सेनाको जागिर छाडेर माैरीपालन
धादिङ: घरको बरन्डा मौरीका घारले छपक्कै ढाकिएको छ । सडकबाट झलक्क हेर्दा सजावटका लागि राखे जस्तो देखिने धादिङवेसीको यो घरमा नारायण घिमिरेले जागिर नै छाडेर व्यावसायिक मौरीपालन गर्दै आएका छन् । उनले वर्षौ अघिदेखि सदरमुकाम धादिङबेसीस्थित शान्त बजारको आफ्नै घरमा मौरी पाल्दै आएका छन् ।
नेपाली सेनामा जागिर खाएका घिमिरेले सेनाको जागिरबाट विदा लिएर घरमै मौरीपालन गरेका हुन् । घिमिरेको मुख्य आम्दानीको स्रोत नै अहिले मौरी व्यवसाय भएको छ । उनले तीन तले पक्की घरको छत र बरन्डामा मौरीका घार राखेका छन् । नौ वर्षयता उनले मौरीपालनलाई यसरी नै मुख्य पेसा बनाउँदै आएका छन् ।
थोरै लगानी र कम मिहिनेतमा धेरै फाइदा लिन सकिने भएकाले मौरीपालनलाई व्यावसायिक ढंगले बढाउदै लगेको घिमिरेले बताए । उनले भने, 'मह किन्न मानिसहरू अर्डर गरेर घरमा नै लिन आइपुग्छन्, बिक्रीका लागि समस्या हुँदैन ।' खेर जाने फूलका रस सदुपयोग गर्न, वरिपरीका बोटबिरुवामा परागसेचन गराएर राम्रो र रसिलो फल फलाउन सकिने भएकाले यस्तो पेशा रोजेको उनले बताए ।
घिमिरेसँग हाल एक सय आधुनिक घार छन् । मानाको पाँच सय रुपैयाँसम्म लिएर उनले घरबाटै मह बिक्री गर्ने गरेका छन् । वार्षिक ४ लाख रुपैयाँ बराबरको मह बिक्री हुने गरेको घिमिरेले बताए । उनले मौरीपालन सुरु गर्छु भन्ने किसानलाई घारैसमेत बेच्ने गरेका छन् । मौरीपालनकै आम्दानीबाट उनले दुई छोरा र दुई छोरीको पढाइ खर्च र घर खर्च धानिरहेका छन् ।
पैसा कमाउन की त राम्रै जागिर खानु पर्छ, की ठूलै लगानी गर्नु पर्छ नत्र विदेशीनुको विकल्प छैन भन्ने भ्रमलाई चिर्दै नारायण घिमिरे उदाहरणीय बनेका छन् । त्यो पनि कंक्रीटै कंक्रीटको मुख्य बजारमा । उनको घर नजिकै सामुदायिक बन भएकाले पनि मौरी पाल्न सजिलो भएको छ ।
मौरीपालनसम्बन्धी धेरै तालिम र कार्यक्रमले उनलाई मौरीपालन गर्ने उर्जा थपेको छ । मौरी विकास शाखा गोदावरीको एक हप्ते, गण्डकी वी कन्सर्नको एक हप्ते, र जिल्ला कृषि विकास कार्यलयले आयोजना गरेको मौरीपालनसम्बन्धी तीन दिने तालिम लिएका घिमिरेले जोशजाँगरसहित काम गरी खानेका लागि नेपालमा कुनै समस्या नभएको बताए ।
यस्तै चैनपुरकी तेजकुमारी अर्यालले पनि सदरमुकामकै घरमा मौरी पाल्दै आएकी छिन । एक विद्यालयको कार्यालय सहयोगीको रूपमा जागिर गर्दै आएकी अर्यालले जागिर छाडेर घरको कौंसीमा आधुनिक घार राखेर मौरीपालन गरिरहेकी छिन् । रोजगारीको लागि श्रीमान विदेशमा रहेकाले उनले छोराको स्याहारसम्हारसँगै घरमै बसेर मौरीको हेरचाह गर्ने गरेकी छिन् । श्रीमानको सहयोगमा सुरु गरेको यो व्यवसाय अहिले उनी आफैंले सम्हालीरहेकी छिन् ।
तेजकुमारी भन्छिन्, 'खासै धेरै लगानी र मिहिनेत नगरे पनि आम्दानी राम्रो हुने भएकाले घरको काम र छोराछोरीको हेरचाह गर्दै मौरीपालन गरिरेकी छु । मेरो विचारमा बेरोजगार र घर बाहिर निस्कन नमिल्ने महिलाका लागि मौरीपालन व्यवसाय ज्यादै सहज र राम्रो हुन्छ ।'
२ वर्ष अघिबाट २ लाख लगानीमा सुरु भएको मौरीपालनबाट वार्षिक एक लाख ५० हजारसम्म आम्दानी गरिरहेकी छिन् । उनले महलाई ६ सय रुपैयाँ मानोमा, मौरीसहितको घारलाई ६ हजार ५ सयदेखि ८ हजार सम्ममा बिक्री गरिरहेकी छिन् । मौरीपालन सुरु गर्दा उनी आफैंले लगानी गरे पनि पछि जिल्ला कृषि विकास कार्यलयले घार उपलब्ध गराएर, युवा लक्षित अनुदान दिएर सहयोग गर्नाले मौरीपालनमा ज्यादै सजिलो भएको अर्यालको भनाइ छ ।
नारायण र तेजकुमारी त उदाहरण मात्रै हुन् । उनीहरूजस्ता मौरीपालक धादिङमा धेरै छन् । धादिङको नलाङ, जोगीमारा, नौविंसे, मैदी, ढोला, नीलकण्ठजस्ता गाउँ विकास समितिका किसानले मौरीपालन गरेर प्रशस्त लाभ लिइरहेका छन् । तर अझै पनि किसानले आधुनिक प्रविधिसँग जोडिन नसकेकोले जिल्ला कृषि विकास कार्यालयले त्यसतर्फ ध्यान दिनुपर्ने किसानहरू नै बताउँछन् । जिल्ला कृषि विकास कार्यालयले पनि पछिल्लो समय मौरी पाल्न चाहने कृषकलाई विभिन्न प्राविधिक सल्लाह तथा घार सहयोग उपलब्ध गराउँदै आएको छ ।