कर्णाली राजमार्गको सास्ती: यात्रुले नै धकेल्नुपर्छ गाडी

कर्णाली राजमार्गको सास्ती: यात्रुले नै धकेल्नुपर्छ गाडी

जुम्ला: साँघुरो र भत्किएको सडक । एकहोरो गाडी गुड्न पनि मुस्किल । बाटोमा अर्को गाडी भेटिँदा त्यसलाई साइड दिनै हम्मेहम्मे । छेउतर्फ तल कर्णाली नदी, भित्तातर्फ रिंगटा नै लाग्ने अक्करे भीर । भीरको बाटो र कडा चट्टान फोडेर खनिएको साँघुरो सडकमा यात्रुले धकेलेरै गाडी गुडाउनुपर्ने बाध्यता । आवश्यक सुधार र मर्मत नहुँदा हिजोआज यात्रा गर्दा कर्णाली राजमार्गमा यात्रुको शरीर नै जिरिङ–जिरिङ हुने गरेको छ ।

२०६३ वैशाखमा ट्र्याक खोलिएपछि सञ्चालनमा आएको यो राजमार्गमा आवश्यक सुधार तथा मर्मत नहुँदा अहिले यात्रुले गाडीलाई धकेल्दै गन्तव्यसम्म पुर्‌याउने गरेका छन् । वर्षात्को बेला सडकमा खसेको पहिरो, चट्टान र रूख पन्छाइएको छैन । बाढीले अधिकांश स्थानमा सडक भत्काएको छ । एक दर्जनभन्दा बढी खोलामा पुल छैनन् । तर, राजमार्गमा जबरजजस्ती सवारी साधन सञ्चालन गरिएको छ । अहिले चालकले खोलामा आँखा चिम्लेर सवारी हाँक्ने गरेका छन् ।

अर्कोतर्फ गाडीमा चढेर सजिलै यात्रा गर्ने सपना बोकेका कर्णालीवासी भने सडक सुधार र मर्मत नहुँदा गाडीलाई ठाउँठाउँमा धकेल्दै यात्रा गर्न बाध्य छन् । कर्णालीको भाग्यरेखा मानिएको यो राजमार्गमा गाडी सञ्चालन भएको एक दशक बितेको छ । सुर्खेतदेखि जुम्ला जोड्ने दुई सय ३२ किलोमिटर लामो कर्णाली राजमार्गले पछिल्लो सयम यात्रुलाई सुविधाभन्दा बढी सास्ती दिएको छ । लामो समयदेखि मर्मत तथा सुधार नहुँदा हिजोआज राजमार्गको धेरै स्थानमा कालोपत्रेसमेत भत्किसकेको छ ।

सडकमा रहेका ठूल्ठूला खाल्डा, हिलाम्य सडक र साँघुरो बाटोमा यात्रा गर्नुपर्ने बाध्यताले कर्णालीवासी हैरान भएका छन् । राजमार्गको कालीकोट खण्डमा सबैभन्दा बढी समस्या छ । लामो समयसम्म पनि सडकको स्तरोन्नति र मर्मतको काम नहुँदा सुर्खेतदेखि जुम्ला पुग्न सवारी साधनलाई पूरै एक दिन लाग्छ । साँघुरो र भत्किएको सडकमा गाडी फस्ने समस्याका कारण जाम हुँदा यात्रुले बीचबाटोमै घन्टौ भोकभोकै बस्नुपर्ने समस्या झेल्दै आएका छन् ।

अहिले यो राजमार्गको दहीखोला, टाकुल्ला, राँचुली, खल्लागाड र भैंसीगौंडालगायतका दर्जन स्थानमा सवारी साधन बढी फस्ने गरेका छन् । सडक बाढीले भत्काएको र मर्मत नभएपछि यी स्थानमा गाडी फस्ने गरेको चालक अर्जुन विकले बताए । यो राजमार्गमा यात्रुबस चलाउँदै आएका उनले भने, 'बाटोको हालत त खराब छ, गाडी नफसेको कुनै दिन हुँदैन । हामीले खोलामा आँखा चिम्लेर गाडी चलाउँदै आएका छौं, बाटो पनि साँघुरो छ, साइड दिन मिल्दैन ।'

उनले अधिकांश स्थानमा यात्रुले गाडी धकेल्दै गुडाउने गरेको बताए । टाकुल्लामा दुई घन्टासम्म गाडी फसेपछि दिक्क बनेका जुम्ला नराकोटका पूर्णबहादुर रोकायाले भने, 'सडक खुल्यो भनेर के छाती फुलाउनु हजुर ? बाटोको हालत यस्तो छ । हामीले गाडी धकेल्दै यात्रा गर्नुपर्छ, सुविधा होला भनेको त झन् दुःख भयो ।' सुर्खेतको यात्रा तय गरेका उनी बाटोमा गाडी धकेल्नुपर्दा थाकेर लखतरान परेका थिए ।

राजमार्ग सुधार नहुँदा सवारी दुर्घटनाको जोखिम बढेको छ । साना गाडीलाई केही सहज भए पनि यात्रुबस र मालवाहक गाडीलाई बढी समस्या देखिएको छ । पछिल्लो समय सडकमार्ग भएर रारा अवलोकनका लागि जानेहरूको संख्या बढेपछि यो राजमार्ग थप व्यस्त बनेको छ जसका कारण पनि सडकमा जाम हुने समस्या देखिएको छ । पहिलोपटक रारा जान लागेका काठमाडांै कलंकीका विकास महर्जनले बाटोको अवस्था देखेपछि भने, 'सडकको अवस्था दयनीय रहेछ, मलाई त निकै डर लाग्यो । राजमार्ग भनेर के गर्नु ? दोहोरो गाडी चल्नसक्ने अवस्था नै रहेनछ ।' उनले बाटोमा खसेको पहिरो हटाएको खण्डमा केही सहज हुने बताए । आफूहरूले रिर्जभ गरेको जिप पनि धेरै ठाउँमा फसेको उनको भनाइ थियो । सुरक्षित गन्तव्यमा पुग्न आफूहरूले गाडीमा यात्रा गर्दा देउता भाकल गर्ने गरेको जुम्ला तातोपानीका बिर्ख बुढाले बताए । 

यात्रा गर्दा कर्णालीवासीले सास्ती भोगिरहँदासमेत सडकको सुधारका लागि कसैले वास्ता गरेका छैनन् । विगतमा धेरै सडक दुर्घटना हुँदा यो राजमार्गलाई (मृत्युमार्ग) को उपमा दिइएको थियो तर पछिल्लो समय यो राजमार्गमा दुर्घटना रोक्न भन्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । अहिले दुर्घटनामा कमी आएको भए पनि सडकको स्तरोन्नति नहुँदा आफूहरूलाई यात्रामा सास्ती भएको गुनासो यात्रुले गर्दै आएका छन् । साथै उनीहरूले तत्काल सडक मर्मत गर्नसमेत माग गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.