भारतको सुरक्षा चासोप्रति सजग छौं: देउवा

भारतको सुरक्षा चासोप्रति सजग छौं: देउवा

काठमाडौं: पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको सुरक्षा चासो र अतिवादको जोखिमप्रति नेपाल सजग रहेको बताएका छन् ।

जवाहरलाल नेहरू विश्वविद्यालयले नयाँदिल्लीमा आइतबार आयोजना गरेको 'एक्काइसौं शताब्दीमा लोकतन्त्र र प्रगति' विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले उक्त कुरा बताएका हुन् । 'भारत अहिले २१ औं शताब्दीको निर्धारक बन्न अग्रसर छ । भारतको यो प्रयासप्रति नेपाली जनताको साथ रहेको हामी आश्वस्त पार्न चाहन्छौं', उनले भने, 'खासगरी भारतका सुरक्षा चासो र अतिवादको जोखिमप्रति हामी सजग छौं ।'

गत वर्ष नेपालमा नयाँ संविधान जारी भएपछि मधेसी दलले त्यसमा असन्तुष्टि जनाएकाले ती असन्तुष्टि सम्बोधनका लागि संविधान संशोधन हुन लागेको उनले बताए । 'विशेषगरी तराईमधेसका राजनीतिक दल तथा अन्य दलहरूलाई समेत मान्य हुने गरी नयाँ संविधानलाई सर्वस्वीकार्य बनाउन संविधान संशोधन गर्न हामी प्रतिबद्ध छौं', देउवाले भने ।

भारतले नेपालको नयाँ संविधानको हालसम्म स्वागत गरेको छैन भने मधेसका माग सम्बोधन गर्न निरन्तर दबाब दिइरहेको छ । भारतले मधेसी दलले उठाएका सबै माग सम्बोधन गर्न नेपाललाई तीव्र दबाब दिइरहेकै बेला भारत पुगेका देउवाले संविधान संशोधन गर्न प्रतिबद्धता जनाएका हुन् । नेपालको तीनदिने राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले संविधान संशोधन गरी मधेसलगायत सबै पक्षलाई सर्वस्वीकार्य बनाउन सुझाएका थिए ।

देउवाले नयाँ संविधानले महिला, मधेस, जनजाति सबैका अधिकार सुनिश्चित गरेको बताए । 'समग्रमा भन्नुपर्दा नेपालको आधुनिक इतिहासका झन्डै २५० वर्षमा नयाँ संविधान सबैभन्दा उदार र लोकतान्त्रिक छ', उनले भने ।

भारतको सत्तारूढ दल भारतीय जनता पार्टी निकट एक थिंक ट्यांकको निमन्त्रणामा भारत भ्रमणमा रहेका देउवाले भारत र नेपालबीच जनस्तरको सम्बन्ध विस्तार हुँदै गइरहेको दाबी गरे । 'जनताबीच बढिरहेको विश्वासले हामीलाई आशा जगाएको छ', उनले भने ।

देउवाले नेपाल र भारतबीचको इतिहास साझा रहेको र भविष्य पनि साझा रहने बताए । 'हामी भूगोल, संस्कृति र धर्मले एकअर्कामा गाँसिएका छौं', उनले भने । हजारौं विद्यार्थी जेएनयूलगायत भारतीय विश्वविद्यालयमा अध्ययन गरिरहेको बताए ।
उनले भारतसँगको साझेदारीबाट नै नेपालले आर्थिक प्रगति गर्नसक्ने बताए । देउवाले नेपाल र भारतका स्वतन्त्रता आन्दोलनमा एकअर्काले योगदान दिएको बताए ।

उनले महात्मा गान्धी, जवाहरलाल नेहरू र जयप्रकाश नारायणलगायतबाट नेपालको लोकतान्त्रिक आन्दोलन प्रेरित भएको बताए । 'नेपालको लोकतान्त्रिक उपलब्धिमा भारतको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ', उनले भने । उनले नयाँदिल्लीमा भएको बाह्रबुँदे सहमतिले नेपालको सशस्त्र माओवादी युद्ध अन्त्य गर्दै लोकतान्त्रिक व्यवस्था पुनर्स्थापित गरेको र त्यसमा भारतको महत्त्वपूर्ण भूमिका रहेको बताए । 'बिनारक्तपात राजतन्त्र अन्त्य भयो । यसमा भारतको महत्त्वपूर्ण योगदान छ', उनले भने ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.