सुर्खेतमा ब्राउन सुगरसहित दुई जना पक्राउ
सुर्खेत: सुर्खेतमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुलाई आइतवार दिउँसो वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वीरेन्द्रनगर औद्योगिक क्षेत्र नजिकबाट १९ वर्षीय तेज राना र १८ वर्षीय रमेश राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक धुव्र्रराज वोहराको नेतृत्वमा खटिएको गस्ती टोलीले पक्राउ गरेको हो।
वीरेन्द्रनगर खजुरा घर भएका दुबैजनाको साथमा लागूऔषध ब्राउनसुगर फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उनीहरुबाट दुई सय ६० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ।
तेज रानाको साथबाट दुई पुरिया र रमेशको साथबाट एक सय ४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ। जिल्लामा लागूऔषधको सेवन र कारोबार मुख्य समस्या रहेको भन्दै प्रहरीले पछिल्लो समय विषेश निगरानी बढाएको छ।