जाल्टन इब्राहिमोविज चम्किएपछि म्यानचेस्टर युनाइटेड विजयी
काठमाडौं: स्वीडिस् खेलाडी जाल्टन इब्राहिमोविचको दुई गोलको मदतमा म्यानचेस्टर युनाइटेडले स्वान्सी सिटीलाई पराजित गरेको छ।
प्रिमियर लिग फुटबलका पछिल्ला चार खेलमा लगातार जित हात पार्न नसकेको म्यानचेस्टर युनाइटेडका स्वान्सीविरुद्धको खेलमा इब्राहिमोविच चम्किए, टोलीलाई ३-१ गोल अन्तरको जित दिलाए।
खेलको १५ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २१ औं मिनेटमा इब्राहिमोविचले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे।
यस्तै खेलको ३३ औं मिनेटमा इब्राहिमोविचले व्यक्तिगत दोस्रो गोल गरेपछि म्यानचेस्टर युनाइटेड पहिलो हाफमै ३-० को अग्रता लिन सफल भयो।
तर, दोस्रो हाफमा भने युनाइटेडले गोल गर्न सकेन। स्वान्सीका लागि खेलको ६९ औं मिनेटमा भान डेर हुमले सान्तोना गोल गरे।
जितपछि ११ खेलबाट १८ अंक जोडेको म्यानचेस्टर युनाइटेड लिग तालिकाको छैठौं स्थानमा उक्लिएको छ भने समान खेलबाट ५ अंक जोडेको स्वान्सी सिटी पुछारबाट दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको लिभरपुलको भने समान ११ खेलबाट २६ अंक छ।