'पैसा लिएर के गर्नु ? घर बनाउने ठाउँ छैन'
केरौंजा (गोरखा): पहिरो नै पहिरोको गाउँ भनेर चिनिने केरौंजाको सिरानमा ठूलो पहिरो छ, त्यसको फेदैमा साँघुरो गह्रो । साँगुरो गह्रोमा पाखुरा जत्रा खाँबा गाडेर उभ्याइएको झुप्रो । साठा र भाटा कसेर बारिएको झुप्रोमा ७१ वर्षकी नाम्के गुरुङको परिवार बस्छ । बुढेसकालको उनको साथी एउटी ३० वर्षकी छोरी मात्र छिन् ।
डेढ वर्ष भयो उनी पालभित्रै बसोबास गरेको । गत वर्षको भूकम्प र त्यसपछिको पहिरोले बास उठाएपछि उनी यहाँ बस्न आएकी हुन् । बुढेसकालमा पालमुनि बस्दाको सकस भनिनसक्नु छ । 'साँझ घाम डुबेपछि स्याँठ चल्न थाल्छ । रातभरि, बिहानभरि स्याँठ चलेर घरै उँडाउलाजस्तो हुन्छ । बाहिर निस्कनै सकिँदैन', नाम्के भन्छिन्, 'सिँगान चुहिएको चुहियै छ । अहिले त यस्तो, अब मंसिर पुस लागेपछि त झन् हिउँ पर्न थाल्छ । चिसोले मरिन्छ कि बाँचिन्छ थाहा छैन ।' चिसोले अहिले केरौंजा गाउँभरि रुघाखोकीका बिरामी बढेको उनी बताउँछिन् ।
नाम्के मात्र होइन, केरौंजाका अधिकांश बासिन्दा अहिले पनि त्रिपालभित्रै छन् । 'आफ्नो बारी सबै पहिरोले लग्यो, कहाँ बनाउने घर ? ' उनी भन्छिन्, 'अर्काको बारीमा भाडा तिरेर बसेका छौं । अर्काको ठाउँमा के जस्ता लगाउने भनेर नलाएको ।' सरकारले दिएको जस्ता पक्की घर बनाउँदा चाहिन्छ भनेर जतन गरेर राखेको उनी बताउँछिन् ।
चिसो बढ्न थालेपछि केरौंजाका बासिन्दालाई थोत्रिएका त्रिपालले घर बार्न भ्याईनभ्याई छ । भान्जाको मद्दत लिएर त्रिपालले टहरो बारिरहेका राजु गुरुङ भन्छन्, 'बिहान १०÷११ बजेसम्म उडाउलाजस्तो बतास चल्छ । दिउँसो घाम छउन्जेल रोकिन्छ, अनि फेरि घाम डाँडामा बसेपछि चल्न थाल्छ । टहरोमा साह्रै सकस भयो हामीलाई ।' हिउँमा चिसो, फागुन चैत लागेपछि हावाहुरीले टहरो उडाउने समस्या र बर्खा लागेपछि पानी छिरेर सकस हुने गरेको वडा नं. ४ की शर्मिला घले बताउँछिन् ।
'कात्तिक लागेदेखि चिसो सुरु हुन्छ, कहिले फागुन चैत लाग्ला भन्यो, फागुन लागेपछि आँधीहुरी चलेर पाल समातेर बस्नुपर्छ, कहिले जेठ असार लाग्ला भन्यो, बर्खा लागेपछि फेरि पालभित्र पानी चुहिने, रात दिन पहिरोको डर', उनी भन्छिन्, 'यस्तो सकस त कसैलाई नहोओस् ।'
न बास, न गाँस बनायो
भूकम्पभन्दा यहाँ पहिरोले धेरै दुःख दिएको केरौंजावासीको दुखेसो छ । 'भूकम्पले भत्काएको घर बरू बनाए बन्छ । पहिरोले बस्ने घर पनि लग्यो, गरीखाने बारी पनि लग्यो', केरौंजा ३ की नेवार्नी गुरुङ भन्छिन्, 'पहिरोले गण्डकीमा पुर्याएको बारी बनाएर बन्दैन । अहिले एकमुठी मकै रोप्ने बारी पनि छैन । न बस्ने ठाउँ, न गरिखाने ठाउँ ।' केरौंजाका बासिन्दालाई जमिनले छाडेको केरौंजा १ का ७० वर्षीय नेवार गुरुङको बुझाइ छ । 'न बास, न गाँस बनायो हामीलाई ।
हामीजस्तो अभागी त कोही पनि छैन होला', उनले भने, 'जमिनले केरौंजा छोडिसक्यो । चन्द्रसूर्यले मात्र धानिरहेको हो ।'
गाउँभन्दा तल पनि, माथि पनि पहिरै पहिरोले घेरिएपछि केरौंजाका बासिन्दा आक्रान्त छन् । केहीले अरूको जग्गा भाडामा लिएर झुप्रो बनाएर बसेका छन् । केही अझै पनि पहिरोकै मुखमा बसिरहेको केरौंजा माविकी शिक्षिका सुष्मा गुरुङ बताउँछिन् ।
'तपाईं हेर्न सक्नुहुन्छ, अहिले पनि कैयौं घर पहिरोको मुखमा जोखिम मोलेर बसिरहेका छन्', आफू चाहिँ अरूको जग्गा भाडामा लिएर बसेको बताउँदै उनी भन्छिन्, 'कोही चाहिँ घरले ओगटेको जमिनको आम्दानीबराबरको भाडा तिरेर बसेका छन् । वर्षको पाँच हजारदेखि १० हजार रुपैयाँसम्म भाडा तिरिरहेका छन् । जग्गावालाले कमाई खाने जग्गा धेरै समयसम्म ओगट्न दिँदैन । सँधै छोड्, छोड् भनिरहन्छ ।' बस्ने ठाउँ पनि सर्ने ठाउँ पनि नपाउँदा केरौंजाका बासिन्दा अन्योलमा परिरहेको सुष्मा बताउँछिन् । 'सरकार पक्की घर बना भन्छ । कच्ची ठाउँमा पक्की घर कसरी बन्छ ? ' उनको प्रश्न छ, 'भूगर्भविद् पठाएर हामीलाई पक्की ठाउँ देखाइदिनुपर्छ ।'
भूगर्भविद्को माग
भूकम्पपछि पहिरोको उच्च जोखिममा रहेको केरौंजा गाउँलाई स्थानान्तण गर्न भूगर्भविद्ले सुझाब दिएका थिए तर डेढ वर्ष बितिसक्दा पनि स्थानान्तरणको पहल भएको छैन । पहिरोमा परी यस वर्ष केरौंजाका चारजनाको ज्यान गयो । डेढ वर्षभित्र एक सय २० भन्दा धेरै घर बगेका छन् । घटनापछि त्यहाँ पुगेका प्रमुख जिल्ला अधिकारीदेखि प्रधानमन्त्रीसम्मले स्थानान्तरण गर्न सुझाब दिए तर उपयुक्त स्थान नपाउँदा घर कहाँ बनाउने भन्नेमा स्थानीयवासी अलमलमा छन् ।
'उतिबेला प्रधानमन्त्री केपी ओली आएर पनि केरौंजालाई स्थानान्तरण गर्नुपर्छ भनेर जानुभयो । पहिरोले मान्छे मार्यो । सीडीओसाप आउनुभो, अन्तै सरेर बस भनेर जानुभो । तर कहाँ हो अन्त ? हामीलाई देखाइदिनु भएन', केरौंजा ४ की सानुमाया घले भन्छिन्, 'सरकारले भूगर्भविद् पठाएर देखाइदिए हुन्थ्यो । हामीले घर बनाउने ठाउँ नपाएर पहिलो किस्ताको पैसा पनि लिएका छैनौं ।' भूगर्भविद्ले ठाउँ नदेखाएसम्म केरौंजामा नयाँ घर नबन्ने वडा नं. १ का कर्मान गुरुङ बताउँछन् । 'जताततै पहिलो किस्ताको पैसा लिए भन्ने सुनिएको छ', उनी भन्छन् 'हामीले पैसा लिएर कहाँ घर बनाउने हो ? पहिले घर बनाउने ठाउँ देखाइदिनु पर्छ, अनि पैसा दिनुपर्छ । भूगर्भविद् सरकारले पठाइदिने हो कि आफूहरूले बोलाउने हो थाहा छैन ।'
घर कहाँ बनाउने ? भन्ने सबै गाउँलेको एउटै समस्या रहेको वडा नं. २ का राजु गुरुङ बताउँछन् । 'अहिले सबैको समस्या भनेको घर बनाउने जग्गाको हो', उनी भन्छन्, 'अहिले सबै घर पहिरोको मुखमा छन् । बर्खा लागेपछि पहिरोको डरले रातभर लाइट बालेर जागै बस्नुपर्छ । घर नबनाउँ त्यो पनि भा'छैन । बनाउँ पनि ठाउँ छैन । तलबाट माटो जाँच्ने मान्छे आउला, जग्गा देखाइदेला अनि मात्र बनाउँला भनेर बसेका छौं ।' घर नबनाएर सरकारको राहत रकम फिर्ता गर्नुभन्दा अहिले नै नलिने कतिपयको भनाइ छ । 'पैसा लिएपछि घर नबनाई हुँदैन रे । नत्र पैसा फिर्ता दिनुपर्छ रे', उनले भने, 'पैसा लिएर घर नबनाएर पैसा फिर्ता गर्नुभन्दा पैसा नलिनु राम्रो ।' केरौंजामा अहिलेसम्म पहिलो किस्ताको रकम कसैले पनि नलिएको उनले बताए ।