउने गरेको उनी बताउँछन् ।

सोल्टी होटेलले मानसरोबर जाने पर्यटकसँगै आईएनजीओ र ठूला परियोजनाका काम गर्ने कर्मचारीलाई लक्षित गरेर होटेल खोल्न लागेको हो । पछिल्लो समय मध्य र सुदूरपश्चिम क्षेत्रमा ठूला विकासे परियोजना निर्माण हुँदैछन् । डेढ दर्जन पहाडी जिल्लाको प्रवेशद्धार मानिन्छ, नेपालगन्ज ।

नेपालगन्जको भविष्य

नेपालगन्जको भविष्य अझ सुनौलो रहेको असित बताउँछन् । उनका अनुसार माउन्टेन फ्लाइटजस्तै मानसरोवर पनि जहाजबाट घुमाउने बन्दोबस्त मिलाउन लागिएको छ । 'अहिले मानसरोबर जान चाहाने भारतीयमध्ये २० प्रतिशतमात्र जान सकिरहेका छन् हाई अल्टिच्यूटमा अक्सिजन कम हुने भएकाले सबै जान सक्दैनन्, त्यसमाथि केही मानिस अशक्त र वृद्ध छन्', उनले भने, 'यस्ता व्यक्तिलाई जहाजबाट सीधै मानसरोबर देखाएर फर्काउने व्यवस्था मिलाउन सकिएमा नेपालगन्जको महिमा अझ बढ्नेछ ।'

नेपालगन्जबाट हेलिकोप्टर र जहाजबाट मानसरोबर घुमाएर फर्काउने चीनसँग प्रस्ताव राखेको असितले बताए । चीनले असुरक्षीत महशुस गरेको छ । 'मैले चीनसँग तिमीहरूको जहाज लिजमा लिएर नेपालगन्जबाट मानसरोवर घुमाउने प्रस्ताव राखेको छु, चिनियाँ पक्षले यस विषयमा सोचिरहेको छ', उनले भने, 'यो व्यवस्था भएमा अहिले भइरहेका होटेलले पुग्दैनन् ।'
लखनाउबाट रुपैडियासम्म भारतले चार लेनको सडक बनाइसकेको छ । रुपैडियादेखि कोहलपुरसम्म नेपालले ६ लेनको सडक बनाएको छ ।

यसले पनि भारतीय पर्यटकलाई नेपाल आउन थप सहज बनेको छ । नेपालगन्जमा क्यासिनो खेल्न आउने धेरै हुन्छन् । सडकको सहज पहुँचले अझ भारतीयको संख्या बढिरहेको असित बताउँछन् । उनले भारतीय पर्यटकलाई लक्षित गरेर ठूलो क्यासिनो सञ्चालन गर्न खोजिरहेका छन् । ठूलो क्यासिनो सञ्चालन अनुमति पाएमा होटेलको स्तरोन्नति गरी चारतारे बनाउने बताए । होटेल सिद्धार्थले पनि मिनी क्यासिनो खोल्न लागेको छ । निर्माणाधीन सोल्टीमा पनि मिनी क्यासिनो रहने बताइएको छ ।

यस्तै, हुम्लाको सिमीकोटबाट हिल्सासम्म सडक बनाउन लागिएको छ । चीन जोड्ने हिल्सा नाका नेपाल सरकारको प्राथमिकतामा समेत छ । यो नाका खुलेमा मानसरोवर भ्रमणमा पहुँच राख्नेहरू बढ्ने असित बताउँछन् । पछिल्लो समय रारा, खप्तड, बडीमालिका आन्तरिक तथा बाह्य पर्यटक पुर्‌याउन आकर्षक प्याकेज बनिरहेका छन् । यसले पनि नेपालगन्जमा पर्यटकीय गतिविधि बढाउन मद्दत मिल्नेछ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.