‘लोकमानविरुद्धको महाअभियोगको पक्षमा नउभिए कांग्रेस बढारिन्छ’
अर्घाखाँचीः नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावको पक्षमा नउभिए कांगेस जनताबाटै बढारिने चेतावनी दिएका छन्।
कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव सर्वसम्मतीले पारित गर्नु पर्ने बताउँदै महाअभियोगको पक्षमा कांग्रेस नआए जनताले नै ठेगान लगाउने चेतावनी दिएका हुन्।
रिपोर्टर्स क्लब नेपाल अर्घाखाँची शाखाले आइतबार गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले कांग्रेस अन्तिममा महाअभियोग प्रस्तावमा समर्थन जनाउने विश्वास व्यक्त गरे। उनले एक वर्षभित्रमा तीन तहको निर्वाचन हुन नसके देश गम्भीर दुर्घटनामा फस्ने बताए।
अहिलेको परिस्थितिमा चैतमा स्थानीय निकायको निर्वाचन नसक्ने संकेत देखा परेको ज्ञवालीले बताए। उनले पछिल्लो समय तीन ठूला राजनीतिक दलहरुबीच बढ्दै गएको तिक्तताले गर्दा राजावादी शक्तिहरु सल्बलाउन थालेको बताए।
ज्ञवालीले राष्ट्र र जनताको हितमा आवश्यक हुने संविधान सशोधनका लागि एमाले बाधक नबन्ने बताए। उनले अहिले सत्ता टिकाउनकै लागि राष्ट्र नै कमजोर हुने गरी संविधान संशोधनको चलखेल भएको आरोप लगाए।
प्रचण्ड नेतृत्वको वर्तमान सरकारले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर रहेको बताए पनि भारतले नेपालको संविधानलाई सहर्ष स्वीकार नगर्नुले नेपाली जनतामा भ्रम सिर्जना गरेको उनले बताए।